त्रियुगामा बगेका किशोर १४ दिनपछि मृत फेला 

२0८0 भाद्र २६ मंगलवार
त्रियुगामा बगेका किशोर १४ दिनपछि मृत फेला 

उदयपुर, भदौ २७

दुईसाताअघि त्रियुगा नदीमा बगेर बेपत्ता भएका १४ वर्षीय किशोर मृत अवस्थामा फेला परेका छन् । यही भदौ १४ गते बेलका नगरपालिका २ तपेश्वरीस्थित त्रियुगा नदी तर्ने क्रममा बाढीले बगाएर बेपत्ता भएका स्थानीय १४ वर्षीय संविधान चौधरी मंगलबार साँझ मृत अवस्थामा फेला परेका हुन् । 


स्थानीयले चौधरीको मृत शरीर मंगलबार साँझ देखेर प्रहरीलाई खवर गरेका थिए । उनी बगेको ठाउँभन्दा झण्डै ३ सय मिटर तल फेला परेको बेलका नगरप्रमुख अशोक कार्कीले बताए । मेयर कार्कीका अनुसार चौधरीको शव नदी किनारमा सडिसकेको अवस्थामा फेला परेको छ । 


शव फेला परेको पाइएपछि इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी तपेश्वरीबाट खटेको संयुक्त टोलीले शव निकालेर घट्नास्थलको कानुनी प्रक्रिया अनुसार सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि अस्पताल पठाइएको कार्कीले बताए । 


१४ गतेकै दिन झापाको दमकस्थित मदन भण्डारी स्मृति ट्रमा सेन्टरमा कार्यरत एक सर्जन चिकित्सकले पनि कोसीमा हाम फालेर देहत्याग गरेका थिए । कारमा सवार उनले बेलका नगरापलिका ८ चतारा कोठुस्थित पुलछेउमा कार रोखर पुलबाट हाम फालेर ज्यान गुमाएको प्रहरीले जनाएको छ । उनको शव ३ दिनपछि पुलदेखि झण्डै ५ सय मिटर तल फेला परेको थियो ।