शिक्षक संघ अध्यक्षमा राउत, संस्थापनपक्ष बहुमतमा 

२0८0 जेष्ठ २९ सोमबार
शिक्षक संघ अध्यक्षमा राउत, संस्थापनपक्ष बहुमतमा 

उदयपुर, जेठ २९

नेपाली काँग्रेसनिकट शिक्षक संघ उदयपुरको ‘नवौँ अधिवेशन’ले चुनावी प्रक्रियामार्फत कार्यसमिति चयन गरेको छ । संस्थापन र इतरबीच बिबादले सुरु भएको ३ महिनापछि सम्पन्न भएको अधिवेशनले रामबहादुर राउतको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

 


शनिबार सम्पन्न मतदान परिणाम सोमबार सार्वजनिक भए अनुसार अधिवेशनमा राउत ४ सय ६७ मत पाएर अध्यक्ष विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी बाबुराम कार्कीले ४ सय ८ मत पाएका छन् । उनी यसअघिका अध्यक्षसमेत हुन् । महिला उपाध्यक्षमा हीराकुमारी चौधरी ४ सय ८० मत पाएर जितिन् भने अर्का उपाध्यक्षमा भोगनारायण यादव  प्रतिस्पर्धी बमेन्द्र बुर्जाभन्दा २ मत बढी ४ सय ९ मत ल्याएर जितेका छन् । बुर्जालाई ४ सय ७ मत मात्र पाए । महिला उपाध्यक्षमा पराजित कमला सुबेदीलाई ३ सय ९१ मत परेको छ । 


सचिवमा रामप्रसाद ढुंगाना ५ सय ३७ मत पाएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी केवलविक्रम सिंह ठकुरीले ३ सय ४२ मत पाए । अर्थ सचिवमा कर्णबहादुर मगर सर्वाधिक ५ सय ९७ मत पाएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी मिथिलेश्वरी खतिवडाले ३ सय ६८ मत पाएकी छिन् । 


खुल्ला सहसचिवतर्फ ५ सय ३५ मत पाएर उमेश घिमिरेले बाजी मारेका छन् भने  मेघनाथ लुईटेललाई २ सय ९९ मत परेको छ । त्यसैगरी महिला सहसचिवमा ५ सय १० मत पाउँदै रत्ना तामाङ विजयी हुँदा रीता परियारले ३ सय ७६ मत पाएकी छिन् । अर्थ सहसचिवमा ४ सय ९३ मत पाएर प्रतिमा गिरी, समावेशी २ जना सहसचिवमा क्रमशः गोपाल श्रेष्ठ र जसिनारायण चौधरी विजयी भएको मतदान अधिकृत नवीन राईले बताए । राईका अनुसार उनीहरुले क्रमशः ५ सय ४३ र ५ सय ९४ मत पाएका छन् । 


कार्य समिति सदस्यमा जित्ने ७ जनामा खुल्लातर्फ जितबहादुर बस्नेत, देवीचरण भट्टराई, नारायणसिंह ठकुरी र राजकुमार चोधरी छन् । त्यसैगरी महिला सदस्य जित्नेहरु आशा खाँ चौधरी, इश्वरी कार्की र रमिता श्रेष्ठ रहेको राईले बताए । 


अधिवेशनले संघीय महाधिवेशन प्रतिनिधितर्फ सरिता खड्का, रितबहादुर पुलामी मगर, लक्ष्मीप्रसाद कट्टेल र पार्वतीकुमारी राउत निर्विरोध निर्वाचित भएका छन् । 


गएको फागुन २७ गते हुने तय भएको अधिवेशनमा नेतृत्व चयन प्रक्रियामा संस्थापन पक्षको हस्तक्षेप भएको भन्दै तालाबन्दी गरेर रोकिएको अधिवेशन ३ महिनापछि सौहाद्र्रपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन पार्टीले जनाएको छ । जिल्लाभरका १ हजार १ सय ९६ शिक्षक मतदाता रहेको अधिवेशनमा ८१.५५ प्रतिशत अर्थात ९ सय ७८ मत खसेको समितिले जनाएको छ । 


केन्द्रमा सभापति शेरवहादुर र केन्द्रीय सदस्यद्वय कृष्ण सिटौला तथा शेखर कोईरालापक्षको गुट रहेको काँग्रेसको जिल्लामा सभापति हिमाल कार्की र पूर्व सभापति बिदुर बस्नेतबीच प्रष्ट खेमा रहेको छ । यो अधिवेशनले चयन गरेको १० सदस्यीय पदाधिकारीमध्ये अध्यक्ष र महिला उपाध्यक्ष (२ जना) र सदस्यतर्फ खुल्ला २ र महिला १ (३ जना)बाहेक सबै संस्थापनपक्षको कब्जामा परेको छ ।