ढुंगा लडेर किच्दा बोलुङ्खामा किशोर ठहरै

२0८0 भाद्र ११ सोमबार
ढुंगा लडेर किच्दा बोलुङ्खामा किशोर ठहरै

उदयपुर, भदौ ११

आफै बसेको ढुंगा लडेर किच्दा उदयपुरको रौतामाई गाउँपालिका ६ बोलुङ्खाका एक किशोर ठहरै भएका छन् । सोमबार विहान घर नजिकैको बारीमा बाख्रा चराउन गएका १७ वर्षीय दिपेश राईको आफै बसेको ढुंगा लडेर किच्दा घट्नास्थलमै ज्यान गएको हो । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीय पृथ्वीबहाुदरका छोरा दिपेश बारीको चुच्चे ढुंगामा बसेर बाख्रा चराउँदै थिए । एक्कासी उनी बसेको ढुंगा लडेपछि उनी चिप्लिएर भुईमा पछारिए । त्यही बेला ढुंगा उनको टाउकोमाथि बजारिएर घट्ना भएको प्रहरीले जनाएको छ । 


घट्नाबारे जानकारी आएलगत्तै साउने प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट निरीक्षक कमाण्डको टोली पुगेर घट्नास्थलको सर्जमिन मुचुल्का गरी फर्केको छ । मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको प्रहरीले जनाएको छ । 


किशोर बसेको ढुंगा निरन्तर वर्षाका कारण माटो खुकुलो भएर लडेको हुनसक्ने गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताए । मृतक परिवारलाई उद्धृत गर्दै अध्यक्ष मगरले बताए अनुसार आफै बसिरहेको ढुंगा एक्कासी पल्टेर लड्दा तल परेका उनीमाथ ढुंगा बज्रन पुग्दा घट्नास्थलमै ज्यान भएको हो । अध्यक्ष मगरले घट्ना अत्यन्त दुःखद भएको भन्दै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।