गाईघाटमा माओबादीको भव्य प्रशिक्षण 

२0८0 आश्विन ६ शनिबार
गाईघाटमा माओबादीको भव्य प्रशिक्षण 

गईघाट, असोज ६

नेकपा (माओवादी केन्द्र) त्रियुगा नगर कमिटी उदयपुरको आयोजनामा शनिबार बृहत पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीको ‘जनतासँग माओबादी–विशेष रुपान्तरण अभियान’को सन्दर्भमा अगुवा नेता तथा कार्यकर्तालाई लक्षित गरी राजनीतिक प्रशिक्षण दिइएको हो । 


सदरमुकाम गाईघाटको होटल टाउनहलको सभाकक्षमा आयोजित कार्यक्रममा त्रियुगा नगर कमिटीका इन्चार्जदेखि पदाधिकारी हुँदै कार्यसमिति सदस्य तथा १६ वटै वडा पार्टीमा आबद्ध नेता कार्यकर्ताहरु गरी ३ सय बढीको सहभासिगता रहेको नगर अध्यक्ष मानबहादुर राईले बताए । 


प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक माओबादी प्रदेश १ इन्चार्ज तथा केन्द्रीय समिति सचिव चन्द्रप्रकाश खनाल (बलदेव)ले उद्घाटन गरेको कार्यक्रममा प्रशिक्षार्थीहरुलाई विशेष अतिथि केन्द्रीय अनुशासन आयोग अध्यक्ष टङ्क राई, केन्द्रीय सदस्य तथा राष्ट्रियसभामा प्रमुख सचेतक गोपी अछामी (पुष्प), केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज धनमाया विक (उर्मिला) र केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङबो (मुकेश)ले प्रशिक्षण दिएका थिए । 


नेताहरुले पार्टीको नीति कार्यक्रम, उदेश्य, आागामी दिनमा स्थापित गर्नुपर्ने समाजबादको यात्रामा माओबादीले केन्द्रदेखि टोल समितिसम्ममा आबद्ध नेता कार्यकर्ताले खेल्नुपर्ने भूमिका, प्रचण्ड नेतृत्वको सरकारले सञ्चालन गरेको भ्रष्टाचारविरोधी कदममा जनताबाट खोजेको साथ र आगामी यात्रामा जनताबाट पाउनुपर्ने साथको विषयमा प्रशिक्षण दिएका थिए । साथै विश्व कम्युनिष्ट आन्दोलन, वर्तमान देशको राजनीति परिस्थिति र आगामी दिनमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे पनि नेताहरुले प्रष्ट्याएका थिए ।


गत भदौ १६ गतेदेखि सुरु भएको ३ महिने पार्टी रुपान्तरण अभियानको क्रममा त्रियुगा नगर कमिटीले बृहत प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । पार्टीलाई घरघर र जनजनसम्म पुर्याउँदै जनतासँग एकाकार भएर जनताकै सुझाव र सल्लाह अनुसार उनीहरुकै साथ लिएर अघि बढ्न प्रशिक्षण कार्यक्रमले सहयोग पुग्ने अपेक्षा लिइएको अध्यक्ष राईले बताए ।


प्रशिक्षण कार्यक्रमको अवसरमा नेकपा (एमाले) र नेपाली काँग्रेसलगायत बिभिन्न पार्टि परित्या गरी ३५ जना अगुवा नेता कार्यकर्ताहरु माओबादीमा प्रवशे गरेका थिए । नवप्रवेशीहरुलाई इन्चार्ज बलदेव, अनुशासन आयोग अध्यक्ष राई, केन्द्रीय सदस्यहरु पुष्प, उर्मिला र मुकेशलगायत नेताहरुले अविर माला र टीका लगाएर स्वागत गरेका थिए ।