सिद्धिचरण लोकमार्ग फेरि अवरुद्ध

२0८0 भाद्र १0 आईतवार
सिद्धिचरण लोकमार्ग फेरि अवरुद्ध

उदयपुर, भदौ १०

सुचारु भएको १२ घण्टा नबित्दै उदयपुरको सिद्धिचरण लोकमार्ग फेरि अवरुद्ध भएको छ । शुक्रबार विहानदेखि अवरुद्ध भएको लोकमार्ग निरन्तर ६ घण्टा मर्मतपछि शनिबार दिउँसोदेखि सुचारु भएको थियो । तर, शनिबार रातभरी परेको वर्षाले पहिरो खसेपछि आईतबार विहान ५ः०० बजेदेखि फेरि सडक अवरुद्ध हुन पुगेको छ । 


मिर्चया–कटारी–घुर्मी खण्डको लोकमार्गमा घुर्मीदेखि ५ किलोमिटर पूर्वमा ३÷४ ठाउँ पहिरो खसेर सडक अवरुद्ध भएको प्रत्यक्षदर्शी कुमार प्याकुरेलले बताए । उनका अनुसार कटारी नगरपालिका १४ नं. वडाको लामीडाँडा मन्दिर आसपास पहिरो खसेर सडकमा ठूलठूला ढंगाहरु तेर्सिएका छन् । 

सडक अवरुद्ध हुन पुग्दा ओखलढुंगा, काठमाडौँ र खोटाङबाट आएका सयौँ साना ठूला सवारी साधन बीच सडकमै रोकिएर यात्रु अलपत्र परेका छन् । प्याकुरेलका अनुसार पहिरो अझै खस्ने संभावना भएकाले जोखिम उत्तिकै रहेको छ । वर्षा भईरहेकाले पहिरो कुनै पनि बेला खस्न सक्ने हुँदा सो रुट भएर चल्ने गाडीहरु जोखिममा रहेको प्याकरेलले बताए । 


अवरुद्ध सडक खुलाउन मिर्चया–कटारी–घुर्मी सडक योजना कार्यालय कटारीले मर्मत कार्य थाल्ने तयारी गरेको छ । पहिरो हटाउनका लागि स्काभेटर र आवश्यक प्राविधिक टोली घट्नास्थलतर्फ पठाईसकेको योजना कार्यालयले जनाएको छ ।  केहीबेरमै स्काभेटर र प्राविधिक टोली आईपुग्ने र मर्मत सुरु गर्ने व्याकुरेलले बताए । थप पहिरो नगए केही घण्टामै सडक सुचारु हुने गरी काम गर्ने कार्यालयले जनाएको छ । 

 

यता शुक्रबारदेखि नै अवरुद्ध भएको मदन भण्डारी लोकमार्ग शनिबार साँझदेखि सुचारु भएको छ । गाईघाट–कटारी खण्डमा पर्ने उदयपुरगढी गाउँपालिका ६ मौवासी खोलामा निर्मित पक्की पुलको पहुँच मार्गमा पहिरो जाँदा लोकमार्ग २४ घण्टासम्म अवरुद्ध हुन पुगेको हो । लोकमार्ग कार्यालयबाट खटेका जनशक्ति र दुईवटा स्काभेटरले रातारात पहिरो पन्छाएर सडक सुचारु गराएको लोकमार्ग कार्यालय प्रमुख (डिई) गोपाल खकुरेलले बताएका छन् । 


बिगत ५ दिनतयता निरन्तर भईरहेको वर्षाले यी सिद्धिचरण र मदन भण्डारी लोकमार्गबाहेक जिल्लाका दर्जनौ आन्तरिक सडकहरु अवरुद्ध भएका छन् । जसले गर्दा सदरमुकामसँग स्थानीयतहहरुको यातायात सम्पर्क विच्छेद हुनुका साथै एक ठाउँबाट अर्को ठाउँसम्म् आउजाउ गर्न बाधा पुगेको छ ।