अवरुद्ध मदन भण्डारी लोकमार्ग खुल्यो

२0८0 भाद्र ९ शनिबार
अवरुद्ध मदन भण्डारी लोकमार्ग खुल्यो

उदयपुर, भदौ ९


अघिल्लो दिनदेखि अवरुद्ध भएको मदन भण्डारी लोकमार्ग शनिबार साँझदेखि खुलेको छ । लोकमार्ग योजना कार्यालय गाईघाटले पर्याप्त जनशक्ति र उपकरणको प्रयोग गर्दै २४ घण्टापछि सडक सुचारु गरेको हो । 


३ दिनदेखिको अविरल वर्षाका कारण उदयपुरगढी गाउँपालिका ६ मौवासीस्थित भर्खर निर्मित पक्की पुलनेर पहिरो गएपछि शुक्रबार दिउँसोदेखि लोकमार्ग अवरुद्ध भएको थियो । लगातारको वर्षाले पुलको एप्रोच सडकमा पहिरो खसेर पुरिदा यातायात अवरुद्ध हुन पुगेर यात्रु अलपत्र परेका थिए । 


पूर्वबाट राजधानी र राजधानीबाट पूर्वतर्फ आउजाउ गर्ने सयौँ यात्रुबाहक साना ठूला गाडीहरु अलपत्र पर्दा यात्रुको बिचल्ली भएको थियो । यात्रुको यो समस्या टार्न आयोजना कार्यालयले शुक्रबार दिउसोदेखि मर्मत कार्य थालेर आज सडक सुचारु गरेको हो । यात्रुको समस्या टार्न मदन भण्डारी लोकमार्ग कार्यालयले शुक्रबारदेखि नै पहिरो पन्छाउन सुरु गरेकोमा निरन्तर पानी परिरहेकाले शनिबार मात्र सफल भएको गाईघाट दिक्तेल सडक योजना कार्यालय प्रमुख (डिई) गोपाल खकुरेलले बताए । 


्कार्यालयले पूर्व र पश्चिम दुवैपटिबाट लोडर र स्काभेटर प्रयोग गरी छिटोछिटो काम गर्दा सडक सुचारु गराएको खकुरेलले बताए । वर्षा अझै भईरहने भएकाले सडक भत्कने संभावना कायर्म रहेकाले मर्मत गर्न एउटा स्काभेटर र आवश्यक जनशक्ति तैनाथ राख्ने पनि खकुरेलले बताएका छन् ।     


उता अघिल्लो दिनदेखि नै अवरुद्ध भएको सिद्धिचरण लोकमार्ग पनि शनिबार दिउँसोदेखि खुलेको छ । वर्षाले मिर्चैया–कटारी–घुर्मी सडकका बिभिन्न ठाउँमा पहिरो गएर अवरुद्ध भएको सडक मिर्चया–घुर्मी सडक योजना कार्यालयले हटाएपछि  सुचारु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कटारी नगरपालिका ११ को बेतिनीदेखि १४ को लेखानीसम्मका बिभिन्न ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको थियो योजना कार्यालयका प्राविधिक कुमार प्याकुरेलले बताएका छन् । उनका अनुसार अवरुद्ध सडकको पहिरो पन्छाइएपछि सुचारु भएको हो ।