अब्बल बन्दै जिल्ला अस्पतालः दुरविनबाट पित्तथैलीको सफल अप्रेसन 

२0८0 श्रावण ११ बिहीबार
अब्बल बन्दै जिल्ला अस्पतालः दुरविनबाट पित्तथैलीको सफल अप्रेसन 

गाईघाट, साउन ११

‘अहिले त यहीँ राम्रो उपचार हुदोरहेछ, हामीलाई थाहै थिएन’ दिकु शेर्पा राईले भनिन् ‘सासु आमालाई बिराटनगर लान लागेका थियौँ, यहीँ उपचार हुन्छ भन्ने सुनेर यता ल्यायौँ, नभन्दै अप्रेसन सफल भयो, सासु आमा निको भईसक्नुभो ।’ 


जिल्ला अस्पतालदेखि मुस्किलले ७ सय मिटर टाढा त्रियुगा नगरपालिका १० बोक्सेकी शेर्पाले सासु राधिका राईको पित्तथैलीको सफल शल्यक्रिया (अप्रेसन) गरेपछिको भेटमा माझखर्कसँग गरेको संबाद हो यो । विगत १० वर्षदेखि पित्तथैलीमा पत्थरी (स्टोन)को बिरामीले पीडित राधिका गत असार २६ गते उदयपुर अस्पतालमै सफल सल्यक्रिया भएपछि सञ्चो भएकी छिन् । 


अस्पतालका मेडिकल सर्जन डा. ज्ञानेन्द्र यादव नेतृत्वको चिकित्सक टोलीले अत्याधुनिक प्रबिधि (दुरबिन)को प्रयोगमार्फत पित्तथैलीको स्टोन सफलतापूर्वक निकालेर राधिकालाई निको पारेको हो । बुहारी दिकुका अनुसार ६८ वर्षीया राधिकालाई गतवर्ष धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर चेकजाँच  गर्दा उनको पित्तथैलीमा स्टोन भएको पत्ता लाग्यो । स्टोन भएको थाहा भएपछि अप्रेसन गर्न ३० हजार खर्च लाग्ने बताएका डा. ले केही समय औषधि खान सुझाउदै निको नभए मात्र अप्रेसन गर्न परामर्श दिएका थिए । डा. को परामर्श अनुसार १ वर्ष औषधि खुवाए पनि निको नभएपछि बिराटनगर लाने तयारी गरिरहेका बेला गाईघाटमै अप्रेसन हुन्छ भन्ने थाहा पाएर यहाँ भर्ना गरेको दिकुले बताईन् । 


अर्की बुहारी रजनी राईलले सासुको अप्रेसन आफ्नै ठाउँको अस्पतालमा गर्नुपर्दा सहज भएको बिरामी पनि चाँडै निको भएकीबिरामी पनि चाँडै निको भएको बताईन् । गाईघाटमै उपचार पाउँदा बिराटनगर र धरान आउजाउ गर्न एम्बुलेन्सदेखि अप्रेसन गर्न लाग्ने महँगो खर्च र अन्य समस्याबाट बँचेको रजनीको भनाई छ । सस्तो शूल्कमा घरछेउमै सफल उपचार पाएर सासु निको पार्न सफल भएकोमा अहिले राई परिवार खुसी भएको छ । राधिकाको अप्रेसन खर्च अस्पतालले १८ हजार लिएको रजनीले बताईन् । अस्पतालले पित्तथैलीको अप्रेसन गर्न २० हजार तोकेको भए पनि २ हजार छुट दिएको उनले सुनाईन् । 


असार २६ गते पहिलो पटक अस्पतालमा पित्तथैलीको अप्रेसन गरेको अस्पतालले साउन ४ गते दोस्रो अप्रेसन पनि सफल पारेको छ । दोस्रो अप्रेसन त्रियुगा नगरपालिका ३ की २९ वर्षीया बिरामी बिमला शर्माको गरिएको सर्जन डा. यादवले बताए । उनको पित्तथैलीबाट १५ एमएमको स्टोन निकालिएको  छ । डा. यादवका अनुसार बुधबार (आज) तेस्रो अप्रेसनको तयारी भईरहेको छ । तेस्रो अप्रेसन त्रिनपा १० की ६० वर्षीया धनमाया राईको हुन लागेको हो । 


