गर्मी नघटेपछि स्कुलहरु चल्न सकेनन्

२0८0 जेष्ठ २४ बुधबार
गर्मी नघटेपछि स्कुलहरु चल्न सकेनन्

गर्मी नघटेपछि उदयपुरका विद्यालयहरु थप विदा
उदयपुर, जेठ २४

सातादिनयता अचाक्ली गर्मी बढेपछि २ दिन बिदा दिइएको उदयपुृरका विद्यालयलाई थप बिदा दिइएको छ । गर्मी अत्याधिक बढेपछि जिल्लाका त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाले २ दिन विद्यालयको पठनपाठन रोक्ने सूचना जारी गरेको थियो । 

 


स्थानीय सरकारहरुले आईतबार र सोमबार विद्यालयको पठनपाठन रोक्नेगरी विदा दिएकोमा गर्मी घट्नुको साटो बढेपछि विदा थप्ने निर्णय भएको हो । त्रियुगा नगरपालिकाले १६ वटै वडाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा आईतबार र सोमबार २ दिन विदा दिने निर्णय गरेको सू्रचना शुक्रबार दिएको थियो । तर, गर्मी घट्नुको साटो बढ्दै गएपछि मंगलबार र बुधबार पनि विदा दिने निर्णय गर्यो । तर, बुधबारसम्म पनि गर्मी २० को १९ नभएपछि शुक्रबासम्म विदा दिने निर्णय गरेको छ । सातादिनयता बढेको गर्मी झन् झन् बढ्दै गएकाले आउँदो शुक्रबासम्म विदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ । 


नगरपालिकाले अत्याधिक गर्मीका कारण पठनपाठन गर्न गराउन नसक्ने स्थिति सिर्जना भएकाले विदा दिने निर्णय गरेको जनाएको छ । त्रियुगा नगरपालिका शिक्षा शाखा अधिकृत शिवकुमारी राउतले जारी गरेको सूचना अनुसार नगरपालिकाले विदा दिएको अवस्थामा पनि आफुखुसी स्कुल सञ्चालन गर्ने तथा कोचिङ कक्षा चलाएको पाइएकाले यदि कुनै पनि किसिमको अकल्पनीय घट्ना भएमा त्यस्ता विद्यालयहरु आफै जिम्मेबार हुनुपर्ने चेतावनीसमेत दिइएको छ ।  


त्रियुगा नगरपले अत्याधिक गर्मी बढेपछि बालबालिकाहरु पढ्नै नसक्ने अवस्था भएकाले सामुदायिक तथा संस्थागत विद्यालयहरु सबै जेठ २१ देखि २३ गतेसम्म विदा दिने निर्णय गरेको थियो । तर, सुरुमा दिइएको २ दिनको विदापछि पनि गर्मी नघटेको हुनाले फुन २६ गतेसममका लागि विदा दिने निर्णय भएको राउतको सूचनामा उल्लेख छ । सूचनामा सो विदा आगामी वर्षे विदासँग मिलान गर्नेगरी दिइएको उल्लेख छ ।


जिल्लाका चौदण्डीगढी र बेलका नगरपालिकाले पनि सूचना जारी गरी विदा दिने निर्णय गरेका छन् । उदयपुरमा सातादिनयता अत्याधिक गर्मी बढेको छ । लामो समयदेखि पानी नपरेपछि बढ्दै गएको गर्मी विहान २७ डिग्रीदेखि सुरु भएर मध्यान्ह ४१ डिग्री हुँदै साँझ २९ डिग्री सेल्सीयससम्म हुने गरेकाले जनजीवन अत्यन्त प्रभावित भईरहेको छ ।