अशक्त, अपाङ्ग र बृद्धबृद्धालाई सेवा दिन साकेलाको टोलस्तरीय शिविर

२0८0 भाद्र २६ मंगलवार
अशक्त, अपाङ्ग र बृद्धबृद्धालाई सेवा दिन साकेलाको टोलस्तरीय शिविर

उदयपुर, भदौ २६

खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘टोलस्तरीय घुम्ती शिविर’बाट घरघरमै स्थानीय नागरिकले सेवा पाएका छन् । गाउँपालिकाबासी नागरिकहरुको समस्याको मध्यनजर गर्दै टोलटोल पुगेर सेवा दिन सञ्चालित घुम्ती शिविरले गाउँपालिका र वडाबाट लिनुपर्ने सेवा स्थानीयबासीले टोलबाटै पाएका हुन् । 


गाउँपालिकाले गत शुक्रबारदेखि सुरु गरेको शिविर विभिन्न टोल पुगेर सेवा दिएको हो । आईतबारसम्म सञ्चालित पहिलो चरणको शिविरबाट वडा नं. १ का ७ सय ५८ जना लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । भौगोलिक विकटताका कारण वडा र गाउँपालिका केन्द्र पुगेर सेवा लिन नसक्ने अशक्त, अपाङ्गता तथा बृद्धबृद्धाहरुलाई लक्षित गरी सञ्चालन गरिएको टोलस्तरीय शिविरबाट सामाजिक सुरक्षा भत्ता बितरण, सासु भत्ताको पट्टा (कार्ड) नवीकरण, प्राथमिक स्वास्थ्य सेवा, भूमि कर संकलन र बिरामीलाई औषधि बितरणको सेवा उपलब्ध गराइएको छ । 


गाउँपालिका र वडा कार्यालय आउन नसक्ने अशक्त नागरिकहरुलाई सुलभ र पायक पर्ने ठाउँमै सेवा दिने उदेश्यले टोलस्तरीय शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए । शुक्रबारदेखि सुरु शिविर शनिवार सार्वजनिक बिदाको दिन पनि सुचारु गरिएको र गाउँघरका अशक्त, अपाङ्गता भएका व्यक्तिहरु र बृद्धबृद्धा नागरिक यसबाट लाभान्वित भएको अध्यक्ष राईको भनाई छ । गाउँपालिकाबासी नागरिकलाई सकेसम्म सहज र सरलरुपमा सेवा प्रवाह गर्ने उदेश्यले आफु निर्वाचित भएर आएदेखि नै जनमैत्री र नागरिक केन्द्रित  कार्यक्रमहरु सञ्चालन गर्दै आउने क्रममा यो शिविर चलाएको राईले बताए । 


आईतबारसम्ममा शिविरबाट ७ सय ५८ जना लाभान्वित भएको र जसमध्ये २ सय ४३ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको टोलीले जनाएको छ । त्यस्तै भत्ता कार्ड नवीकरण गर्नेको संख्या पनि उत्तिकै पुगेको छ भने २ सय ९० जनाले स्वास्थ्य परीक्षण गराएर आवश्यक औषधी प्राप्त गरेका छन् । शिविरमार्फत २ सय ५५ घरधुरीलाई जग्गाको कर तिर्ने मौका जुरेको पनि टोलीले जनाएको छ । 


भौगोलिक रुपमा अत्यन्त विकट मानिएको वडा नम्बर १ अन्तर्गतका विभिन्न टोलमा यो शिविर सञ्चालन गरिएको हो । आईतबार सम्पन्न ३ दिने शिविर अन्तर्गत शुक्रबार वडाको सेखुवास्थित डाँडागाउँमा विहान १०ः०० देखि दिउसो ४ः०० बजेसम्म चलाइएको शिविरमा ६४ जना जेष्ठ नागरिक र अशक्त व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए । उनीहरुको भत्ता कार्डसमेत नवीकरण गरिएको छ । त्यस्तै १ सय ५० जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि पाएको तथा ९२ घरधुरीले जग्गाको कर तिरेको वडाध्यक्ष हेमन राईले बताए ।


