मनमोहन विश्वविद्यालयमा पिएचडीसम्म अध्ययन गर्न पाइने

२0८0 भाद्र १४ बिहीबार
मनमोहन विश्वविद्यालयमा पिएचडीसम्म अध्ययन गर्न पाइने

महेश्वर चामलिङ 

उदयपुर, भदौ १४


मोफसलमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उदेश्यले स्थापित मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियु)ले बिभिन्न ३ प्राविधिक संकायमा स्नातकदेखि विद्यावारिधी (पिएचडी)सम्मको पठनपाठन गराउने भएको छ । मोरङ बुढीगंगा गाउँपालिकामा ४ मा सञ्चालित पूर्ण सरकारी स्वामित्वको एमटियुले बिहीबार गाईघाटमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो । 

 


विश्वविद्यालयको शैक्षिक गतिबिधि र भावी कार्ययोजनाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा इन्जिनियरिङ विभागका शिक्षाध्यक्ष (डिन) प्रा.डा. प्रचण्डमान प्रधानले काठमाडौँ केन्द्रित शिक्षण संस्थालाई बिकेन्द्रित गर्दै मोफसलबाटै सर्वसाधारणले उच्च शिक्षा प्राप्त गर्ने वातावरण बनाउन सुविधासम्पन्न पूर्वाधार संरचना र भौतिक उपकरणसहितको विश्विविद्यालय सरकारले स्थापना गरेको बताए । पूर्वबाटै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवस्थाको सृजना गर्न नेपालका पहिलो बामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा स्थापना भएको उनले बताए । 


यो विश्वविद्यालय काठमाडौको पुलचोक इन्जिनियरिङ अध्ययन संस्थानजत्तिकै गुणस्तरीय उच्च शिक्षा प्रदायक विश्वविद्यालय भएको डा. प्रधानको दावी छ । उनका अनुसार राजधानीभन्दा भण्डै आधा सस्तो शूल्कमा मोफसलबाटै प्राविधिक संकायमा उच्च शिक्षा प्रदान गर्ने गरेको विश्वविद्यालयमा नेपाल सरकारको ३ अर्ब लगानी भएको छ । सरकारी स्वामित्वको विश्वविद्यालय देशमा संघीयता आएसँगै प्रादेशिक संरचनापछि १ नं. प्रदेशमातहत सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको डा. प्रधानले बताए । डिन प्रधानका अनुसार एमटियुले सस्तो शूल्कमा निजी कलेजभन्दा दोब्बर गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै आएकाले पछिल्लो समय विद्यार्थीमा आकर्षण बढेको छ । 

 


हालसम्म विश्वविद्यालयबारे प्रचारप्रसार नभएको तर, पनि विद्यार्थीको आकर्षण बढ्दै गएको उनले बताए । सिभिलतर्फ ४ वर्षे इन्जिनियरिङ गर्न ५ लाख ९० हजार र इलेक्ट्रीकल इलेक्ट्रोनिक्सतर्फ ५ लाख ८० हजारमा कोर्ष पुरा हुने डा. प्रधानले बताए । जसमा जेहेन्दार विद्यार्थीलाई पूर्ण  र अशक्त अपाङ्ग तथा समावेशीतर्फ ५० र ४० प्रतिशतसम्म छात्रबृत्तिको व्यवस्था रहेको छ । विश्वविद्यालयले चालुवर्षका लागि भदौ १ गतेदेखि ३१ गतेसम्म अवधि राखेर भर्ना खुल्ला गरिसकेको छ । जसमा सिभिलतर्फ ४८ र इलेक्ट्रीकल इलेक्ट्रोनिक्सतर्फ २४ जना विद्यार्थीले पठनपाठन गर्न पाउने गरी कोटा निर्धारण भएको छ । भदौ ३१ गतेपछि पनि थप दस्तुरमा असोज ६ गतेसम्म फारम भर्न पाउने व्यवस्था मिलाइएको डिन प्रधानले बताए ।    


