उदयपुरमा स्क्रबटाईफस संक्रमणले प्रकोपको रुप लिदैः एकको मृत्यु

२0८0 भाद्र २२ शुक्रबार
उदयपुरमा स्क्रबटाईफस संक्रमणले प्रकोपको रुप लिदैः एकको मृत्यु

उदयपुर, भदौ २२

केहीदिनयता उदयपुरमा प्रकोपको रुप लिदै गएको स्क्रबटाईफसले एकजनाको निधन भएको छ  । अघिल्लो दिउसो सिकिस्त बिरामी भएर उदयपुर अस्पताल भनाई भएका त्रियगा नगरपालिका ९ का ४६ वर्षीय पति सदाको स्क्रबटाईफसकै कारण निधन भएको छ । 


अन्तिम अवस्थामा अस्पताल ल्याइएका सदाको स्वास्थ्य परीक्षण गर्दा स्क्रबटाईफस संक्रमणका देखिएको र उपचारकै क्रममा आकस्मिक कक्षमै राति निधन भएको जिल्ला अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. ज्ञानेन्द्रकुमार झाले बताए । 

अस्पतालमा जेनेरल फिजिसिएन डा. राहुल रौनियारका अनुसार सदामा स्क्रबटाईफस संक्रमण देखिएको त्योसँगै उनको मृगौला र पिसावमा पनि संक्रमण देखिएको थियो । रोगले निकै च्यापिसकेको अवस्थामा अस्पताल ल्याएकाले उनलाई उपचारबाट बचाउन नसकिएको उनको भनाई छ । 


डा. रौनियारका अनुसार उदयपुर अस्पतालमा स्क्रबटाईफसका बिरामीको संख्या अहिले दिनानुदिन बढ्दै गएको छ । दैनिक जँचाउन आउने बिरामीमध्ये २÷४ जनामा अनिवार्य स्क्रबटाईफसको संक्रमण देखिने गरेको छ । हाल दर्जन हाराहारी बिरामी स्क्रबटाईफसकै संक्रमणका कारण बेड भर्ना गरेर उपचार भईरहेको पनि उनले बताए । 


भाईरज ज्वरोजस्तै टाउको दुख्ने, ज्वरो आउने, हात खुट्टा र शरिर दुख्नेजस्ता लक्ष्ण मिल्ने यो रोगको उपचार गर्न ढिला भए जोखिम हुने डा. रौनियार बताउँछन् । ‘स्क्रबटाईफसको सबै लक्षण भाईरज ज्वरोसँग मिल्ने भए पनि यसले अन्य अंगहरुमा पनि आक्रमण गर्ने भएकाले निकै जोखिमपूर्ण छ’ डा. रौनियारले भने ‘यसले टाउको, मुटु, मृगौला र अन्य जुनसुकै अंगहरुमा आक्रमण गर्ने भएकाले बेलैमा उपचार गर्नुपर्छ ।’ 


तत्काल उपचार गराई हालेमा त्यत्ति जोखिमपूर्ण नहुने यो रोगलाई लापरबाही गरेमा भने ज्यानसम्म जानसक्ने खतरा हुने उनले बताए । रौनियारका अनुसार समयमै उपचार पाए ३ देखि ५ दिनभित्र निको हुन्छ । हिलेसम्म अस्पतालले ५०÷६० जनालाई उपचार गरेर डिस्चार्ज गरिसकेको पनि उनले बताए । 


गएको साउन सुरुतिर देखा परेको स्क्रबटाईफस संक्रमण दिनदिनै बढ्दै गएको अस्पतालकी स्टाफ नर्स छबित्रा राईले बताईन् । हालसम्म अस्पताल आउने प्राय बिरामीमध्ये २÷४ जनामा यसको संक्रमण देखिने गरेको वार्ड ईन्चार्जसमेत रहेकी राईका अनुसार हालसम्म ५ दर्जन बढी बिरामी निको भएर घर फर्किसकेका छन् ।  दर्जन हाराहारी भने अहिले पनि वार्ड भर्ना गरेर उपचार गराईरहेका छन् ।