साकेलामा बहुक्षेत्रीय पोषण कार्यक्रमः कृषक महिलालाई गाउँपालिकाको वीउपूँजी रकम

२0८0 जेष्ठ १७ बुधबार
साकेलामा बहुक्षेत्रीय पोषण कार्यक्रमः कृषक महिलालाई गाउँपालिकाको वीउपूँजी रकम

उदयपुर, जेठ १५

खोटाङको साकेला गाउँपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्ने महिला कृषक समूहमा संलग्नहरुलाई वीउपूँजीवापत अनुदान रकम वितरण गरेको छ । गाउँपालिकामा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत समूहमा आबद्ध महिलालाई रकम हस्तान्तरण गरिएको हो । 

 

सोमबार गाउँपालिका केन्द्र मानेभन्ज्याङमा आयोजित एक कार्यक्रममा समूहमा संलग्न महिलाहरुलाई गाउँपालिका अध्यक्ष रविप्रकाश राईले रकम हस्तान्तरण गरे । विभिन्न कृषक समूहमा आबद्ध महिलाहरुका लागि अध्यक्ष राईले एकमुष्ट ६ लाख २५ हजार रुपैँया साकेला ४ स्थित समावेशी महिला कृषक समूह, मात्तिमकी अध्यक्ष सरीता राईलाई हस्तान्तरण गरे । उक्त रकम समूहमा आवद्ध २५ जना महिला कृषकलाई जनही २५ हजारका दरले वितरण गर्नुपर्ने प्रावधान बनाइएको छ । 


म्हिलाहरुलाई आफ्नै गाउँघरमा कृषिसम्बन्धी उद्यम व्यवसाय कार्यमा खर्च गर्न  वीउपूँजीका लागि अनुदानस्वरुपप उपलब्ध गराइएको हो । सो अनुदान रकम महिलाहरुले बाख्रा, कुखुरा, भैँसी, गाईजस्ता पशुपालन गर्न तथा फलफुल तथा तरकारी खेतीमा  व्यवसायिक लगानी गर्न खर्चनुपर्ने छ । उनीहरुलाई सो विउपुँजी रकम लगानी गरेर बृद्धि गर्दै सफल, आत्मनिर्भर आयआर्जनमुखी बन्न प्रोत्साहनका लागि वितरण गरिएको अध्यक्ष राईले बताए । अध्यक्ष राईले समूहले प्राप्त गरेको रकमको सदुपयोग गर्दै आफु, परिवार र समाजलाई समृद्ध बनाउन महिलाहरुलाई आग्रह गरे । 


महिला दिदीवहिनीहरु परिवार र समाजका लागि पहिलो व्यक्ति भएको भन्दै उनले उनले परिवार र समाजलाई स्वस्थ्य र सुखी बनाउन र राष्ट्रलाई समृद्ध बनाउन महिलाहरु नै संवेदनशिल भएर अघि बढ्नुपर्ने खाँचो पनि औँल्याए । महिलाहरु इमान्दार र बफादार भएर आफु र समूहलाई अघि बढाएको खण्डमा गाउँ समाज बन्न धेरै समय नलाग्ने उनको भनाई थियो । आफ्नो गाउँटोलको कुनै पनि विकास निर्माण कार्यमा राजनीतिक आस्था, जाति, समुदाय र भूगोलको आधारमा कसैले कसैमाथि भेदभाव गर्न नहुने भन्दै त्यसो गरेको पाइए त्यो दण्डनीय हुने अध्यक्ष राईले बताए । 


त्यस्तो गतिबिधिले नागरिक समाज विभाजित र विवादित हुने भएकाले त्यस्तो कार्य कतै भएको पाइए गाउँपालिकालाई मान्य नहुने भन्दै खुलेर विरोध गर्न पनि अध्यक्ष राईले स्थानीयवासीलाई आग्रह गरे । अध्यक्ष राईले विकास निर्माणको साझा कार्यमा सबै खाले नागरिकको सहभागिता अपरिहार्य भएको भन्दै त्यसका लागि सबै वडामा वडाध्यक्षलगायत जनप्रतिनिधिले सामुहिक काम गर्न आग्रह गरे । कुनै वडामा त्यस्तो नगरी विभेद गरेको भएमा पनि गाउँपालिकामा उजुरी गर्न उनको आग्रह थियो ।


