माओबादीको रुपान्तर अभियान सुरु

२0८0 भाद्र ८ शुक्रबार
माओबादीको रुपान्तर अभियान सुरु

गाईघाट, भदौ ८

नेकपा (माओबादी केन्द्र)को रुपान्तरण अभियान सुरु भएको छ । पार्टीले आगामी १६ गतेदेखि देशभर एकैचोटी सञ्चालनमा ल्याउन लागेको ३ महिने ‘जनतासँग माओबादी–विशेष रुपान्तरण अभियान’ उदयपुरमा सुरु भएको हो । 


अभियानको पूर्व तयारीको क्रममा पार्टी जिल्ला समन्वय समितिले शुक्रबार एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । ‘घर घरमा माओबादी–जन जनमा माओबादी’ भन्ने नाराका साथ आयोजित अभियान अभिमुखीकरण कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका प्रमुख सचेतक गोपी अछामी, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अमनलाल मोदी, पूर्व राज्यमन्त्री तथा केन्द्रीय सदस्य धनमाया बिक, अर्का केन्द्रीय सदस्य मुक्साहाङ मेयाङबो (मुकेश), जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य मणि खम्बुलगायतले प्रशिक्षणात्मक मन्तव्य दिएका थिए । 


कार्यक्रममा त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राई, कटारी नगवर कमिटी इन्चार्ज हेम दाहाल, चौधण्डीगढी नगर कमिटी अध्यक्ष दिनेश बायुङ राई र बेलका नगर कमिटी अध्यक्ष मनोज तामाङले पार्टीगत रिपोर्ट पेश गरेका थिए । त्यस्तै लिम्चुङबुङ गाउँ पार्टी अध्यक्ष मेजर राई, ताप्ती कमिटी अध्यक्ष गुरु पोखरेल, उदयपुरगढी अध्यक्ष दिपक लामा, रौतामाई अध्यक्ष वीरेन्द्र मगरले स्थानीयतहको रिपोर्टिङ गरेका थिए ।  

 

अभिमुखीकरणमा प्रदेश सदस्यहरु, विभागीय सदस्य, जिल्ला समन्वय समिति सदस्य, स्थानीयतहका इन्चार्ज तथा अध्यक्षलगायत पदाधिकारी, जनबर्गीय संगठनका इन्चार्ज तथा अध्यक्ष र अगुवा नेता कार्यकर्ताहरुको सहभागिता थियो । त्रियुगा बसपार्कस्थित पार्टी कार्यालयमा आयोजित अभिमुखीकरणमा जिल्लाका ८ वटै स्थानीयतहका ७५ वटै वडामा १६ गतेका दिन एकैचोटी अभियानको उद्घाटन गरी ३ महिनासम्म निरन्तर जनतासँग भेटघाट र समन्वय कार्य गर्ने गरी जिम्मेबारी बाँडफाँड गरिएको जिल्ला संयोजक विनोद कटुवालले बताए । 

 

एमाले त्योगर माओबादीमा प्रवेश 

कार्यक्रममा नेकपा एमालेका एक अगुवा कार्यकर्ता माओबादीमा प्रवेश गरेका छन् । रौतामाई गाउँपालिकाका अगुवा कार्यकर्ता तीर्थ तामाङ एमाले परित्याग गरी माओबादीमा प्रवेश गरेका हुन् । २ वर्षअघि माओबादी छाडेर एमाले गएका उनले पार्टी प्रवेशपछि बोल्दै माओबादीजस्तो ऐतिहासिक र गौरवशाली पार्टी छाडेकोमा गहिरो पछुताउ गर्दै पुनः पुरानै घर फर्केको बताए । 


उनले आफु स्थानीयतह चुनावमा वडाध्यक्षको सशक्त दावेदार भए पनि गठनबन्धनका कारण टिकट नपाएपछि एमालेमा गएको तर, त्यहाँ कम्युनिष्ट आचरण र व्यवहार नपाएको बरु स्वार्थैस्वार्थले भरिएको लोभीपापीहरुको जमात देखेपछि वाक्क लागेर पुरानै घर फर्केको बताए । 


टिकट नपाएर न्यास्रो लागिरहेका बेला त्यसको फाईदा उठाएर एमालेले फकाई फुल्याई प्रलोभन दिएर प्रवेश गराएको भन्दै उनले आफुले त्यत्रो दुःख गरेको माओबादी छाड्नु गलत भएको भन्दै पुनः फर्केको बताए । ‘कत्ति दुःख गरेको पार्टी छाडेर एमालेमा पसेँ तर, २ वर्षको बीचमा एमालेले छक्याउने काम मात्र गर्यो, न पद दियो न भनेजस्तो सम्मान नै’ तामाङले पछुताउदै भने ‘वर्षाँै दुःख गरेको पार्टी आवेशमा आएर छाडेँ, सारै पछुतो लागेको छ । त्यसैले आज फेरि पुरानै घर फर्केको छु, अन्यथा नलिइदिनु होला कमरेडहरु । आवेशमा आएर माओबादीलाई हिजो गाली गरेको रहेछु भने आफ्नै साथी सम्झेर माफ दिनुहोला ।’


१० वर्षे जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै लामो समय माओबादीमा योगदान गरे पनि सामान्य असन्तुष्टिमै पार्टी छाड्नु गम्भीर गल्ती भएको भन्दै तामाङले अव त्यस्तो गल्ती कहिल्यै नगर्ने बताए । उनले माओबादीजस्तो गौरवशाली, ऐतिहासिक र परिवर्तनकारी पार्टी छाडेका अन्य साथीहरुलाई पनि तुरुन्त घर फर्कन आग्रह गरे । एमालेजस्तो पश्चगामी, पहिचानविरोधी, विकासविरोधी पार्टीमा बसेर देश र जनताप्रति गद्धारी नगर्न उनको आग्रह थियो । 


यो देशमा राजनीतिक परवर्तन गरेर संघीयता, गणतन्त्र र लोकतन्त्र ल्याउने माओबादी एकमात्र परिवर्तनको संबाहक भएको भन्दै उनले एमालेले माओबादीले ल्याएको परिवर्तनको व्याज भँजाएर खाईरहेको र उल्टै माओबादीलाई नै गाली गरेर संघीयता र गणतन्त्रमाथि प्रहार गरिरहेको तामाङको आरोप थियो ।  


तामाङलाई नेकपा (माओबादी केन्द्र)का केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका प्रमुख सचेतक गोपी अछामी, केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज मणि खम्बु, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अमनलाल मोदी, पूर्व राज्यमन्त्री तथा ३ महिने पार्टी रुपान्तरण अभियानकी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य धनमाया बिक, अर्का केन्द्रीय सदस्य मुक्साहाङ मेयाङबो (मुकेश), सहइन्चार्ज राजन किराती र जिल्ला संयोजक बिनोद कटुवालले अविर, खादा लगाएर स्वागत गरेका थिए ।