ताप्लीमा भलिबल: डेढलाख राशीको पुरस्कारसहितको उपाधि दमकको कब्जामा 

२0८0 जेष्ठ ३२ बिहीबार
ताप्लीमा भलिबल: डेढलाख राशीको पुरस्कारसहितको उपाधि दमकको कब्जामा 

उदयपुर, जेठ ३३

ताप्ली गाउँपालिकालको आयोजनमा सम्पन्न ‘अन्तर गाउँपालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता ०८०’को उपाधि झापाको दमक नगपालिकाले कब्जा गरेको छ । गत २९गते सुरु भएर बुधबार साँझ सम्पन्न प्रतियोगितामा घरेलु टिम ताप्लीलाई हराउँदै १ लाख ५१ हजार १ सय ११ रुपैँया राशीसहितको प्रतियोगिताको उपाधि दमकले हात पारेको हो । 


५ नं. वडा रुपाटारको सुनकोसी युवा क्लबको खेल मैदानमा सम्पन्न प्रतियोगितामा उृपविजेता आयोजक रुपाटार भएको छ भने तेस्रो स्थान खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ओगटेको छ । विजेताले नगदसहित सिल्ड र प्रमाणपत्र पाउँदा उपविजेता घरेलु टिम ताप्लीले १ लाख १ हजार १ सय ११ पाएको छ । त्यस्तै तृतीय स्थान पाउने हलेसी तुवाचुङले ५१ हजार १ सय ११ हजार नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । 

 


गाउँपालिकाको प्रायोजन र गाउँ युवा तथा खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई गाउँपालिका अध्यक्ष ढुंगराज विक, उपाध्यक्ष धना मगर र प्रमुख प्रशासकीय अधिकृत भक्त राईले नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । ताप्लीको खेलकुद इतिहासमा यो सबभन्दा ठूलो धनराशीको प्रतियोगिता भएको आयोजक गाउँ युवा तथा खेलकुद विकास समितिका अध्यक्ष शैलेन्द्र राईले बताए । उनका अनुसार प्रतियोगितामा झापाको दमक र खोटाङको हलेसी तुवाचुङसँगै उदयपुरको त्रियुगा नगरपालिका तथा आयोजक गाउँपालिका ताप्लीका विभिन्न वडाका ३ समूहको सहभागिता थियो ।  


पुरस्कार वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विकले वर्षायाम सुरु भईसकेकाले बद्लिदो मौसम, कृषि कर्ममा व्यस्त हुनु पर्ने साथै सडक पहुँचको समस्याले गर्दा प्रतियोगितामा अपेक्षाकृत सहभागी टिम कम भएको बताए । हरेक वर्ष गाउँपालिकामा यस्तो प्रतियोगिता हुदै आएको तर, यसवर्ष विगतभन्दा फरक तरिकाले सञ्चालन गर्न कार्यविधि बनाउँनु पर्दा समय लागेर केही ढिला हुन गएको उनको भनाई थियो । 

 

अध्यक्ष विकले आगामी वर्षदेखि समयमै प्रतियोगिता गराउने प्रतिबद्धता जनाउँदै खेलको माध्यमबाट गाउँपालिकाबासी युवायुवतिहरुलाई अनुशासित, स्वस्थ्य र समाजप्रति उत्तरदायी बनाउन वार्षिक कार्ययोजना बनाएर विभिन्न खेलकुद गतिबिधिहरु गर्दै आएको बताए ।