लागू औषधसहित २ युवा पक्राउ

२0८0 श्रावण १८ बिहीबार
लागू औषधसहित २ युवा पक्राउ

उदयपुृर, साउन १८

उदयपुर प्रहरीले लागू औषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । अघिलले राति खटेको गस्ती प्रहरी टोलीले सदरमुकाम त्रियुगा नगरपालिका ४ बगाहा सालघारीस्थित सवारी चेकजाँचको क्रममा लागू औषध फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । 


मधेस प्रदेशको सिराहाको लाहानबाट गाईघाटतर्फ आउँदै गरेको ना १ ज ८६५९ को विङ्गर जिपमा सवार त्रियुगा नगरपालिका ९ झिल्केटोल बस्ने २६ वर्षीय सञ्जिव परियार र सोही वडाको गहिरुन बस्ने २३ वर्षीय विशाल मंग्राती पक्राउ परेका हुन् । राति ७ः०० बजे लाहानबाट आईरहेको जीपमा शंका लागी यात्रुहरुको चेकजाँच गर्दा उनीहरुको साथबाट लागू औषध फेला परेपछि नियन्त्रणमा लिनु परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


उनीहरुको साथबाट डाईजोपाम ३८ एम्पुल, आईपिपिएल ३८ एम्पुल र फेनार्गन ३३ एम्पुल गरी १ सय ९ एम्पुल प्रतिबन्धित लागू औषध बरामद भएको छ । प्रहरी चौकी बगाहाको टोलीद्वारा पक्राउ दुवैजनालाई जिल्ला प्रहरी कार्यालय ल्याएर आवश्यक अनुसन्धानका लागि बिहीबार जिल्ला अदालतबाट म्याद थप्ने प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए ।