टार्जन नेतृत्वमा याक्थुम कर्मचारी मञ्च

२0८0 आश्विन ७ आईतवार
टार्जन नेतृत्वमा याक्थुम कर्मचारी मञ्च

उदयपुर, असोज ७

याक्थुम (लिम्बु) समुदायका कर्मचारीहरुको साझा संगठन ‘याक्थुम कर्मचारी मञ्च’को अध्यक्षमा टार्जन (इजम) लिम्बू चयन भएका छन् । शनिबार राजधानीमा सम्पन्न प्रथम साधारणसभाले राष्ट्रिय योजना आयोगमा कार्यरत शाखा अधिकृत लिम्बूको अध्यक्षतामा १५ सदस्यीय नयाँ संघीय कार्यसमिति चयन गरेको हो ।
 

१ वर्षअघि लिम्बू संयोजकत्वकै नेतृत्वमा गठित १७ सदस्यीय तदर्थ समितिको आयोजनामा सम्पन्न साधारणभाले २ उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित आधिकारिक कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष विशाल नेम्बाङ र महिला उपाध्यक्ष फुलमाया मन्याङ्बो छानिएका छन् । सचिव मनकुमार थलङ चयन हुँदा कोषाध्यक्ष अस्मिता सुब्बा चुनिएकी छिन् । 


सदस्यमा अमृत सम्हाम्फे, रामकुमार लिम्बू, जितेन लिम्बु, लोक प्र।फागो, प्रकाश योङहाङ र राम मादेन रहेका छन् । त्यसैगरी पवित्रा सुब्बा, शिशिर योङहाङ, ममता सुब्बा र चन्द्रमाया लिम्बु पनि सदस्य रहेको साधारणभा निर्वाचन समितिले जनाएको छ ।  


सार्वजनिक सेवामा कार्यरत लिम्बू कर्मचारीहरुको यो पहिलो आधिकारिक मञ्च हो । सम्पूर्ण लिम्बू समुदायका कर्मचारीहरुबीच सहकार्य, सहयोग र समन्वय गरी एकताबद्ध भएर अघि बढ्न संस्थागत आवश्यक्ताको महसुस गर्दै मञ्चको गठन गरिएको नवनिर्वाचित अध्यक्ष लिम्बुले बताए । २०७९ साउन १४ गते सम्पन्न पहिलो भेलाले टार्जन संयोजक र ल्युमा सुब्बा सहसंयोजकत्व रहेको तदर्थ समिति गठन गरेको थियो । 


गत चैत ३० गते संस्था दर्ता ऐन् २०३४ बमोजिम विधिवत दर्तासमेत भईसकेको मञ्चले आगामी दिनमा याक्थुम कर्मचारी मात्र नभएर सम्पूर्ण सार्वजनिक सेवामा कार्यरत कर्मचारीको हक अधिकार र पेशागत रक्षाका लागि एकताबद्ध भएर काम गर्ने अध्यक्ष लिम्बूले प्रतिबद्धता जनाए । 


प्रथम ऐतिहासिक साधारणसभाको उद्घाटन प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ संघीय समितिका अध्यक्ष प्रेम येक्तेनले गरेका थिए । उद्घाटन कार्यक्रममा येक्तेनसहित लिम्बू सांस्कृतिक परिषदका अध्यक्ष गोविन्द आङबुहाङ, किरात याक्थुङ चुम्लुङ ललितपुरका अध्यक्ष टंक जबेगु, चुम्लुङ काठमाडौँका अध्यक्ष डम्बर तुम्बाहम्फे, सुनुवार कर्मचारी समाजका अध्यक्ष अमरदिप सुनुवार, किरात राई कर्मचारी मञ्चका महासचिव अबिलाश राई, लिम्बू विद्यार्थी मञ्चअका अध्यक्ष नितेश सिंघकलगायतले देश र समाज र समुदायलाई केन्द्रमा राखेर सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको हकहितमा काम गर्न सुझाए । त्यसैगरी जारी पहिचानको आन्दोलनमा पनि मञ्चको सशक्त भूमिकाको अपेक्षा गरेको वक्ताहरुले बताएका थिए ।