गणतन्त्र दिवसमा उदयपुरका १० कैदी

२0८0 जेष्ठ १५ सोमबार
गणतन्त्र दिवसमा उदयपुरका १० कैदी

उदयपुर, जेठ १५

गणतन्त्र दिवसको अवसरमा उदयपुर कारागारका १० कैदी सजाय माफी पाएर रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको उपलक्ष्यमा आधा कैद सजाय भोगिसकेका कैदीहरुलाई मिनाहा गर्ने यवस्था अनुसार जिल्लाका १ महिला र ९ पुरुष कैदी सोमबार विहान रिहा भएका हुन् । 


सजाय छुट पाएर कैदमुक्त हुनेहरुमा बहुबिबाह आरोपमा जेल बसेका १ महिलासहित ४ जना छन् भने सवारी ज्यान आरोपी ३, चोरी २ र आगजनी आरोपका १ कैदी रहेका छन् । कारागार प्रमुख डिगम कार्कीका अनुसार बहुविबाह आरोपमा सजाय पाएका भोजपुरको आमचोक गाउँपालिका १० का २७ वर्षीय सीताराम राई, कटारी नगरपालिका ७ की २७ वर्षकै पुजा दनुवार, त्रियुगा नगरपालिका १० का ४१ वर्षीय श्रवणकुमार थापा र त्रियुगा १० कै ५२ वर्षीय लालबहादुर श्रेष्ठ छन् ।


त्यसैगरी सवारी ज्यान मुद्धा आरोपमा जेलमा रहेकाहरु त्रियुगा १० का २१ वर्षीय विजय सार्की, त्रियुगा ६ का भिषण भन्ने २५ वर्षीय भेषराज आले मगर र त्रियुगा ४ का २३ वर्षीय दिवस राई रहेको कार्कीले बताए । बाँकी सजाय मिनाहा पाई कैदमुक्त हुनेहरुमा चोरी आरोपीहरु चौदण्डीगढी नगरपालिका ९ का २५ वर्षीय क्याजिन भन्ने कियानिज चौधरी र बेलका नगरपालिका ७ का २८ वर्षीय जीवनजंग कार्की भन्ने जीवन केसी छन् भने आगजनी आरोपमा सजायरत कटारी नगरपालिका ८ का ३५ वर्षीय रामपुजन दास पनि छुटेका छन् ।


१६ औँ गणतन्त्र दिवसमा राष्ट्पति पौडेलले चर्चित कैलालीको टीकापुर काण्डमा मुख्य दोषी ठहर्याई केन्द्रीय कारागारमा रहेका रेशमलाल चौधरीसहित ५ सय १ जनाको बाँकी सजाय पनि मिनाहा गरिदिएका छन् । ०७२ भदौ २७ गते टीकापुरमा भएको थरुहट आन्दोलनको क्रममा ७ वर्षीय बालक र नेपाल प्रहरीका वरिष्ट प्रहरी उपरीक्षक (एसएसपी) गरी ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको थियो । सो घट्नामा मुख्य अभियुक्त चौधरी नै भएको भन्दै अदालतले उनलाई जेल सजाय सुनाएको थियो । 


जिल्ला अदालतको आदेश अनुसार जेलमा रहेका चौधरीलाई केहीदिनअघि सर्वोच्च अदालतले २० वर्ष जेल सजायको फैसला सुनाएको थियो ।