पहिरोले रोकिएको मदन भण्डारी लोकमार्ग खुलाउने प्रयास जारी 

२0८0 भाद्र ९ शनिबार
पहिरोले रोकिएको मदन भण्डारी लोकमार्ग खुलाउने प्रयास जारी 

उदयपुर, भदौ ९

अविरल वर्षाले पहिरो खसेपछि रोकिएको मदन भण्डारी लोकमार्ग खुलाउने प्रयास भईरहेको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण उदयपुरगढी गाउँपालिका ६ मौवासी खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खोल्न शुक्रबार दिउसोदेखि पहल भईरहेको छ । 

 

शुक्रबार दिनभर पानी परेकाले सडक खोल्न नसकिएको हुनाले शनिबार विहानदेखि २ पटिबाट लोडर र स्काभेटर लगाएर पहिरो पन्छाउने काम भईरहेको छ । जाँदा मदन भण्डारी लोकमार्ग कार्यालय गाईघाटका प्रमुख (डिई) गोपाल खकुरेलका अनुसार पहिरो खसेपछि अवरुद्ध भएको गाईघाट–कटारी खण्डको यातायात सुचारु गर्न भरमग्दुर प्रयास भईरहेको छ । 


मौवासीमा भर्खरै निर्माण भएको पक्की पुलको पहुँच (एप्रोच) मार्ग फराकिलो पार्न ताछेको भित्ताको ढुंगा माटो खसेर सडक पुरेपछि यातायात अवरुद्ध हुन पुगेको हो । पुलको पश्चिमतर्पmको साँघुरो सडक फराकिलो पार्न भित्ता ताछ्नु परेको तर, ताछेकै ठाउँबाट सामान्य वर्षामै पहिरो खसेर सडक अवरुद्ध गर्ने गरेको डिई खकुरेलले बताए । 


३ दिनयता निरन्तर भईरहेको वर्षाले पहिरो गएर सडक अवरुद्ध हुदा सयौँ गाडीहरु रोकिएर यात्रु अलपत्र परेको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ । ५० मिटर पहिरो जाँदा १ सय मिटर दूरीको सडक पुरिएर बाटो अवरुद्ध हुन पुगेको केन्द्रले जनाएको छ । 


यो लोकमार्ग भएर झापा, बिराटनगर, इटहरी, धरान भएर पूर्वी भेगबाट राजधानी जाने र आउने बाक्लो संख्यामा सवारी साधन आउजाउ गर्ने गरेका छन् । धरानदेखि सिन्धुलीको भिमानसम्म अत्याधुनिक अस्फाल्ट प्रविधिको डबल लेन पक्की र छोटो दूरीको सडक भएका कारण यो लोकमार्ग भएर आउजाउ गर्ने सवारी साधनको संख्या ह्वात्तै बढेको छ । पहाडी भेगका यात्रु पायक पर्ने सडक भएर यो लोकमार्गमार्फत राजधानी आउजाउ गर्ने गरेकाले यो लोकमार्ग पछिल्लो समय अत्यन्त व्यस्त सडक बन्न पुगेको छ ।    


अघिल्लो साँझदेखि पहिरो पन्छाउने काम भईरहेको र बीचमा वर्षा नभए शनिबार साँझसम्ममा एकतर्फी सडक खुल्ने संभावना रहेको लोकमार्गका सूचना अधिकारी इन्जिनियर प्रभातकिरण राईले बताए । उनी २४ घण्टादेखि अवरुद्ध सडक छिटोभन्दा छिटो खुलाउन फिल्डमै रहेर प्राविधिक परिचालन गरिरहेका छन् । इन्जिनियर राईका अनुसार पहिरो खसेर सडक अवरुद्ध भएपछि दुवैतर्फबाट सयौँ गाडी रोकिएर हजारौँ यात्रु अलपत्र परेका छन् । 


दुवैतर्पm पहाडले च्यापिएको खोँच भएकाले सडकको डाईभर्सन निकाल्ने ठाउँ नहुँदा यात्रुहरु अलपत्र परेपछि पूर्वबाट आएका सवारी साधनलाई गाईघाट फर्काएर सिराहाको लहान हुँदै पूर्वपश्चिम लोकमार्ग भएर पठाउन थालिएको छ । त्यस्तै पश्चिमबाट आएका साधनलाई कटारी फर्काएर मिर्चैया हुँदै पूर्वतर्फ पठाउन थालिएको उनले बताए । यसरी फर्कनुपर्दा पूर्वका सवारी साधनलाई झण्डै ५० किलोमिटर र पश्चिमबाट आएकालाई कटारी पुगेर ३५ किलोमिटर अतिरिक्त सडक पार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । 


उता पहिरोकै कारण मिर्चैया–कटारी–घुर्मी सडक पनि शुक्रबार दिउँसोदेखि नै अवरुद्ध भएको छ । सिद्धिचरण लोकमार्गमा आधा दर्जन ठाउँमा पहिरो गएर सडक अवरुद्ध हुन पुगेको मिर्चया–घुर्मी सडक कार्यालयले जनाएको छ । कटारी नगरपालिका ११ स्थित वेतेनीदेखि १४ नं. वडाको लेखानीसम्मको खण्डमा बिभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध हुन पुगेकोले मर्मत कार्य भईरहेको योजना कार्यालय कटारीले जनाएको छ । 


सो सडक पनि शनिबार साँझसम्ममा खुल्ने गरी काम भईरहेको योजना कार्यालयले जनाएको छ ।