लागू औषधसहित २ युवा पक्राउ 

२0८0 असार २६ मंगलवार
लागू औषधसहित २ युवा पक्राउ 

उदयपुर, असार २६

उदयपुर प्रहरीले लागू औषधसहित यहाँका दुई युवालाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउसो सिराहाको लाहानबाट गाईघाटतर्फ आउँदै गरेको यात्रुबाहक बसमा खानतलासी लिदा लागू औषध बोकेको पाइएपछि उनीहरु पक्राउ परेका हुन् । 


यात्रुबाहक बसमा शंका लागी इलाका प्रहरी कार्यालय जलजलेबाट खटेको टोलीले दिउँसो ३ः४० बजे खानतलासी लिँदा त्रियुगा नगरपालिका ११ साकेलाथानका २१ वर्षीय शिव अधिकारी र सोही वडाको बुद्धचोकका अन्दाजी २० वर्षीय सीताराम चौधरीको साथबाट लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट डाईजोपाम २२ एम्पुल (थान) र ब्रुपिनोर्फिन २२ एम्पुल लागू औषध बरामद भएको छ । 


उदयपुर र सिराहाको सीमानाका त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकी पार गरेर आएको बसमा लागु औषधसहित फेला परेका उनीहरुमाथि अनुसन्धान थालिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी अरिनन्दन चौधरीका अनुसार उनीहरुमाथि लागू औषध ऐन अनुसार कारबाही गर्ने तयारी भईरहेको छ ।