‘जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान’ त्रियुगाको १ महिने कार्ययोजना

२0८0 भाद्र १८ सोमबार
‘जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान’ त्रियुगाको १ महिने कार्ययोजना

गाईघाट, भदौ १८

भदौ १६ गतेदेखि सुरु भएको नेकपा (माओबादी केन्द्र)को ३ महिने देशव्यापी ‘जनतासँग माओबादी–विशेष रुपान्तरण अभियान’ उदयपुरमा पनि ७५ वटै वडामा सुचारु छ । 


जस अनुसार पहिलो दिन सबै वडामा एकैचोटी विहान उद्घाटन भएको यो अभियान अन्तर्गत अस्पताल, सडक, विद्यालय, स्वास्थ्यचौकीलगायत सार्वजनिकस्थलको सरसफाई, मर्मत विरुवा रोपन, सहिद परिवारसँग भेटघाट र सम्मानजस्ता जनतासँग प्रत्येक्ष जोडिएएका गतिबिधिहरु गरेर सञ्चालन भईरहेको छ । 


जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहमा सञ्चालित अभियानमा पार्टी नेता कार्यकर्ताहरु जनताको घर घरमा गएर जोडिने गरी गतिबिधिहरु गर्ने क्रम जारी रहेको छ । देशका ६ हजार ७ सय ४३ वटै वडामा कम्तीमा प्रदेश कमिटी पदाधिकारी र सदस्यदेखि केन्द्रीय सदस्य र पदाधिकारीको उपस्थितिमा अभियान सुचारु रहेको पार्टी जिल्ला समन्वय कमिटी उदयपुरका संयोजक बिनोद कटुवालले बताएका छन् । 


अभियानकै क्रममा त्रियुगा नगर कमिटीले अभियानको पहिलो चरणमा गर्ने १ महिने गतिबिधिहरुको कार्ययोजना तयार गरेको छ । १७ गते गाईघाटमा बसेको नगर कमिटी सचिवालय बैठकले सो कार्ययोजना तय गरेको हो । पार्टीका केन्द्रीय अनुशासन आयोग अध्यक्ष तथा त्रियुगा नगरपालिका र रौतामाइ गाउँपालिकामा अभियान इन्चार्जको रुपमा खटेर आएका  टङ्क राईको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले १ महिने अभियानको कार्ययोजना स्वीकृत गरेको नगर कमिटी अध्यक्ष मानबहादुर राईले बताए । 


उनका अनुसार कार्ययोजनामा अभियानको पहिलो चरणको जनमुखी र जनतामैत्री कार्यक्रम र गतिबिधि सञ्चालन गर्ने, भए गरेका गतिबिधिहरुको समीक्षा वडा र नगरस्तरमा गर्ने, पार्टी नेताहरु कार्यकर्ता र सदस्यहरुको घरघरमा गएर निरन्तर भेटघाट गर्दै छलफल गर्ने बुँदाहरु समेटिएका छन् । त्यस्तै पार्टी सदस्यता वितरण र नविकरण गर्ने, पार्टी सदस्य तथा नेता कार्यकर्ताको बैचारिक क्षमता विकास गर्न नीति कार्यक्रममा केन्द्रित भएर नगर र वडा तहसम्म प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने कार्ययोजना पनि बनाइएको छ । 


इन्चार्ज राई पालैपालो त्रियुगा र रौतामाईका बिभिन्न वडाहरुमा खट्दै अभियानलाई निरन्तरता दिदै आएका छन् । १६ गते जिल्ला अस्पतालको सरसफाई गरेर अभियानको उद्घाटन गरेका राई त्यसपछि रौतामाई ७ को मुर्कुची पुगेर अभियानमा सहभागी भए । त्यस्तै १७ गते त्रियुगा नगरपालिका १२ नं. वडाको बिसनपुरमा विरुवा रोपन कार्यक्रम र सरसफाई सहभागी भई नगर कमिटीको कार्ययोजना निर्माण बैठकमा सहभागी भएका थिए । 


‘घरघरमा माओबादी–जनजनमा माओबादी’ भन्ने नाराका साथ आयोजित अभियानमा नेता कार्यकर्तादेखि साधारण सदस्य हुँदै जनवर्गीय संगठनमा आबद्ध कार्यकर्ताहरु सहभागी छन् । अभियानमा महिला, विद्यार्थी, युवा, शिक्षक, कर्मचारी, मजदुर र जातीय तथा सामुदायिक मोर्चासँगै सर्वसाधारणकोसमेत उत्साहप्रद सहभागिता रहेको पार्टीले जनाएको छ ।