त्रियुगा जनप्रतिनिधि र कर्मचारी नेतृत्व विकास गर्दै

२0८0 भाद्र १९ मंगलवार
त्रियुगा जनप्रतिनिधि र कर्मचारी नेतृत्व विकास गर्दै

उदयपुर, भदौ १९ 

त्रियुगा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सरकार सञ्चालन र ब्यवस्थापन गर्ने कानुनी व्यवस्थाबारे प्रशिक्षणात्मक अभिमुखीकरण सम्पन्न भएको छ । नगर जनप्रतिनिधि र कर्मचारीलाई सक्षम र जिम्मेबार बनाउँदै चुस्त र सरल सेवा प्रवाह गराउने उदेश्यले सोमबार सुरु भएको ‘जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकारात्मक साँेच र नगर सञ्चालन बिधिसम्बन्धी प्रशिक्षण’ कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।


बोक्सेस्थित होटल वल्डदरबारको सभाकक्षमा आयोजित प्रशिक्षण कार्यक्रममा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्ष, कार्यपालिका सदस्यदेखि वडा सदस्यसम्म तथा कर्मचारीतर्फ प्रमुख प्रशासकीय अधिकृदेखि कार्यालय सहयोगीसम्मका सहभागिता थियो । जनप्रतिनिधि र कर्मचारीको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीबारे स्पष्ट बनाउदै सेवाग्राहीप्रति कर्तव्यनिष्ट र जवाफदेही बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नगरप्रमुख वसन्त बस्नेतले बताए । 


उनका अनुसार जनप्रतिनिधिलाई आफ्नो अधिकार र कर्तव्यअन्तर्गत कतिपय कानुनी व्यवस्थाबारे जानकारी नै नभएको हुँदा काम गर्ने सिलसिलामा कार्य संपादनमा भिन्नता आउने गरेको छ । त्यस्तै सभा सञ्चालन, नागरिकलाई प्रभावकारी र छिटोछरितो सेवा प्रवाह र सामुहिक जवाफदेही नहुँदा नगरबासीले सरल र सहज रुपमा सेवा नपाउने भएकाले प्रशिक्षण आयोजना गरिएको बस्नेतले बताए । 


कार्यक्रममा संविधानबिद् प्रशासनका जानकार, न्याय तथा सुशासन विज्ञ काशीराज दाहालले जनप्रतिनिधि र कर्मचारीहरुलाई संविधान र स्थानीय सरकार सञ्चालन गर्दा अपनाउनुपर्ने प्रक्रिया, प्रशासन सञ्चालन बिधिबारे जानकारी गराए । उनले आत्मविश्वासको विकास, नेतृत्व क्षमता, नैतिकता, इमान्दारिता र सदाचारका विषयमा पनि अभिमूकीकरण गरे । अर्का प्रशिक्षक स्थानीय शासनविज्ञ तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुखसमेत रहेका कृष्णहरि बास्कोटाले राजश्वका स्रोतको पहिचान, परिचालन, योजना तर्जुमा र कार्यान्वयनरे जानकारी गराए । 


स्थानीय सरकारले गर्ने योजना तर्जुमा, बजेट प्राथमिकीकरण तथा कार्यान्वयन प्रक्रिया, स्थानीय सरकारको अधिकार र कानून निर्माण तथा अभ्यास र व्यक्तित्व विकासबारे पनि सहभागीहरुलाई प्रशिक्षित गरे । 


प्रशिक्षकहरूले संघीय लोकतान्त्रिक संविधान र स्थानीय सरकार तहगत सरकारको समन्वय तथा अन्तर सम्बन्ध, लोकतन्त्र र संघियताको विश्व अभ्यास र नेपालका विषयमा पनि प्रशिक्षण दिएका थिए । प्रशिक्षक दाहालले जनप्रतिनिधिले नीति नियम र कानुन बनाउने तथा कर्मचारीले त्यसको कार्यान्वयन गर्ने भएकाले जनप्रतिनिधि र कर्मचारीबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताए । 


अर्का विज्ञ बास्कोटाले स्थानीय सरकार सञ्चालन गर्ने जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार तथा न्यायिक समितिको न्याय संपादनमा असल अभ्यासको अनुभव आदनप्रदान गरेर अघि बढ्नुपर्ने बताए । 


नगरउपप्रमुख महेश्वरी राईले यो प्रशिक्षणले े जनप्रतिनिधि र कर्मचारीलाई कार्य संपादनबारे नौलो र समन्वयात्मक भूमिका खेल्ने सीप सिकाएको बताईन् । यो प्रशिक्षणले हिजोभन्दा आगामी दिनमा नगरको न्यायिक समिति, राजश्व परामर्श समिति र योजना अनुगमन कार्यमा सबल र अर्थपूर्णरुपमा काम गर्न सफल हुने विशवास उपमेयर राईको छ । 


प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलका अनुसार यो कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीहरुको व्यक्तित्व विकाससँगै सरकार सञ्चालन र सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ । कार्यक्रममा देशकै विज्ञ प्रशिक्षकहरुबाट सहजीकरण भएकाले निकै उपलब्धीमुलक भएको हाकिम सिग्देलको भनाई थियो ।