अपराध अनुसन्धानमा प्रविधी प्रयोग र प्रमाण आवश्यक: डिआईजी बास्तोला 

२0८0 श्रावण २७ शनिबार
अपराध अनुसन्धानमा प्रविधी प्रयोग र प्रमाण आवश्यक: डिआईजी बास्तोला 

बिराटनगर, साउन २७

१ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजेशनाथ बास्तोलाले अपराध अनुसन्धानमा प्रविधीको प्रयोग र प्रमाणमुखी अनुसन्धानको आवश्यक्ता औँल्याएका छन् । प्रदेश प्रहरी कार्यालय बिरानगरमा आयोजित अपराध अनुसन्धान सम्बन्धी एक दिवसीय गोष्ठी तथा प्रदेश प्रहरी वार्षिक कार्ययोजना २०८० सार्वजनिकीकरण कार्यक्रममा डिआईजी बास्तोलाले सो कुरा बताएका हुन् । 


प्रदेश प्रहरी कार्यालयअन्तरगतका १४ वटै जिल्ला प्रहरी प्रमुखबीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रममा सहभागी भएका डिआईजी बास्तोलाले शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणालीको विकासमा जोड दिए । उनले सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने, मानव अधिकार संरक्षण र सम्वर्द्धन, बिपद व्यवस्थापनलगायत सामाजिक कार्यमा नेपाल प्रहरीको क्षमता अभिबृद्धि गर्नुपर्ने आवश्यक्ता औँल्याउँदै सुरक्षा तथा अन्य सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यलाई प्रभाबकारी बनाउनुपर्ने पनि बताए ।्


डिआईजी बास्तोलाले तस्करी नियन्त्रण कार्यमासमेत विशेष ध्यान दिन निर्देशन दिए । गोष्ठीमा अपराधको वर्तमान अवस्था, अपराधका प्रवृत्तिहरु, मुद्दाको अवस्था, फैसला कार्यान्वयनको अवस्था, अपराध अनुसन्धानमा देखिएका समस्या एवं चुनौतिहरु, अपराध अनुसन्धान एवं नियन्त्रण कार्ययोजना र माथिल्लो कार्यालयसँगको अपेक्षाबारे छलफल तथा अन्तरक्रिया भएको थियो । 


कार्यक्रममा उदयपुर जिल्ला प्रहरी प्रमुख ज्ञानेन्द्र फुयाललगायत प्रमुखहरुले आआफ्नो जिल्लाको सुरक्षासम्ब्न्धी बस्तुगत अवस्था प्रस्तुत गरेका थिए । अपराध अनुसन्धानमा बढेको चुनौति र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँनयाँ प्रविधिको प्रयोग गर्ने, प्रदेशभित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनवीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वय गर्न गोष्ठी आयोजना गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।