आगामी ५ वर्षे र १० वर्षे शैक्षिक कार्ययोजना बनाएर अघि बढेको विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाईड साईन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाईड हेल्थ साईन्सेज गरी ३ छुट्टाछुट्टै स्कुल सञ्चालन गर्ने कार्ययोजना छ । ०७७–०८२ को ५ वर्षे कार्ययोजनामा विश्वविद्यालयले सिभिल, आर्किटेक्चर, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, कम्प्युटर तथा सूचना प्रविधि, मेडिकल ल्याबोरेटरी टेक्नोलोजी, पब्लिक हेल्थ र फार्मेसी गरी ७ विषयमा स्नातकसम्मको पठनपाठन गराउने लक्ष्य लिएको छ । त्यस्तै एमएससी इन स्ट्रकचरल इन्जिनियरिङ, पावर सिस्टम इन्जिनियरिङ, इन्भाईरोन्मेन्ट हेल्थ एण्ड सेफ्टी र नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट गरी ५ विषयमा स्नातकोत्तरतहसम्मको पठनपाठन गराउँने लक्ष्य लिएको छ । जस अनुसार वार्षिक १ हजार ४ सय ८० जना दक्ष जनशक्ति उत्पादन गरेर श्रम बजारमा पठाउने लक्ष्य ५ वर्षे शैक्षिक कार्ययोजनामा समेटेको विश्वविद्यालयले जनाएको छ ।


त्यसैगरी विश्वविद्यालयको अर्को ५ वर्र्षे कार्ययोजनामा ३ वटै स्कुलमा स्नातक, स्नाकोत्तर र विद्यावारिधि (पिएचडी)सम्म अध्ययन अध्यापन गराउने लक्ष्य छ । जसका लागि २६ वटा बिभिन्न विषयको पठनपाठन गराउने गरी सिलेबस तयार गरेर स्वीकृतिका लागि शिक्षा मन्त्रालयमा पठाईसकेको छ । १० वर्षे कार्ययोजना कार्यान्वयनमा आएपछि वार्षिक २ हजार २ सय दक्ष जनशक्ति उत्पादन गरेर रोजगारीका लागि श्रम बजार पठाउने लक्ष्य रहेको डा. प्रधानले जानकारी दिए ।

विश्वविद्यालयले अर्को ५ वर्षभित्र ३ वटै संकायको सफल पठनपाठन सञ्चालन गर्ने लक्ष्य लिएको छ । ०८३–०८७ को ५ वर्षे कार्ययोजना अनुसार बायो मेडिकल इन्जिनियरिङ, मेकानिकल वा अटोमोवाईल इन्जिनियरिङ, एगृकल्चर÷फरेस्ट्री, अप्टोमेट्री (आँखा उपचार सम्बन्धी सामग्री), होटल म्यानेजमेन्ट र मेडिकल साईन्सतर्फ एमबिबिएस गरी ६ विषयमा स्नातकतह सञ्चालन गर्ने लक्ष्य छ । त्यसैगरी स्नातकोत्तरतहतर्फ ट्रान्सफोर्टेसन वा टनेल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ, फार्मेसी, पब्लिक हेल्थ र केमिकल टेक्नोलोजीको अध्ययन गराउने लक्ष्य छ । विश्वविद्यालयले सोही अवधिमा स्ट्रक्चरल इन्जिनियरिङ र ट्रान्सपोर्टेशन इन्जिनियरिङ, पब्लिक हेल्थ, इलेक्ट्रीकल इन्जिनियरिङ, इन्भाईरोन्मेन्टल हेल्थ एण्ड सेफ्टी र नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट गरी ५ विषयमा विद्यावारिधी (पिएचडी) अध्ययन गराउने लक्ष्य लिएको छ ।  


एमटियुलाई नेपालको मात्र नभएर दक्षिण एसियाकै नमूना शैक्षिक हवको रुपमा विकास गर्न सकिने संभावना रहेको विश्वविद्यालयका सल्लाहकार गणेश लम्सालले बताए । उनले उच्च शिक्षा अध्ययन गर्ने धेरै शिक्षण संस्थाहरु केन्द्रित रहेको राजधानीमा पढ्न जाने विद्यार्थीहरु अधिकतर विदेशमोहमा फसेकाले देशमा आवश्यक दक्ष जनशक्ति आपूर्तिका लागि एमटियु बैकल्पिक विश्वविद्यालय हुनसक्ने बताए । प्रदेश १ का १४ जिल्ला मात्र नभएर मधेस प्रदेशका आधा बढी जिल्लाबासीका लागि यो विश्वविद्यालय प्राविधिक शिक्षातर्फ पायक पर्ने उत्तम शिक्षण संस्था बनाउन सकिने सल्लाहकार लम्सालले बताए ।