वर्षौँदेखि फरार ४ अभियुक्त पक्राउ

२0८0 आश्विन ५ शुक्रबार
वर्षौँदेखि फरार ४ अभियुक्त पक्राउ

उदयपुर, असोज ४

अदालतबाट दोषी करार भए पनि वर्षौँदेखि फरार रहेका ४ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको ‘फरार प्रतिवादी पक्राउ अभियान’ अन्तर्गत खोजीको सूचीमा रहेका लागूऔषध र वन मुद्धाका फरार आरोपीहरु बिहीबार १ जना र मंगलबार ३ जना पक्राउ परेका हुन् । 


जिल्ला प्रहरीका अनुसार ६ वर्षअघि अर्थात ०७४ साल चैत १८ गते उदयपुर जिल्ला अदालतको फैसला अनुसार २ हजार रुपैँया जरिवाना तोकिएका लागुऔषधका फरार प्रतिबादीहरु त्रियुगा नगरपालिका १३ २३ वर्षीय रोनिस ठटाल र २६ वर्षीय रोयल राईलार्ई नियन्त्रणमा लिएको हो । उनीहरु दुवैजना गाउँघरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ । 


अर्का लागूऔषध आरोपमै जिल्ला अदालतको ०७५ असार १४ गते बसेको इजसालको फैसला अनुसार २ हजार रुपैँया जरिवाना सजाय तोकिएका त्रियुगा नगरपालिका १० बोक्सेका २९ वर्षीय गणेश भुजेल पनि बिहीबारै पक्राउ परेका छन् । 

 

त्यसैगरी अदालतले ०७८ पुस ६ गतेको फैसला अनुसार १८ हजार १ सय ३० रुपैँया जरिवाना तोकिएका त्रियुगा नगरपालिका १२ का ३१ वर्षीय भोजकुमार बोटेलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । उनलाई अन्दाजी ५ः०० बजे नगर प्रहरी कार्यालय गाईघाटबाट खटेको प्रहरी नायव निरीक्षकसहितको टोलीले गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । 


सबै पक्राउ अभियुक्तहरुलाई फैसला कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालतको जिम्मा लगाएको जनाएको छ । प्रहरीले बुझाएलगत्तै अदालतले सजाय भुक्तानका लागि कारागार कार्यालय गाईघाट पठाएको पनि इन्सपेक्टर थापाले बताए ।