अक्षयकोष खडा गर्ने निर्णय गर्दै प्रेस सेन्टरको साधारणसभा सम्पन्न

२0८0 भाद्र १५ शुक्रबार
अक्षयकोष खडा गर्ने निर्णय गर्दै प्रेस सेन्टरको साधारणसभा सम्पन्न

उदयपुर, भदौ १५

नेकपा (माओबादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको साधारणसभा बिभिन्न समसामयिक निर्णय र भावी कार्ययोजना पारित गर्दै शुक्रबार गाईघाटमा सम्पन्न भएको छ । माओबादी केन्द्रीय सदस्य तथा राष्ट्रियसभामा सत्तारुढ दलका प्रमुखसचेतक गोपी अछामीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसमाले जिल्ला इन्चार्ज महेश्वर चामलिङद्वारा प्रस्तुत कार्ययोजना पारित गर्दै सम्पन्न भएको हो । 


पारित कार्ययोजनामा पत्रकार अक्ष्यकोष खडा गर्ने, पत्रकारहरुको हकअधिकार केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्ने, जिल्लाभरी सेन्टरको संगठन बिस्तार गर्ने तथा पार्टीको ३ महिने रुपान्तरण अभियानलाई पूर्ण सफल पार्न सहयोग गर्नेलगायत बुँदाहरु समेटिएका छन् । 


सेन्टरका केन्द्रीय उपाध्यक्षद्वय बिबेक गौतम र राजन केडी तथा प्रदेश कमिटी अध्यक्ष बिनोद घिमिरेको उपस्थितिमा सम्पन्न साधारणसभामा पार्टी नेता तथा राष्ट्रियसभाका प्रमुख सचेतक अछामीले प्रचण्ड सरकारले भ्रष्टाचारीहरु सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनले जुनसुकै पार्टीको भए पनि भ्रष्टाचारीहरुलाई बचाउन नहुने भन्दै हदैसममको कानुनी कारबाहीको भागीदार बनाउन सरकारसँग आग्रह गरे । 


अछामीले बर्तमान प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले एकपछि अर्को भ्रष्टाचारका फाईल पल्टाउदै अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन थालेको भन्दै यसलाई अत्यन्त सकारात्मक कदम मान्नुपर्ने बताए । नेता अछामीले कुनै पार्टी, जाति, अनुहार र नाता सम्बन्ध नहेरी भ्रष्टाचारीलाई कारबाही गर्न सरकार निरन्तर अघि बढ्नुपर्नेमा जोड दिए । पछिल्लो सुन तस्करी काण्डमा मुछिएका माओबादीकै उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुललाई समेत पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउनुले सरकार भ्रष्टाचारीको दोहोलो काढ्नेमा आफु विश्वस्त रहेको बताए । 


अछामीले माओबादी नेपाली क्रान्तिबाट खारिएर आएको जनताको पार्टी भएको भन्दै जनताको इच्छा र चाहना अनुसार सरकारको पछिल्लो कदम चाल्दै आएको बताए । उनले जनतामा आसा र भरोसाको केन्द्र माओबादी नै भएकाले सरकारले एकपछि अर्को जनमैत्री कार्य गर्दै जानुपर्ने र त्यसलाई पत्रकारहरुले साथ दिनुपर्ने आग्रह गरे । 
उनले पार्टीले यही १६ भदौदेखि सञ्चालन गर्न लागेको ‘जनतासँग माओबादी–रुपान्तरण अभियान’लाई सफल पार्न पत्रकारहरुलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।


अर्का केन्द्रीय सदस्य तथा अभियानकी उदयपुर इन्चार्ज पूर्व राज्यमन्त्री धनमाया बिकले ३ महिने अभियान जनतासँग पार्टीलाई जोड्ने प्रमुख कडी भएकाले यसलाई सफल पार्न सबै नेता कार्यकर्ता परिचालन गरिएको बताईन् । उनले अभियान सफल पार्नै पत्रकारको पनि विशेष भूमिका हुने भएकाले त्यस्तो भूमिकाको अपेक्षा आफुले लिएको उनको भनाई थियो । उनले जनता केन्द्रित नयाँ विचार, नयाँ सोँच, नयाँ नीति कार्यक्रम लिएर नयाँ जाँगरका साथ अघि बढ््न आग्रह गर्दै अभियान सम्पन्न भएपछि माओबादी कार्यकर्ता कम्तीमा दोब्बर पुग्ने अपेक्षा गरिएको बताईन् ।


्त्यस्तै अर्का केन्द्रीय सदस्य मुक्साहाङ मेयाङबो (मुकेश)ले नेकपा माओबादी हिजो निरंकुश राजतन्त्र र सामन्तबादको अन्त्य गर्न १० वर्षे सशस्त्र जनयुद्ध लडेर आएको स्मरण गर्दै अव देशमा प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्थाको रक्षा गर्दै थप उपलब्धीका लागि अर्को संघर्षमा होमिने बेला आएको बताए । उनले माओबादी जनयुद्धकै बलमा देशमा नयाँ राजनीतिक व्यवस्था प्राप्त भएको भन्दै त्यसको संस्थागत गर्दै जनतालाई समृद्ध र सुखी बनाउन समाजबादको यात्रामा लाग्ने बेला आएको बताए ।


हिजोको सशस्त्र क्रान्तिको उदेश्य प्राप्त भईसकेकाले आज अर्को उदेश्य प्राप्तीको आन्दोलनमा माओबादी लाग्नुपर्ने उनको भनाई थियो । माओबादीले आज पनि क्रान्तिबाट हात झिक्ने बेला नभईसकेको भन्दै मेयाङबोले तर, अवको क्रान्ति माक्र्सबाद लेनिनबादको उत्कर्ष छुदै समाजबादको यात्राका लागि गनुपर्ने बेला भएको र त्यसैको तयारीका लागि ३ महिने अभियान सुरु भएको बताए । भ्रष्टाचारबिरुद्ध प्रचण्ड सरकारले चलाएको अभियान त्यसैको एउटा हिस्सा भएको भन्दै उनले देशलाई भ्रष्टाचारमुक्त बनाउन पार्टीका सबै तह, तप्काका नेता कार्यकर्तादेखि पत्रकारलगायत सबै जनबर्गीय संगठनहरु परिचालन गरेर सहयोग गर्नुपर्नेमा जोड दिए ।


सेन्टरका उपाध्यक्षद्वय गौतम र १ नं. प्रदेश अध्यक्ष घिमिरेको प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारिता, पत्रकार सुद्धिकरण अभियानलगायत बिभिन्न विषयबारेमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । साधारणसभाले सेन्टरका अध्यक्ष सुपराज किरातीले प्रस्तुत गरेको सांगठनिक तथा आर्थिक प्रतिबेदन पनि सर्वसम्मत पारित गरेको छ ।
 

कार्यक्रममा पत्रकारहरु नुनिराम राई, सुनिल राई, प्रदिप रोक्का, माया राई, रञ्जना राई, विन्द्र राई र विजय राई गरी ७ जना बिनाशर्त प्रेस सेन्टरमा प्रवेश गरेका थिए । उनीहरुलाइ प्रमुख अतिथि अछामी, अन्य नेतागण र सेन्टरका केन्दीय उपाध्यक्ष तथा सदस्यहरुले अविर र खादा लगाएर स्वागत गरेका थिए ।