गाउँपालिकाबासी नागरिकको अपेक्षालाई सँधै शीरमा राखेर हिडेको बताउँदै अध्यक्ष राईले जनताले सजाएको विकास र समृद्धिको सपना पुरा गर्न चुनावी ताकादेखि अहिलेसम्म बोलेको र प्रतिवद्धता जनाएका सबै कुरा पुरा गर्दै जाने वाचा गरे । विकास निर्माणका कार्यसँगै गाउँपालिकाले नीति, नियम, ऐन तथा नियमावलीहरु निर्माण गर्ने काम पनि गरिरहेको भन्दै उनले जे जति काम भईरहेका छन् ती सबै समग्र गाउँपालिकाबासी जनताको विकास र परिवर्तनका लागि नै भईरहेको स्पष्ट पारे । उनले अझै यो भन्दा राम्रो कामका लागि सँधै प्रयत्नशिल रहने वाचा पनि गरे । 


गाउँपालिकाले ५ वर्षे आवधिक गुरुयोजना निर्माण अन्तिम चरणमा पुर्याईसकेको बताउँदै उनले सो आवधिक गुरुयोजनाले लोकतन्त्रको संस्थागत विकास गर्नुका साथै गाउँटोलको समग्र विकास निर्माणका लागि योजना र कार्यक्रम माग्दै बिभिन्न कार्यालय र निकायको ढोका ढक्ढक्याउनुपर्ने अवस्थाको अन्त्य गर्ने अपेक्षा गरिएको अध्यक्ष राईले बताए । 


कार्यक्रममा उपाध्यक्ष बिर्सिका राईले बीउपूँजी रकमलाई पैसा दिने र लिने कुराको रुपमा माज्ञ नबुझेर बहुक्षेत्रीय पोषणको लक्ष्य अनुरुप उदेश्य प्राप्तीको अभियानमा लाग्न महिलाहरुलाई आग्रह गरिन् । शदियौँदेखि महिलाहरु चुलाचौकमा सीमित हुनु परेकाले आर्थिक, सामाजिक, राजनीतिक र स्वास्थ्यको हिसावले पछि परिरहनु परेको भन्दै त्यसको अन्त्य गर्न महिलाहरु सक्षम हुनुपर्ने उपाध्यक्ष राईले बताईन् । अघि बढ्न महिलाहरु सबभन्दा पहिले आत्मनिर्भर बन्नुपर्ने र आत्मनिर्भर हुन आर्थिकरुपमा सबल हुनुपर्ने खाँचो औँल्याउँदै उनले समूहमा आबद्ध महिलालाई आयआर्जनमा लाग्न आग्रह गरिन् । आर्थिक उन्नतिका लागि स्वस्थ्य शरीर आवश्यक रहेको भन्दै उपाध्यक्ष राईले साकेला गाउँपालिका सबै तहतप्का र समुदायका महिलालाई सबल, सक्षम र स्वस्थ्य भएको हेर्न चाहेको र त्यका लागि सक्दो सहयोग गर्दै आएको बताईन् । 


गाउँपालिकाले वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत विपन्न सुनौलो हजार दिनको आमा तथा किशोरीहरुको आयआर्जन सुधार गरि पोषणमा सुधार गराउने उदेश्यले महिला समूहहरुका लागि प्रस्ताव आह्वान गरेको थियो । जसमा गाउँपालिकाभरिका ८ वटा महिला समूहबाट प्रस्तावपत्र आएकोमा समावेशी महिला कृषक समूह उत्कृष्ट दरिदै छनौट भएको थियो । बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक नविनकुमार राईका अनुसार छनौटमा परेको समूहले १ वर्षभित्र सहकारीमा रुपान्तरण गर्नुपर्ने प्रावधान रहेको छ । गाउँपालिकाले सोही उदेश्य प्राप्त गर्न सहयोग पुर्याउन नगद हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताएका छन् । 

क्याप्सनः रकम हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष रविप्रकाश राई । तस्विरः महेश्वर