प्रदेशको नाम पहिचानको आधारमा नराखेसम्म संघर्ष जारीः यायोक्खा 

२0८0 श्रावण २२ सोमबार
प्रदेशको नाम पहिचानको आधारमा नराखेसम्म संघर्ष जारीः यायोक्खा 

उदयपुर, साउन २२

किरात राई यायोक्खाले १ नं. प्रदेशको नाम पहिचानको आधारमा नराखेसम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता दोहोर्याएको छ । आफ्नो २६ औँ ऐतिहासिक स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा यायोक्खाले सो प्रतिबद्धता दोहोर्याएको हो । 


सर्जक÷कलाकारहरुलाई सम्मान तथा विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै मनाइएको स्थापना दिवसको अवसरमा यायोक्खाका  संघीय अध्यक्ष जीवन हाताचो राईले पहिचानको आधारमा १ नं. प्रदेशको नाम पहिचानको आधारमा नराखेसम्म आन्दोलन नरोकिने प्रतिबद्धता दोहोर्याए । कार्यक्रममा बोल्दै अध्यक्ष राईले कुनै पनि हालतमा प्रदेश १ को नाम पहिचानको आधारमा पुनः नामाकरण गराएरै छाड्ने प्रतिबद्धता दोहोर्याउँदै त्यसका लागि राजनीतिक दलहरु तयार बस्न आग्रह गरे । पहिचान प्रदेशबासी आम जनसमुदायको मनोविज्ञानसँग जोडिएको विषय भएकाले यसलाई नेताहरुले ख्यालख्याल नठान्न चेतावनी दिदै यदि त्यसो गरेमा  गम्भीर र दुःखद परिणामको जजाफदेही स्वयं हुनुपर्ने बताए । 

 

ललितपुरको कृष्टल पार्टी प्यालेसमा आयोजित स्थापना दिवसमा नेपाल प्रज्ञा प्रतिष्ठानका् कुलपति भूपाल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, नेपाली भाषाका महागायक राजेशपायल राई, सहित्यकार भद्रगोल किराती, पत्रकारहरु दिपिन राई, श्रीशिसा राईलगायतलाई सम्मान गरेको छ भने विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ । 


कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, सम्मानित व्यक्ति महागायक राजेशपायल राई, कुलपति हार्ताम्छालीलगायतले यायोक्खाको अडान र प्रतिबद्धतामा साथ दिन तयार रहेको भन्दै सफलताको शुभकामना दिएका थिए । यायोक्खाले स्थापना दिवसमा विभिन्न विषयमा विद्यावारिधी प्राप्त व्यक्तिहरु, कला, सहित्य र पत्रकारिता क्षेत्रबाट संस्था र समुदायलाई योगदान गर्ने व्यक्तिहरुलाई बिगतदेखि नै सम्मान गर्दै आएको छ । त्यस्तै खोज अनुसन्धानदाता र कृति सृजना प्रकाशनका सर्जकलाई पनि पुरस्कृत गर्दै आएको छ ।

 
यायोक्खाका महासचिव भीम राईद्वारा सञ्चालित कार्यक्रममा सहअध्यक्ष ज्ञानबहादुर राईले स्वागत मन्तव्य दिदै किरात राई यायोक्खाले १ नं. प्रदेशको पुनः नामाकरण गर्ने जारी आन्दोलनलाई तार्किक निश्कर्षमा पुर्याउने गरी यायोक्खा अघि बढिरहेको जानकारी दिदै यो यात्रा सफल बनाउनै पर्ने भएकाले सबैको साथ सहयोगको अपेक्षा गरिएको बताए ।

 
स्थानीय दिवसको अवसरमा यायोक्खाका बिभिन्न जिल्ला र स्थानीयतहदेखि वडासम्मका कमिटीहरुले बिभिन्न कार्यक्रम आयोजना गरेका छन् । उनीहरुले प्रदेशको पहिचानसहितको पुनः नामाकरण गर्ने अभियान जारी रहेको भन्दै त्यसलाई ठोस गर्न पहिचानबादी राजनीतिक दल, नागरिक समाज, संघसंस्था र सरोकारवालाहरुसाग समन्वय र एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।  


स्थापना दिवसमा कसैले विरुवा रोपन कार्यक्रम गरेका छन् भने कसैले रक्तदान, खेलकुद, हाजीरी जवाफ, बक्तृत्वकलालगायत प्रतियोगिता कार्यक्रमहरुसमेत आयोजना गरेको यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले बताएका छन् ।