पहिचानको नामाङ्कन नहुनुमा गम्भीर गल्तीः मुकेश

२0८0 भाद्र १५ शुक्रबार
पहिचानको नामाङ्कन नहुनुमा गम्भीर गल्तीः मुकेश

उदयपुर, भदौ १५

नेकपा (माओबादी केन्द्र)का केन्द्रीय सदस्य तथा पार्टीको रुपान्तरण अभियन्ता मुक्साहाङ मेयाङबो (मुकेश)ले प्रदेश १ को नामाङ्कनमा पहिचान नसमेट्नुमा पार्टीको गम्भीर गल्ती भएको स्वीकारेका छन् । शुक्रबार विहान सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता मुकेशले सो कमजोरी स्वीकारेका हुन् । 


प्रेस सेन्टर नेपाल उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता मेयाङबोले माओबादीले जनयुद्धकालदेखि नै मुद्धा उठान गरेर अभ्याससमेत गर्दै आएको पहिचानको मुद्धालाई स्थापित गर्ने सवालमा कमजोरी हुँदै आएको बताए । संविधानले दिएको अधिकार प्रयोग गर्दै प्रदेशको नाम राखेको भए पनि जनताले अस्वीकार गरेपछि पार्टीबाट कमजोरी भएको ठहर गर्दै निर्णय सच्याएर पहिचानमा आधारित नाम राख्ने प्रयास माओबादीले गरिरहेको उनको भनाई थिजयो । प्रदेश नामाकरण गर्ने सवालमा व्यक्तिभन्दा पनि समग्र पार्टीबाटै कमजोरी भएको तथ्य स्वीकार्दै पहिचानको आधारमा पुनः नामाकरण गर्न सिंगो पार्टी लागिरहेको पनि नेता मेयाङबोले बताए ।


पहिचानबिरोधी नाम राखेको भन्दै चर्केको प्रदेश आन्दोलनसँगै सरकार बिघटन र पुनर्गठनको माथापच्चीमा परेर अहिले ‘डेडलक’को अवस्थामा छ । पछिल्लो समय सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई मान्यना नदिएपछि सिंगो प्रदेश  बजेटबिहीन अवस्थामा पुगिसकेको बेला अदालतबाटै निकास आउने अपेक्षा नेता मेयाङबोले गरेका छन् । निश्चय नै अदालतले केही न केही निकास दिने र केहीदिनभित्रै गठबन्धनकै सरकार बन्नेमा आफु विश्वस्त रहेको उनले बताए । 


पार्टीको ३ महिने ‘जनतासँग माओबादी–रुपान्तरण अभियान’ कार्यक्रम लिएर उदयपुर आएका नेता मेयाङबोले भदौ १६ देखि सुरु हुने अभियानले पार्टीलाई मजबुत र व्यवस्थित पार्नुका साथै वर्तमान प्रचण्ड सरकारले गरेका ऐतिहासिक र राम्रा कामहरुलाई टेवा पुग्ने  गतिबिधिहरु गर्ने बताए । जनतासँग एकाकार भएर सञ्चालन गरिने कार्यक्रम भएकाले ‘घरघरमा माओबादी–जनजनमा माओबादी’ भन्ने पार्टीको नारालाई रुपान्तरण अभियानले सार्थक तुल्याउने अपेक्षा उनको छ । जनतासँगै जोडिएर उनीहरुको सुखदुःखसँग एकाकार भएर चलाइने अभियानले माक्र्सबाद, लेनिनबादको प्रयोग गर्दै समाजबादको यात्रातर्फ देशलाई अघि बढ्न मद्धत गर्ने गरी पार्टी लागी पर्ने बताए । 


रुपान्तरण अभियान अन्तर्गत संगठन निर्माण, सदस्यता बितरण र नवीकरण, पार्टीको नीतिगत प्रशिक्षण, सामुहिक श्रमदान, सांस्कृतिक गतिबिधिजस्ता सृजनसिल र रचनात्मक गतिबिधिहरु जनताको घरघर गएर गर्ने योजना रहेको नेता मेयाङबोले बताएका छन् । 

 

पत्रकार सम्मेलनमा पदेश सांसद नारायण बुर्जा, पार्टी प्रदेश कमिटी सदस्य देवराज गिरी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा इन्चार्ज महेश्वर चामलिङ, सहइन्चार्ज गंगा राई, केन्द्रीय सदस्यहरु हरिकुमार राई, भोटराज राईलगायतको सहभागिता रहेको जिल्ला अध्यक्ष सुपराज किरातीले बताए ।


प्रेस सेन्टर उदयपुरको प्रथम साधारणसभा शुक्रबारै गार्इृघाटमा सम्पन्न हुँदैछ । सेन्टरका केन्द्रीय उपाध्यक्ष बिबेक गौतम र १ नं. प्रदेश अध्यक्ष बिनोद घिमिरेको उपस्थितिमा हुने साधारणसभाले बिभिन्न महत्वपूर्ण कार्ययोजना पारित गर्ने कार्यक्रम रहेको पनि अध्यक्ष किरातीले बताएका छन् ।