उदयपुरगढी-नेपालटार जोड्ने सडक कालोपत्रे हुने

२0८0 असार १४ बिहीबार
उदयपुरगढी-नेपालटार जोड्ने सडक कालोपत्रे  हुने

उदयपुर, असार १४

उदयपुरगढी गाउँपालिका जाने नेपालटारदेखि गढीसम्मको सडक कालोपत्रे हुने भउको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०÷८१ को नीति कार्यक्रमै समेटेर आवश्यक बजेट निनियोजन गरेसँगै सो सडक लाकोपत्रे हुने निश्चित भएको हो । 


गत १० गते समपन्न गाउँपालिकाको १३ औँ गाउँसभाले नेपालटारदेखि उदयपुरगढीसम्मको ९ किलोमिटर लामो उक्त सडक कालोपत्रे गर्ने निर्णय भएको हो । गाउँसभामा प्रस्तुत भई पारित भएको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटले सो कुराको सुनिश्चित गरेको हो । ८० करोड ८० करोड २७ लाख ४४ हजार ५ सय रुपैँयाको बजेटमा सो सडक पनि कालोपत्रे गर्ने उल्लेख भएको गाउँपालिका अध्यक्ष रमेश राईले बताए । 


अधिकृत राईका अनुसार अध्यक्ष मानबहादुर केप्छाकी मगरले गाउँसभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिकासम्म आउजाउ गर्न सहज बनाउने उदेश्यले संघ र प्रदेश सरकारसँग गाउँपालिकाले साझेदारीमा सो सडक कालोपत्रे गर्न लागिएको हो । जसका लागि संघ र प्रदेश सरकारले समपुरक बजेट लगाउने भएका छन् भने गाउँपालिकाले आवश्यक साझेदारीवापत रकम विनियोजन गरेको छ । 

गाउँसभामा उपाध्यक्ष जीतबहादुर खड्काले प्रस्तुत गरी पारित अनुमानित वार्षिक आयव्यय अनुृसार कुल बजेटको ३२.२६ प्रतिशत हिस्सा गाउँपालिकाले पुँजीगत योजनामा खर्च गर्नेछ भने ६७.६४ प्रतिशत चालुतर्फ लगानी गर्ने गरी विनियोजन गरेको छ । अधिकृत राईका अनुसार गाउँसभाले पुँजीगतर्फ २५ करोड ९० लाख २९ हजार विनियोजन गरेको छ भने चालुतर्फ ५४ करोड ३७ लाख १५ हजार ५ सय छुट्याइएको छ । 


गाउँसभाले आर्थिक ऐन् २०८० र विनियोजन ऐन २०८० समेत स्वीकृत गरेको विज्ञप्तीमा उल्लेख छ । आगामी वर्षको बजेटमा गाउँसभाले साना टुक्रे योजनालाई प्राथमिक्ताबाहरि राख्दै दीर्घकालीन र उपलब्धीमूलक योजनालाई मात्र बढी स्थान दिएर बजेट बाँडफाँड गरेको छ । कनिका छरेजस्तो ससाना टुक्रे योजनाका कार्यक्रममा जनताले खासै विकासको अनुभूति गर्न नसक्ने भएकाले उपलब्धी र प्रभावकारी नीति कार्यक्रमको कार्यान्वयन गर्न गराउन दीर्घकालीन उपलब्धीका योजनाहरुलाई प्राथमिक्ता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईले बताए । 


विगत वर्षहरुमा थुप्रै टुक्रे योजनाहरु सञ्चालन गरिए पनि त्यसको खासै प्रभावकारिता नदेखिएको अनुभवलाई सँगाल्दै आगामी वर्षको बजेटमा ठूला योजनाहरुलाई प्राथमिक्ता दिएर बजेट विनियोजन गरिएको राईले बताए । ‘विगत वर्षहरुको अनुभवमा टुक्रे योजनाहरु संख्यामा धेरै भए पनि प्रभावकारी र दीर्घकालीन उपलब्धीमूलक देखिएनन्’ प्रमुख प्रशासकीय अधिकृत राईले भने ‘त्यसैले आगामी वर्षको योजना छनौट गर्दा वडास्तरबाटै दीर्घकालीन उपलब्धी देखिने खालका योजना ल्याउन लगाइएको हो ।’