उनका अनुसार बिदाको दिन शनिबार वडा कार्यालय बाँझेमा शिविर सञ्चालन गरिएको र जसबाट ६२ जना गाउँबासी लाभान्वित भएका छन् । शनिबारै सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नेको संख्या ४६ जना थियो भने त्यो सँगै उनीहरुले मालपोत कर पनि बुझाएका छन् । सोही शिविरमा ५६ जनाले स्वास्थ्य परीक्षण र आवश्यक औषधि सुविधा प्राप्त गरेका थिए । तेस्रो दिन आईतबार सो.ही वडाको चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरबाट ७० जना लाभग्राहीले सेवा पाएका थिए । त्यहाँ सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै ३९ जनाले स्वास्थ्य परीक्षण र ३५ घरधुरीले जग्गा कर बुझाएको टोलीसँगै रहेका वडाध्यक्ष राईले बताएका छन् ।


सोही दिन डाँडागाउँस्थित सरस्वती आधारभूत विद्यालयमा सञ्चालित शिविरबाट ४७ जनाले सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गरेका थिए भने ५२ घरधुरीले जग्गा कर बुझाएका थिए । त्यस्तै ४५ जना नागरिकले स्वास्थ्य परीक्षण गराएका थिए । गाउँबासी नागरिकको सेवाको लागि आवश्यकता अनुसार गाउँगाउँ र टोलटोल पुगेर सेवा पु¥याईरहेको बताउने अध्यक्ष राईका अनुसार आगामी दिनमा जनताको आवश्यकता पहिचान गरी अन्य सेवाहरु पनि क्रमिक रुपमा टोलटोलमै पुगेर प्रदान गर्ने योजना बनाइएको छ ।


गाउँपालिकाका अन्य वडाहरुको तुलनामा १ नं. जनसंख्या र भौगोलिक रुपमा विकट र ठूलो भएकाले सेवा सहज बनाउन टोल र बस्तीस्तरमा शिविर सञ्चालन गरिएको हो । भौतिक विकाससँगसँगै स्थानीय सरकारले प्रदान गर्ने सबैखाले सेवाहरु क्रमिक रुपमा यसरी नै जनतालाई सहज हुने गरी प्रदान गरिने उनको भनाई छ । 

 

गाउँपालिका र वडा कार्यालयले टोलमै आएर विभिन्न प्रकारका सेवा उपलब्ध गराउँदा नागरिकहरु खुसी भएका छन् । डाँडागाउँका बृद्ध चन्द्रबहादुर राईले वडा कार्यालय र गाउँपालिका धाएर तिर्नुपर्ने मालपोत कर गाउँमै बुझाउन पाउँदा धेरै सहज भएको बताए । उनले टाढा धाएर तिर्नु पर्ने भएकाले बिगत ७ वर्षदेखि बुझाउन बाँकी कर वडाध्यक्षसहितको टोली गाउँमै आएपछि बुझाउन सहज भएको बताए । 


चण्डेश्वरी आधारभूत विद्यालयका प्रअ दिलबहादुर देउजाले नागरिकको सुविधाका लागि वडा र गाउँपालिकाले यस्तो सेवामुखी कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने भन्दै खुसी व्यक्त गरे । स्थानीय जनप्रतिनिधि सरकार पनि भएकाले जनताको सेवामा यसरी नै सदैव समर्पित हुनुपर्ने उनको भनाई छ । प्रअ देउजाले यस्ता कार्यक्रम १ नं. मा मात्र नभएर सबै वडामा सञ्चालन गर्नुपर्ने सुझाउँदै बस्तीबस्ती पुगेर दिइने यस्तो सरकारी सेवा आफुले पहिलो पटक देखेको भन्दै खुसी व्यक्त गरे । टोलस्तरीय शिविरमा खट्दा धेरै स्थानीय सेवाग्राही खुसी भएको र कार्यक्रम निरन्तर चलाउन सुझाएको वडासचिव नमी राईले बर्ताइन् । वडाध्यक्ष राई नेतृत्व टोलीमा वडा सचिव राई, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख डिएम चामलिङ, अन्य वडा कर्मचारी र स्वास्थ्यकर्मीहरु परिचालि थिए ।