डा. यादवका अनुसार दुरविनबाट गरिने अप्रेसन पद्धति चिकित्सा विज्ञानको दुनियामा अत्याधुनिक प्रविधि हो । यसमा बिरामीको शरीरमा १० एमएमका २ वटा र ५ एमएमका २ वटा अलग अलग प्वाल (दुलो) पारिन्छ । ती प्वालबाट दुरविन छिराएर पित्तथैलीमा रहेको स्टोनलाई फुटाएर ससाना टुक्रा पारिन्छ । फुटाइएका स्टोनका टुक्राहरु त्यही प्वालबाट शरीरबाहिर निकालिन्छ । यो प्रविधिमा बिरामीको शरीरमा घाउचोट धेरै नलाग्ने हुनाले अनावश्यक दुखाई नहुने र घाउ निको हुन पनि घेरै समय नलाग्ने हुँदा सजिलो र कम खर्चिलो प्रविधि मानिने यादवले बताए । अस्पतालका प्रशासन अधिकृत योगेश्वर खनालले पित्तथैलीको अप्रेसन शूल्क २० हजार तोकिएको बताए । सहज रुपमा सबैले उपचार सेवा पाउन् भन्ने उदेश्यले अस्पताल व्यवस्थापन समितिले पित्तथैलीको अप्रेसन शूल्क न्यूनतम २० हजार शूल्क तोकेको खनालले बताए । त्यही पित्तथैलीको अप्रेसन गर्न बिराटनगर लगे निजी अस्पतालमा डेढदुईलाख लाग्ने र सरकारीमा भए पनि ५० हजारभन्दा बढी नै लाग्ने उनले बताए । त्यसबााहेक आउजाउ गर्न एम्बुलेन्स भाडा, कुरुवा, लज र खाना खर्च अलग्गै लाग्ने ठाउँमा २० हजार खर्चमा आफ्नै जिल्लामा अप्रेसन सेवा पाउनु सर्वसाधारणका लागि खुसीको कुरा भएको खनाल बताउँछन् । 


जिल्लाबासी सर्वसाधारणलाई न्यूनतम शूल्कमा सकेसम्म जटिलखालका रोगको पनि उपचार गराउने उदेश्य अस्पतालको भएको खनालले बताए । उदयपुर अस्पतालमा धरान र बिराटनगरमा पाउने सबैखाले उपचार यहीँबाट उपलब्ध गराउने गरी दक्ष स्वास्थ्यकर्मी जनशक्ति र औजार उपकरणको जोहो गर्ने काम भईरहेको पनि अधिकृत खनाल बताउँछन् । अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झाका अनुसार केही प्राविधिक समस्या मात्र हल गर्न सके पनि उदयपुर अस्पताल बिराटनगर, धरान र जनकपुरले दिने सबैखाले उपचार सेवा यहीँबाट दिन सक्ने अवस्थामा पुगेको बताए । अहिले अस्पतालमा १४ जना विशेषज्ञ (कन्सल्टेन्ट)सहित २५ जना सक्षम डा.हरु कार्यरत रहेको बताउँदै डा. झाले केही आवश्यक औजार उपकरण र भौतिक पूर्वाधारको जोहो गर्न सके धरान र बिराटनगरमा पाउने सबैखाले उपचार यहीँबाट दिन सकिने दावी गरे । हाल स्वयं डा. झा र डा. सशीरञ्जन प्रधान हाडजोर्नी तथा नशारोग विशेषज्ञ छन् । उनीहरुको संलग्नतामा गएको १ वर्षमा ५ सयभन्दा बढी हाडजोर्नी तथा नशा रोगीहरुको सफल उपचार भईसकेको छ । लामो समयदेखि नशा रोगले थलिएका, हात खुट्टा भाँचिएका बिरामीहरुको सफल अप्रेसन गरेर झा र प्रधान जोडीले कैयौँलाई नयाँ जीवन दिईसकेको अस्पतालले जनाएको छ ।


त्यस्तै मेडिकल सर्जन डा. ज्ञानेन्द्र यादव, डा. राहुल रौनियार इन्टरनल मेडिसिन कन्सल्टेन्ट फिजिसिएनका रुपमा कार्यरत छन् भने डा. मुकेश झा र डा. रितेशराज कर्ण स्त्रीरोग विशेषज्ञ छन् । डा. रनदिप राउत र डा. प्रेम दास एमडिजिपी, डा. दिपेश यादव रेडियोलोजिस्ट, डा. निरजकुमार सिंह बालरोग विशेषज्ञ हुन् भने डा. अरुण मण्डल एनेथेसिया (बेहोस बनाउने) चिकित्सक छन् । दन्तरोग विशेषज्ञका रुपमा डा. आस्था सुब्बा, डा. नारायण चौधरी र डा. बेन्जु श्रेष्ठ रहेको मेसु झाले बताए । यसबाहेक १० जना मेडिकल अधिकृत कार्यरत अस्पताललाई भौतिक पूर्वाधार र औजार उपकरण व्यवस्था गर्न सके उदयपुरेसँगै छिमेकी खोटाङ, ओखलढुंगा, सिराहा र सिन्धुलीका नागरिक स्वास्थ्य सेवा पाउन सफल हुने डा. झाको दावी छ । 


एकताका ‘रिफर सेन्टर’को उपमा पाईसकेको उदयपुर अस्पतालले पछिल्लो समय उपचारमा मारेको फड्कोले दिनदिनै आकर्षण थपिदै गएको छ । पछिल्लो समय हरेक शनिबार छाला सौन्दर्य तथा यौन रोग र मानसिक रोगको उपचार गर्न बाहिरबाट विशेषज्ञ डा. बोलाउने गरिएको छ । हाल दैनिक न्यूनतम ७ सयदेखि १ हजार ५ सय जनासम्म बिरामीले स्वास्थ्य लाभ लिइरहेको अस्पतालमा अव एमआरआई, सिटीस्क्यान र भेन्टिलेटरको सुविधा थप्नुपर्ने खाँचो छ । त्यस्तिै एएटा सुविधा सम्पन्न भवनको पनि जरुरी रहेकाले त्यसितर्फ सरकारको ध्यान जानुपर्ने मेसु डा. झाको आग्रह छ ।