८३ करोड ८६ लाख ६८ हजारको बजेट कटारी नगरहभाबाट पारित

२0८0 असार १४ बिहीबार
८३ करोड ८६ लाख ६८ हजारको बजेट कटारी नगरहभाबाट पारित

उदयपुर, असार १३

उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०÷८१ का लागि झण्डै ८४ करोड रुपैँयाको अनुमानित बजेट पारित गरेको छ । गत १० गते ‘११ औँ नगरसभा’मा प्रस्तुत ८३ करोड ८६ लाख ६८ हजार ५ सय रुपैँयाको अनुमानित वार्षिक आयव्यय २ दिनसम्म छलफल र बहस गर्दै नगरसभाले पारित गरेको हो ।  


‘सुन्दर कटारी नगरको पहिचान, सुशासन र समृद्धि हाम्रो पहिचान’ भन्ने नाराका साथ आफ्नै सभाकक्षमा आयोजित नगरसभा अधिवेशनमा उपप्रमुख गीता खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटबारे नगरसभा सदस्यहरुले व्यापक छलफल र वहस गर्दै पारित गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताए । उनका अन्ुसार अनुमानित बजेटमा आगामी वर्ष नगरपालिकाले आन्तरिक आय ५ करोड ५५ लाख १८ हजार ५ सय गर्ने प्रक्षेपण गरिएको छ भने स्थानीय राजश्ववापत १ करोड ८७ लाख रुपैँया संकलन हुने अपेक्षा गरिएको छ । 


नगरसभाले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ९७ लाख, सशर्त ४२ करोड ७४ लाख, राजश्व बाँडफाँड १५ करोड ६० लाख प्रापत हुने प्रक्षेपण गर्दा संघबाटै आउने समपुरक अनुदान १ करोड ७५ लाख र विशेष अनुदान ७६ लाख आमदानी हुने बिवरण बजेटमा उल्लेख छ । त्यसैगरी प्रदेशतर्फको अनुदान समानीकरण ६६ लाख ३४ हजार, सशर्त ५२ लाख ६१ हजार, समपुरक १ करोड ३० लाख र प्रदेश राजश्व बाँडफाँड २ करोड १३ लाख ७६ हजार प्राप्त हुने प्रक्षेपण बजेटमा गरिएको छ । 


कटारीलाई संघ र प्रदेश सरकारले ४३ करोड २५ लाख ६१ हजार रुपैँया अनुदान दिने गरी तोकेको सिलिङभित्र रहेर बजेट विनियोजन गरेको छ भने ४० करोड ६१ लाख १७ हजार ५ सय विषयगत समितितर्फ छुट्याएको छ । विषयगत समितितर्फ नगरसभाले सबभन्दा बढी बजेट सुशासन तथा संस्थागत विकासतर्फ छुट्याएको छ भने सबभन्दा थोरै वन, वातावरण र विपत व्यवस्थापनतर्फ विनियोजन गरेको छ । सुशासन तथा संस्थागत विकासका लागि २६ करोड १९ लाख ६७ हजार ५ सय छु्ट्याएको नगरसभाले वन, वातावरण र विपत व्यवस्थापन समितिलाई ६४ लाख विनियोजन गरेको छ । त्यसैगरी आर्थिक समितिलाई १ करोड ४२ लाख, सामाजिक विकास समितिलाई ४ करोड ८७ लाख ५० हजार र भौतिक पूर्वाधार समितिलाई ७ करोड ४८ लाख विनियोजन गरेको छ । 


उपप्रमुख खड्काले बजेटसँगै प्रस्तुत गरेको नगरपालिकाका ५ क्षेत्र र १५ उपक्षेत्रभित्र समेटिएका विभिन्न १ सय वटा नीति तथा कार्यक्रम पनि नगरसभाले पारित गरेको छ । नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने सिलसिलामा चालु आर्थिकवर्षको जेठ मसान्तसम्मको खर्च विवरणको यथार्थ समीक्षा पनि उपमेयर खड्काले गरेकी छिन् । जस अनुसार चालु वर्ष ३ करोड ८३ लाख ६० हजार आन्तरिक आमदानी गर्ने प्रक्षेपण गरिएकोमा जेठ मसान्तसम्म २ करोड ६८ लाख ३२ हजार ५ सय ५६ रुपैँया संकलन भईसकेको छ । नगरको गतवर्षको अल्या पनि ४ करोड ४१ लाख २० हजार ८ सय २८ रुपैँया रहेको समीक्षा पनि उनले गरेकी छिन् ।


नगरपालिकाले गत जेठसम्म ५४ करोड २९ लाख २ हजार ३ सय ५१ खर्च गरिसकेको यथार्थ चित्रण उल्लेख रहेको समीक्षा बिवरण अनुसार आन्तरिक स्रोत ३ करोड ७० लाख ९४ हजार ७ सय ८ रुपैँया २३ पैसा खर्च भएको छ । संघीय सशर्त अनुदान ३० करोड ६ लाख ८ हजार १ सय १७ खर्च हुँदा समानीकरण ८ करोड ७६ लाख ७५ हजार २ सय ९९ रुपैँया खर्च भएको छ । त्यस्तै, राजश्व बाँडफाँड ९ करोड ३४ लाख २० हजार ९ सय ७७ र समपुरक अनुदान ७२ लाख ८ हजार ३ सय ८८ रुपैँया खर्च भईसकेको छ । प्रदेशतर्फको अनुदान रकम सशर्त २२ लाख ९३ हजार १ सय ९१, समानीकरण ४० लाख २७ हजार ५ सय ८४, राजश्व बाँडफाँड ८३ लाख १४ हजार ८ सय ९५, समपुरक २१ लाख ९ हजार १ सय ९१ खर्च भएको समीक्षा बिवरणमा उल्लेख छ । 


प्रमुख प्रशासकीय अधिकृत किरातीको सञ्चालनमा सम्पन्न नगरसभामा ५ वटै विषयत समितिका संयोजकहरुले आआफ्नो विषयगत समितिको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । नगरसभा अध्यक्ष नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट तमाम कटारी नगरबासीको हकहित र विकास सहभागितामा केन्द्रित भएर जनप्रतिनिधि र कर्मचारी समूहले मेहनेतका साथ बनाएको बताए । विगत वर्षहरुको अनुभव, बर्तमानको आवश्यक्ता र भविष्यको समग्र विकास खाकालाई मध्येनजर गर्दै निर्माण गरेको बजेट तथा नीति कार्यक्रमलाई थप छलफल, सुझाव र सल्लाहका साथ पारित गरिदिएकोमा सम्पूर्ण नगरसभा सदस्य, विषयगत समिति, शाखा प्रमुख कर्मचारीप्रति मेयर श्रेष्ठले आभार व्यक्त गरेका थिए ।