धान दिवस उदयपुृरमा पनि मनाइयो 

२0८0 असार १५ शुक्रबार
धान दिवस उदयपुृरमा पनि मनाइयो 

गाईघाट, असार १५

शुक्रबार २० औँ राष्ट्रिय धान दिवस उदयपुरमा पनि बिभिन्न कार्यक्रम गरि मनाइयो । ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा सामुहिक रोपाई महोत्सव आयोजना गरियो । 


त्रियुगा नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा भएको रोपाई महोत्सव कृषि ज्ञान केन्द्र उदयपुृर, महिला पुनस्र्थापना केन्द्र (ओरेक), वल्र्डभिजन नेपाल, जनहित कृषि सहकारी संस्था त्रिनपा ८, मानव अधिकार र वातावरण विकास केन्द्र, विकास सहजिकरण सञ्जाल उदयपुर, हातेमालो प्रगति समाज, त्रिनपा ८ बाघचौरी
लगायतको साझेदारी रहेको थियो । 


त्रियुगा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईसहितको उपस्थितिमा आयोजित रोपाई महोत्सवमा जनप्रतिनिधिसहित बिभिन्न कार्यालयका कर्मचारी र सर्वसाधारण महिला पुरुषको सहभागिता थियो । कार्यक्रममा बोल्दै मेयर बस्नेतले कृषकहरुको उत्थान र विकासका लागि नगरपालिकाले व्यवसायिक कृषकहरुलाई अनुदानमा कृषि उपकरणहरु प्रदान गर्ने गरेको बताए । उनले भर्खरै मात्र राजाबासका किसानहरुका लागि २ वटा ट्याक्टर अनुदानमा प्रदान गरेको भन्दै त्यसको भरपुर उपयोग गरेर अन्न उब्जाउन आग्रह गरे । 


मेयर बस्नेतले ट्याक्टरलगायत कृषि यन्त्र उपकरणहरुको प्रयोग गर्दा छिटो छरितो कृषि कार्य हुने भएकाले धेरैभन्दा धेरै जमिन मिलाएर चक्लाबन्दी खेती गर्न आवश्यक रहेको भन्दै त्यसो गर्न सके उत्पादन बढाउन सकिने बताए । उत्पादनमा लागत कुम तर, उत्पादन बढी हुने खालका कृषि कार्यमा लाग्न मेयर बस्नेतको आग्रह थियो । 


३/४ दशकअघिसम्म उदयपुृरबाट खाद्यान्न निकासी हुने गरेको स्मरण गर्दै मेयर बस्नेतले अहिले धेरैजसो खाद्यान्न आयात गर्नु परेको हुनाले आयात प्रतिष्ठापन गर्ने गरी कृषि व्यवसायमा लाग्नुपर्ने खाँचो औँल्याए । उदयपरमा कृषि उत्पादन बढाउन सके निर्यात गर्न कुनै समस्या नहुने बताए । उनले उदयपुरमा मदन भणडरी लोकमार्ग र सगरमाथा लोकमार्ग जोडिएको तथा पूर्वपश्चिम लोकमार्ग पनि नजिकै रहेकाले जतिसुकै कृषि उपज उत्पादन भए पनि निकासी र बजारीकरणको कुनै समस्या नभएको बताए ।