जवरजस्ती करणीका फरार अभियुक्त पक्राउ 

२0८0 श्रावण १९ शुक्रबार
जवरजस्ती करणीका फरार अभियुक्त पक्राउ 

उदयपुर, साउन १९

महिलामाथि जवरजस्ती गरेर फरार रहेका एक अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । गत २०७४ जेठ ८ गते ४० वर्षीया महिलालाई जवरजस्ती करणी गरेर भाग्दै आएका चौदण्डीगढी नगरपालिका ७ भुल्केका ३५ वर्षीय राजु परियार बुधबार राति पक्राउ परेका हुन् । 


परियारविरुद्ध जिल्ला अदालत उदयपुरको २०७९ वैशाख १७ गतेको इजलासले ५ वर्ष कैद र ५५ हजार क्षेतिपूर्ति भराईदिने फैसला गरेको थियो । तर, फरार रहेका परियारलाई खोजविनको क्रममा इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक डम्बर बिश्वकर्माको कमाण्डमा खटेको टोलीले आफ्नै गाउँघरमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 


जिल्ला प्रहरी कार्यालयका अनुसार परियारलाई बिहीबार फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालतमा पेश गरिएको र अदालतले तत्काल कैद भुक्तानका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरले बताए । 


फरार अभियुक्तहरुको खोजी गरी पक्राउ र कारबाही गर्दै बक्यौता कैद र जरिवाना उठाउने नेपाल सरकार, गृह मन्त्तालयको निर्देशन अनुसार जिल्ला प्रहरीले विशेष टोली गठन गरेर परिचालन गर्दै आएको प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताएका छन् । सोही क्रममा यस्ता फरार अभियुक्तहरु बेला बेलामा पक्राउ गदै आएको एसपी फुयालले बताए ।