गाउँसभाले जिल्लाको सबभन्दा पुरानो उदयपुरगढी–नेपालटार खण्डको सडकलाई स्तरोन्नति कालोपत्रे गर्न बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष मगरले गढीदेखि नेपालटारसम्म मदन भण्डारी लोकमार्गसँग जोड्ने ९ किलोमिटर सडकको स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि १ करोड बजेट विनियोजन गरिएको बताए । उनका अनुसार सो सडक कालोपत्रे गर्न संघ र प्रदेश सरकारले समपूरक अनुदान १ करोड ७० लाख बजेटको सुनिश्चित गरेका छन् । 


संघीय सरकारले १ करोड र प्रदेश सरकारले ७० लाख दिने भए पछि गाउँपालिकाले साझेदारीमा लागत सहभागिता जनाउन १ करोड बजेट छ्ट्याएको अध्यक्ष मगरले बताए । प्रदेश र संघको बजेटमा गाउँपालिकाको साझेदारीबाट ३ करोड बजेटले क्रमागत योजना अन्तर्गत सडकको स्तरोन्नति कालोपत्रे गर्ने गाउँसभाले निर्णय गरेको मगरले बताए । 


सदरमुकाम हुँदा २०२९ सालमै गढीमा जीप पुगेको थियो । गाईघाटमा सदरमुकाम सरेसँगै सम्पूर्ण सरकारी कार्यालयहरु बिस्थापित भएपछि बढ्दो बसाईसराईले आबादी पातलिदा गढी क्षेत्र खण्डहर बन्न पुगेको थियो । तर, ०७३ सालमा स्थानीयतह पुनर्संरचना भएपछि गाउँपालिका केन्द्र कायम गरेसँगै गढी क्षेत्र पुनः गुल्जार बन्दै गएको छ । पुरानो सदरमुकाम भएकाले मन्दिर, देवल तथा धार्मिक तथा ऐतिहासिक संरचनाहरु रहेको गढी क्षेत्रमा कक्षा १२ सम्मको माध्यमिक विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, हुलाक कार्यालय यथावत छन् । 


०७४ को चुनावपछि गाउँपालिकाले त्यहाँ पुरानोगढीको पुनरसंरचना र पुननिर्माण गर्दै पर्यटकीयस्थल बनाउने योजना अघि बढाएको छ । साथै गढीमै भ्युटावर निर्माण गर्नुका सथौ ८ वटै वडासँग सडक यातायातको सञ्जाल जोडिदै गएपछि आउजाउ बाक्लो हुने भए पनि गढीसम्म पुग्ने सडक भने कच्ची र साँघुरो भएकाले आउजाउको समस्या दीर्घकालीन रुपमा टार्न क्रमागत योजना अन्तर्गत भए पनि कालोपत्रे गर्न लागिएको हो । सुनसरी–चतरा गाईघाट कटारी हुँदै हेटौँडा जोड्ने निर्माणाधीन गौरवको आयोजना मानिएको मदन भण्डारी लोकमार्गले छोएको वडा नं. ६ को नेपाटारदेखि उदयपरगढीसम्म सडकको दूरी ९ किलो मिटर लम्बाईको छ । 


स्थानीय राजनीतिक अगुवा बोधकुमार घिमिरेका अनुसार गढीमा गाडी पुर्याउन पुरानो सदरमुकाम हुँदा जनताले कोदालो र झम्पलको सहायताले श्रमदानमा ४ मिटर चौडाईको १८ किलोमिटर सडक ०२३ सालमै खनेका थिए ।