उदयपुर दुर्घटनामा परी प्रदेश उपसचिवसहित ४ गम्भीर घाईते

२0८0 असार २९ शुक्रबार
उदयपुर दुर्घटनामा परी प्रदेश उपसचिवसहित ४ गम्भीर घाईते

उदयपुर, असार २९

अघिल्लो दिन उदयपुर सदरमुकाम गाईघाटनजिकै सवारी दुर्घटनामा परेका १ नं. प्रदेशसभा सचिवालयका उपसचिवको स्वास्थ्य अवस्था थप बिग्रेको छ । दुर्घटनाको बेला सामान्य घाईते देखिएका उपसचिव गौतम अमात्यसहित ४ जना सबैको अवस्था पछिल्लो २४ घण्टादेखि गम्भीर भएपछि आईसियु (सघन उपचार कक्ष)माा राखेर उपचार भईरहेको  उदयपुर प्रहरीले जनाएको छ । 

 


बिराटनगरबाट काठमाडौंतर्फ गईरहेको प्रदेश सभा सचिवालयको को १ झ ६५६ नम्बरको स्कारपियो बिहीबार त्रियुगा नगरपालिका ९ गैरुन झिल्लेटोस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनामा परेको थियो । बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ ख ९३२२ नम्बरको मिनी ट्रकले ठक्कर दिएर सडकभन्दा बाहिर उछिट्टन पुगेको स्कारपियोमा उपसचिव अमात्यसहित मोरङको लेटाङ नगरपालिका ३ का ५५ वर्षीय रेवा श्रेष्ठ, २३ वर्षीया रेनिशा श्रेष्ठ र चालक बिराटनगर महानगरपालिका ५ का ४३ वर्षीय सूर्यनारायण राजवंशी घाईते भएका थिए ।


जिल्ला ट्राफिक कार्यालयले उद्धार गर्दा सामान्य अवस्थामा देखिएका चारैजनालाई जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि बिराटनगर रिफर गरिएको थियो । टाउको, हात र शरिरका बिभिन्न ठाउँमा सामान्य चोटपटक लागेको देखिएका उनीहरु  बिराटनगर पुगेपछि भने एकाएक स्वास्थ्य अवस्था बिग्रेर जटिल बन्न पुगेपछि आईसियुमा राखेर उपचार भईरहेको उदयपुर प्रहरी निरीक्षक मोहन थापाले बताए । 

 


‘यहाँ त बोलचाल राम्रै गर्नसक्ने अवस्थामा भएकाले सामान्य घाईतेजस्तो देखिएका थिए’ इन्सपेक्टर थापाले भने ‘तर, बिराटनगर पुगेपछि एकाएक गम्भीर घाईते भएको भन्ने खवर आएको छ । अहिले उनीहरु चारै जनालाई आइसियुमा राखेर उपचार गराईराखेको खवर आएको छ ।’ इस्पेक्टर थापाका अनुसार स्कारपियोलाई ठक्कर दिने ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसरमा राखिएको छ । तर, चालक भने घट्नालगत्तै फरार रहेकाले खोजी कार्य भईरहेको छ ।