'लालसेर राई स्मृति २३ औँ मेयरकप' गाईघाटले जित्यो 

२0८0 असार १६ शनिबार
'लालसेर राई स्मृति २३ औँ मेयरकप' गाईघाटले जित्यो 

उदयपुर, असार १६

गाईघाटमा सम्पन्न ‘लालशेर राई स्मृति २३ औँ मेयरकप फुटबल प्रतियोगिता २०८०’ त्रियुगा नगरपालिका ११ गाईघाटले जितेको छ । शनिबार भएको फाईनलमा गाईघाटले वडा नं. २ खैजनपुरलाई ५–१ गोलले हराउँदै उपाधि जितेको हो । 


गाईघाट खेलाडी सुनिल खड्का एक्लैले ह्याट्रिक गरे भने अन्य खेलाडीहरु सरोज राउत र दिवश श्रेष्ठले २ गोल थपेका थिए । खेल सुरु भएको छैठौँ मिनटमै खड्काले पहिलो गोल गरेर टिमलाई अगाडि बढाएका थिए । १८ औँ मिनटमा दोस्रो गोल गर्न सफल भएका खड्काले खेलको अन्तिम ७० औँ मिनटमा तेस्रो गोलमार्फत ह्याट्रिक गरेका थिए । 


२२ औँ मिनटमा गाईघाटकै अर्का खेलाडी सरोजले तेस्रो गोल गर्दा मध्यान्तरपछि ५८ औँ मिनटमा दिवशले चौथो गोल गरेका थिए । खैजनपुरका देवराज चौधरीले ३८ औँ मिनटमा १ गोल गरे मात्र गरेर टिमलाई निल हुनबाट बचाएको छ ।  फाईनल खेलको म्यान अफ द म्याच २ न. खैजनपुरका देवराज चौधरी घोषित भए । उनले पुरस्कार स्वरुप १ हजार नगद र प्रमाणपत्र प्राप्त गरे । 


गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा सम्पन्न प्रतियोगिता गत ९ गतेबाट सुरु भएको थियो । विजेता गाईघाटलाई ५० हजार नगद, ट्रफि र प्रमाणपत्र तथा उपविजेतालाई ३० हजार नगद र प्रमाणपत्र नगरप्रमुख बसन्त बस्नेतले प्रदान गरे ।     रंगशालामै आयोजित समापन समारोहमा मेयर बस्नेतले विजेता र उपविजेता टिमका खेलाडीहरुलाई नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरेका हुन् । 


प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडीको उपाधि गाईघाटका आयुव राईले पाए । बेस्ट किपरको उपाधि ११ कै सन्दिप राई भए भने ११ कै प्रमिल श्रेष्ठ बेस्ट डिफेन्स भए । हाई स्कोरको उपाधि ११ कै सुनिल खड्काले पाउँदा २ नं. का देवराज चौधरीले बेस्ट डिफेन्सको उपाधि पाए । गाईघाटकै अरुण राई बेस्ट कोचको उपाधिबाट पुरस्कृत भए । विधागत खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार र अन्य विधागतत उपाधि विजेता खेलाडीहरुलाई जनही २ हजारका दरले पुरस्कार प्रदान गरियो । 


त्रियुगाका संस्थापक नगरप्रमुख स्वर्गीय लालशेर राईको २३ औँ स्मृति दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो । त्रियुगा नगर खेलकुद विकास समितिको संयोजन, नगरपालिकाको प्रायोजन र एन्फा उदयपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा त्रियुगाका १६ मध्ये १४ वटा वडाका खेलाडी समूहको सहभागिता रहेको आयोजक एन्फा उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताए ।