मात्तिमबिर्ताका महिलाहरु ढिकी जाँतोबाट मुक्त

२0८0 श्रावण ४ बिहीबार
मात्तिमबिर्ताका महिलाहरु ढिकी जाँतोबाट मुक्त

उदयपुर, साउन ४

खोटाङको साकेला गाउँपालिकाबासी महिलाहरुले कुटानी पिसानी मिल पाएका छन् । दैनिक कार्यबोझ कम गर्दै ढिकी जाँतोको झन्झटिलो कामबाट मुक्त गराउने उदेश्यले गाउँपालिकाको सहयोगमा महिलाहरुलाई कुटानी पिसानी मिल उपलब्ध गराइएको हो । 


गाउँपालिकाले गत आर्थिक वर्ष ०७९÷८० कै स्वीकृत बजेट तथा कार्यक्रम अनुृसार खरिद गरिएको मिल वडा नं. ५ मात्तिमबिर्तास्थित आमा समूहलाई प्रदान गरिएको हो । उक्त घरायसी मिल पाएपछि महिलाहरुलाई दैनिक गर्नुपर्ने ढिकी जाँतोको समस्या समाधान हुने अपेक्षा गरिएको वडाध्यक्ष जीवन खत्रीले बताए । उनका अनुसार सो मिल गाउँपालिकाले ‘महिलासँग उपाध्यक्ष कार्यक्रम’ अन्तर्गत खरिद गरेर उपलब्ध गराइएको हो । 


कुटानी पिसानी मिल बुधबार मात्तिमबिर्तामा आयोजित आमा समूहको कार्यक्रममा गाउँपालिका अध्यक्ष रबिप्रकाश राई र उपाध्यक्ष बिर्सिका राईले संयुक्त रुपमा हस्तान्तरण गरे । कुटानी पिसानी मिल पाएपछि आमा समूहमा आबद्ध महिलाहरुले झन्झटिलो ढिकी जाँतोबाट मुक्ति मिलेको भन्दै खुसी व्यक्त गरे । समूहले सो मिलको केहीदिनभित्रै जडान गरेर सञ्चालनमा ल्याउने जनाएको छ । 


मिल हस्तान्तरणपछि बोल्दै अध्यक्ष राईले गाउँपालिकाले दिएको कुटानी पिसानी मिलले स्थानीय आमा दिदीवहिनीहरुको जीवन शैलीलाई सहज बनाउने विश्वास लिएको बताए । यसले महिला दिदीवहिनीहरुको कार्यवोझ घटाउनुका साथै समयको बचत हुने अपेक्षा गरेको भन्दै अध्यक्ष राईले बचेको समयलाई सृजनसिल र रचनात्मक काममा खर्च गर्न आग्रह पनि गरे । साकेला गाउँपालिका ठूलो र धेरै कुराको मात्र पछि लागेर नहिड्ने भन्दै उनले ससाना जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयहरुमा पनि समृद्धि लुकेको हुनाले त्यसप्रति पनि उत्तिकै ध्यान दिएर अघि बढ्ने बताए । 


‘हामी ठूला र धेरै कुराको मात्र अपेक्षा नगरौँ, ससाना कुरामा पनि समृद्धि लुकेको हुन्छ’ अध्यक्ष राईको भनाई थियो ‘त्यसैले जनताको दैनन्दिन जीवनसँग जोडिएका सानाठूला सबै कुराप्रति हामी उत्तिकै सरोकार राखौँ, जसले समृद्धिको यात्रामा कदम राख्न सहयोग पुगोस् ।’ साकेला समृद्धिको दिशातर्फ अघि बढिसकेको भन्दै अध्यक्ष राईले आगामी ५ वर्षभित्र समृद्ध र डिजिटल गाउँपालिका बनाउने गरी, सुखी साकेलाबासी बन्ने गरी अघि बढ्न सबैसँग आग्रह गरे । गाउँपालिकाबासीले देखेको सपना साकार पार्न स्थानीय सरकार प्रतिवद्ध रहेको कुरा पनि उनले दोहो¥याए । 


उपाध्यक्ष बिर्सिका राईले महिला दिदीवहिनीहरुलाई घरायसी काममा सहज बनाउन मिल उपलब्ध गराएको भन्दै यसबाट भरपुर फाईदा लिएर बचेको समय सदुपयोग गर्न अनुरोध गरिन् । ढिकी जाँतोको समस्या टार्न मिल र आमा समूहलाई वैठक बस्नका लागि आवश्यक कुर्सीसमेत व्यवस्था गरिदिएको बताउँदै उपाध्यक्ष राईले यसले महिलाहरुलाई केही न केही सहज बनाउने अपेक्षा गरिन् । उनले चालु वर्षभित्र गाउँपालिकाका अन्य सबै वडाका महिला समूहहरुलाई पनि मिल उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिईन् ।