विद्यालय कर्मचारी आन्दोलित, दोस्रो चरणमा रिले अनसनको तयारी

२0८0 जेष्ठ २७ शनिबार
विद्यालय कर्मचारी आन्दोलित, दोस्रो चरणमा रिले अनसनको तयारी

उदयपुर, जेठ २७


सरकारले आगामी वर्षका लागि संसदमा प्रस्तुत गरको बजेट तथा नीति कार्यक्रमर्ले  सम्बोधन नगरेको भन्दै सामुदायिक विद्यालयका लेखापाल तथा कार्यालय सहयोगीहरुको संगठन ‘विद्यालय कर्मचारी परिषद सातादिनयता निरन्तर आन्दोलित छ । वर्षौँदेखि कार्यरत विद्यालय कर्मचारीको मागप्रति बेवास्ता गर्दै सरकारले वार्षिक नीति तथा कार्यक्रममा नसमेटेको विरोधमा जेठ २१ गतेदेखि आन्दोलित परिषदले निरन्तर धर्ना दिदै आएको छ । 


हालसम्म न्यूनतम बेतन अनुदानमा काम गर्दै आएका विद्यालय कर्मचारीलाई पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्न, तत्काल दरबन्दीमा समायोजन गर्न, १ पटकका लागि स्वतः स्थायी हुने प्रक्रिया मिलाउन, संघीय शिक्षा ऐन जारी हुँदाको बखतसम्म कार्यरतहरूलाई १ पटकका लागि उमेर हद नलाग्ने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । यस्तै ६० वर्ष पुगेका कर्मचारीलाई प्रचलित कानुन बमोजिम शिक्षक सरह सेवा सुविधा उपलब्ध गराई ससम्मान अवकाश दिन, उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुलाई बिदाको व्यवस्था मिलाउन, सन्ततिहरुको वृत्ति विकासको व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ । 


यसअघि भएका आन्दोलन र संघर्षहरुमा सरकारसँग भएका सम्झौता सहमति र सर्वाेच्च अदालतले दिएको निर्देशन कार्यान्वयन गर्न पनि उनीहरुको माग छ । बिभिन्न माग गर्दै विगत वर्षहरुदेखि आन्दोलित कर्मचारी परिषदले सरकारले आफ्ना मागको सुनुवाइ नगरेको भन्दै शिक्षा विकास तथा समन्वय इकाई उदयपुरको प्रांगणमा धर्ना बस्दै आएको छ । धर्ना बस्नुअघि गाईघाट बजारबाट निस्केको र्यालीले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै  शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत अगाडि पुगेर धर्ना दिएको थियो ।


विगतमा पनि पटक पटक मागहरु प्रस्तुत गर्दै सरकारको ध्यानाकर्षण गराउँदा सरकारले माग पुरा गराउने आश्वासन दिदै सम्झौता गरेको तर कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरू आन्दोलित हुनु परेको परिषदले जनाएको छ । जेठ २१ देखि २६ गते शुक्रबारसम्म पहिलो चरणमा धर्ना बसेका कर्मचारीहरुले दोस्रो चरणको आन्दोलनका लागि विद्यालयको तालाचावी प्रधानाध्यापकलाई सुम्पेर आन्दोलनमा उत्रिएको बताएका छन् । 


परिषद केन्द्रीय समितिको निर्देशन अनुसार २१ गतदेखि धर्ना बस्दै आएको परिषदले २८ देखि असार १ गतेसम्म दोस्रो चरणमा काठमाडौंस्थित भद्रकालीमा रिले अनसन बस्ने कार्यक्रम तय गरेको छ । अनसन बस्नुअघि चम्चाले थाल ठटाउँदै र्याली निकाल्ने कार्यक्रम रहेको परिसद्ले जनाएको छ । तेस्रो चरणको आन्दोलन गर्दा पनि माग पुरा नगरे असार २ गतेदेखि सबै सामुदायिक विद्यालय बन्द गरिदिने चेतावनी परिषदले दिएको छ ।