साकेलाको ढाडे पोषणमैत्री टोल घोषित

२0८0 असार २३ शनिबार
साकेलाको ढाडे पोषणमैत्री टोल घोषित

साकेला, असाा २३

खोटाङको साकेला गाउँपालिका ३, खिदिमास्थित ढाँडेमा 'पोषणमैत्री नमूना टोल' घोषणा भएको छ । गाउपालिका भरीका ३९ वटा टोलमध्ये विश्व स्वास्थ्य संगठनले तयार गरेको ७६ वटा मापदण्ड तथा सूचकह पुरा गरेपछि उक्त टोललाई शुक्रबार पोषणमैत्री नमूना टोल सुनिश्चित र दिगोपना घोषणा गरिएको छ । 

 

वडास्तरीय खाद्य सुरक्षा निर्देशक समिति संयोजक तथा वडाध्यक्ष गोविन्द तामाङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रविप्रकाश राईको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा पोषणमैत्री नमूना टोल सुनिश्चित र दिगोपना घोषणा सम्पन्न भएको हो । बाँकी ३८ वटा टोलहरुलाई नमूना टोल सुनिश्चितता गर्ने कार्य भईरहेको र सकिएपछि सिङ्गै पालिकालाई पोषणमैत्री गाउपालिका घोषणा गरिने बताइएको छ ।

 

‘बहु क्षेत्रीय पोषण कार्यक्रम’ अन्तर्गत साकेलालाई आगामी ४ वर्षभित्र ‘पोषणमैत्री स्थानीयतह’ घोषणा गर्नेगरी गत जेष्ठ २९ गते बिभिन्न सूचकसहितको '११ बुदे प्रतिवद्धता पत्र'मा जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरुले हस्ताक्षर गरे अनुसार काम भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पोषणमैत्री स्थानीयतह घोषणा गर्न गाउँपालिकाले पुरा गर्नुपर्ने ७६ वटा सूचकहरू तय गरिएको छ । जसमध्ये अधिकांश सूचकहरू पुरा भइसकेको बताउँदै अध्यक्ष राईले बताए ।

 

अध्यक्ष राईले गाउँपालिकालाई पोषणमैत्री बनाउन जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, वुद्धिजीवी, समाजसेवी, शिक्षक, सरोकारवाला नागरिक सबैले सकारात्मक भूमिका खेल्न आग्रह गरे। स्थानीय सरकार, प्रदेश र संघीय सरकारलेसमेत पछिल्लो समय पोषणको क्षेत्रमा संवेदनशील भएर काम गरिरहेको बताउँदै अध्यक्ष राईले निर्धारित लक्ष्य अनुरूप पोषणमैत्री देश बनाउने अभियानमा साकेला गाउँपालिका अग्रपङ्तिमा रहेको बताए । 

 

साकेलाबासी नागरिकहरुले सजाएको समृद्धिको सपना पुरा गर्न गाउँपालिकालाई पोषणमैत्री स्थानीयतह घोषणा गर्नु पनि प्रमुख कर्तव्य भएको बताउदै राईले साकेला गाउँपालिकालाई भविष्यमा कस्तो बनाउने, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको क्षेत्रमा गरिने विकासलाई आवधिक योजना मार्फत दिगो विकास र समृद्धिको खाका कोरिएको जानकारी दिए । अध्यक्ष राईले प्राथमिकता र आवश्यकताका आधारमा समृद्धिको गन्तव्यमा पालिकालाई पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे । 

 

पुरै गाउँपालिकालाई पोषणमैत्री घोषणा गर्न बालबालिकालाई अनिवार्य विद्यालय पठाएर गुणस्तरीय शिक्षा दिएको हुनुपर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकीमा निशूल्क र गुणस्तरीय उपचार र पोषण सेवा सुनिश्चित हुनुपर्ने, गर्भवती, सुत्केरी महिला र बालबालिकालाई पोषण प्रोत्साहन र पोसिलो खाना उपलब्ध गराउनुपर्ने, २ वर्ष मुनिका बालबालिकाको वृद्धि अनुगमन प्रभावकारी बनाउन बाल पोषण अनुदान वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने सूचकहरू रहेका छन्।

 

त्यसैगरी सुरक्षित खानेपानी र सरसफाई व्यवस्था सुनिश्चित, पूर्ण सरसफाई अभियान, विभिन्न तहका प्रतिवद्धता, कार्य योजना र समन्वय संयन्त्रको सुनिश्चित, सहयोगी निकायबाट प्राप्त हुने सहयोग मूल प्रवाहीकरणमा ल्याएर कार्यान्वयन तथा प्रभावकारी अनुगमन, सबै स्तरमा बहु क्षेत्रीय पोषण योजना तर्जुमा र प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिताको सुनिश्चिततालगायत सूचकहरू पुरा भएको हुनुपर्ने छ । त्यसैगरी समाजमा विद्यमान बालविवाह र छुवाछुत तथा जातीय भेदभावजस्ता गलत संस्कार संस्कृतिको अन्त्य गर्न ठोस नियम र कार्यनीति बनाई कार्यान्वयन गर्ने, स्वस्थ्य, सफा र पोषणमैत्री घर, गाउँ, टोल र वडा अभियान सञ्चालन गर्दै आउँदो ४ वर्षभित्र गाउँपालिकालाई पोषणमैत्री स्थानीयतह घोषणा गरिने बताइएको छ । 

 

पोषणमैत्री स्थानीय तह, वडा, टोल भएको अवस्थामा विभिन्न अनुदानहरु प्राप्त हुने बताईएको छ । गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राईलगायतको विशेष आतिथ्य रहेको कार्यक्रममा वडाध्यक्ष, सदस्यहरु, पत्रकार तथा स्थानीय नागरिकहरुको उल्लेख्य सहभागिता थियो ।