गर्मीले रौतामाईका विद्यालयलाई पनि विदा

२0८0 जेष्ठ २५ बिहीबार
गर्मीले रौतामाईका विद्यालयलाई पनि विदा


सातादिनयता अत्याधिक बढेको गर्मीले पहाडी भेगका विद्यालयहरु पनि प्रभावित भएका छन् । गर्मी अत्याधिक बढेका कारण तराई भेगका स्थानीयतहहरुले विदा थपिरहेको बेला पहाडी गाउँपालिकाले पनि विद्यालयलाई पनि विदा दिइएको छ । 


पहाडी भेगको रौतामाई गाउँपालिकाले गर्मीबाट बालबालिकाहरुलाई बचाउन विहीबारदेखि सोमबारसम्म ४ दिन विदा दिने निर्णय गरेको छ । प्रचण्ड गर्मीका कारण बालबालिकालाई पठन पाठन गर्न कठिनाई भएको हुनाले कार्यपालिकाबाट निर्णय गरेरै ४ दिन विदा दिइएको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताए । उनका अनुसार पछि दिइने गर्मी विदासँग समायोजन गर्नेगरी हाललाई विदा दिने निर्णय गरिएको हो । 


गर्मीले जनजीवन अस्तव्यस्त बनाउन थालेपछि बालबालिकाको स्वास्थ्यप्रति मध्येनजर राख्दै केहीदिन विद्यालय सञ्चालन नगर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले जारी गरेको सूचनामा उल्लेख छ । सूचना अनुसार विहीबारदेखि आउँदो सोमबारसम्म सबै विद्यालयलाई गर्मी विदा दिइएको छ । 


अहिलेसम्म सदरमुकाम गाईघाटलगायत तराई भेगका विद्यालयलाई मात्र गर्मी विदा दिइएको थियो । सातादिनयता त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाभित्रका विद्यालहरु विदा दिइएको थियो । सुरुमा ३ दिन विदा दिइएकोमा गर्मी झन्झन् बढ्दै गएपछि शुक्रबारसम्म विदा थपिएको छ । तराईका विद्यालयमा विदा दिइए पनि पहाडी भेगमा विदा नदिइएकोमा अचाक्ली गर्मी बढेपछि विदा दिनु परेको अधिकृत बस्नेतले जारी गरेको सूचनामा जनाइएको छ । 


सातादिनयता अत्याधिक गर्मी बढेपछि पठनपाठन गर्न गराउन नसक्ने भन्दै तराई भेगका स्थानीय सरकारहरुले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा २ दिन विदा दिएका थिए । तर, अझै गर्मी कम नभएपछि थप विदा दिने निर्णय गरेका हुन् । अत्याधिक गर्मी बढेर बालबालिकाहरु कक्षाकोठामै बेहोस् हुन थालेपछि त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरु सुरुमा जेठ २१ देखि २३ गतेसम्म र पछि २७ गतेसम्म विदा थपेका छन् ।