मदन ट्र्मा सेन्टरका सर्जन डा. सप्त नदीमा मृत फेला

२0८0 भाद्र २0 बुधबार
मदन ट्र्मा सेन्टरका सर्जन डा. सप्त नदीमा मृत फेला

उदयपुर, भदौ २० 


९ दिनदेखि सम्पर्कबिहीन रहेका मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी, झापाका चिकित्सक डा. उज्वल कोईराला मृत फेला परेका छन् । उदयपुरको बेलका नगरपालिका ८ कोठुस्थित चतरा पुलछेउमा कार रोकेर बेपत्ता भएका डा. कोइरालाको शव मंगलबार दिउसो भेटिएको हो । 


उनको शव सुनसरीको वराहक्षेत्र नगरपालिका २ स्थित बाह्रबारी भन्ने ठाउँमा सप्त नदी किनारमा सडिसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ । प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालका अनुसार झापा दमक नगरपालिका १ का स्थायी बासिन्दा ३२ वर्षीय कोईराला मदन भण्डारी ट्रमा सेन्टरमा जनरल सर्जन थिए । 


प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कारमा सवार कोईराला भदौ १० गते राति २ः०० बजे पुलछेउमा कार पार्किङ गरेर बेपत्ता भएका थिए । उनी सम्पर्कबिहीन भएको भन्ने खवर परिवारबाट पाएदेखि नै प्रहरी उनको खोजीमा जुटेको थियो । खोजीकै क्रममा उनी सवार कार पुलछेउमा पार्किङ गरेको पाइएपछि सिसी टिभी रेकर्डको सहाराले खोजी कार्य तिब्र पारिएको थियो । 


सिसी टिभीको फुटेज पछ्याउँदै जाँदा उनको शव फेला परेको प्रहरी भनाई छ । कार पुलछेउमा पार्किङ गरेको र जुत्ता, मोजा र मोवाईल पुलको बीचमा छाडेको अवस्थामा भेटिएको पनि प्रहरीले जनाएको छ । जुत्ता, मोजा र मोवाईल पुलमै छाडेर हिड्नुले डा. कोईराला मानसिक तनावमा रहेको र आत्महत्या गरेको हुनसक्ने बलियो अनुमान रहेको एसपी फुयालले बताएका छन् ।