सरकारी छाप किर्ते अभियोगमा फरार पक्राउ 

२0८0 भाद्र ११ सोमबार
सरकारी छाप किर्ते अभियोगमा फरार  पक्राउ 

बिन्द्र राई
उदयपुर, भदौ ११

सरकारी छाप किर्ते अभियोगमा फरार अभियुक्त पक्राउ परेका छन् । ५ वर्षअघि ०७५ असार १२ गतेको जिल्ला अदालतको फैसला अनुसार सरकारी छाप किर्ते अभियोगमा ११ महिना १० दिन कैद सजाय र ५० रुपैँया जरिवानाको सजाय सुनाइएका चौदण्डीगढी नगरपालिका १० देवधारका दिलिप चौधरी पक्राउ परेका हुन् । 

सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा फरार रहेका ३५ वर्षीय चौधरीलाई खोजविनको क्रममा आफ्नै घर वतनबाट शनिबार राति ८ः०० बजे उदयपुर प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बेलटारका निरीक्षकको कमाण्डमा खटेको विशेष टोलीले चौधरीलाई घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


पक्राउ चौधरीलाई इप्रका बेलटारमा ल्याई आवश्यक प्रक्रिया पुरा गरी आईतबार विहान जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइएको छ । इप्रकाबाट ल्याएलगत्तै जिल्ला प्रहरीले चौधरीलाई जिल्ला अदालत उदयपुरमा बुझाएको छ । अदालतले तत्काल कैद भुक्तानका लागि चौधरीलाई आईतबार दिउँसो कारागार शाखा गाईघाट पठाएको प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताएका छन् ।