साउनेका सुत्केरीलाई रातो भाले, घ्यु र चामल 

२0८0 जेष्ठ ११ बिहीबार
साउनेका सुत्केरीलाई रातो भाले, घ्यु र चामल 

 

उदयपुर, जेठ ११


त्रियुगा नगरपालिका वडा नं. १४ साउनेले सुत्केरी महिलालाई पौष्टिक आहार (खानेकुरा) वितरण गरेको छ । वडाभित्रका आधादर्जन सुत्केरी महिलालाई बुधबार दिउँसो आयोजित एक कार्यक्रममा पौष्टिक आहार वितरण गरिएको हो ।


गत साउनदेखि वैशाखसम्म वडास्थित स्वास्थ्य चौकीमा सुरक्षित प्रसुति सेवा लिने ५ महिलालाई सुत्केरी हुँदा आवश्यक पर्ने पोषण तत्वयुक्त खानेकुरा वितरण गरियो । सुत्केरी महिलाहरु प्रत्येकलाई एउटा छिप्पिएको भाले, १ किलो घ्यु, २५ किलो मसिना चामल र लुगा धुने तथा नुहाउने सावुन वितरण गरियो । भाले नपाउने महिलाहरुलाई किनेर खान १ हजार ५ सय नगदै वितरण गरिएको छ । पौष्टिक आहार पाउने सुत्केरीहरु बालकुमारी राई, मनशिला राई, अम्बिका राई, टीकामाया राई र इन्दिरा राई रहेका छन् ।


कार्यक्रममा वडाध्यक्ष हिमराज मगर, सदस्यहरु रेखाकुमारी मगर, नारायण राई, एकबहादुर कटुवाल र केशरीमाया नेपाली तथा स्वास्थ्य चौकी प्रमुख योगेन्द्र श्रेष्ठले सामग्री र नगद हस्तान्तरण गरे । वडाध्यक्ष मगरका अनुसार चालु वर्षदेखि सुरु यो योजना वडागत स्वीकृत बजेट अनुसार सञ्चालन गरिएको हो । वडाबाट सो सुविधा लिनका लागि गर्भवति हुँदादेखि सुत्केरी भएसम्म सबै स्वास्थ्य मापदण्ड पुरा गरेको हुनुपर्ने उनले बताए । 


मगरका अनुसार गर्भवति अवस्थामा स्वास्थ्य चौकी आएर अनिवार्य ४ पटक स्वास्थ्य जाँच गरेको हुनुपर्ने, स्वास्थ्य चौकीमै सुत्केरी भएको हुनुपर्ने र आवश्यक सबै खोपहरु दिएको प्रमाण वडा कार्यालयमा बुझाउनुपर्ने मापदण्ड तय गरिएको छ । वडाबासी महिला र बालबालिकाहरु कोही अस्वस्थ्य नहुन् भन्ने उदेश्यले प्रोत्साहनस्वरुप सो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मगरले बताए । १४ नं. वडा पहाडी भूभाग भए पनि सदरमुकाम गाईघाटसँग जोडिएको हु्नाले अधिकांश स्थानीय सुरक्षित सुत्केरी गराउन भन्दै गाईघाट आउने गरेका छन् । 


धेरैजसो गाईघाट आउने भएकाले चालु वर्ष यस्तो सुविधा लिने महिला ८ जना मात्र रहेको वडा सचिव रितकुमार राउतले बताए । वडाकै स्वास्थ्यचौकीलाई सक्षम र सवल बनाउने तथा आर्थिक अवस्था कमजोर भएर सहर बजारमा उपचार गर्न नसक्ने गरिव तथा बिपन्न बर्गलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरेको उनको भनाई छ । 


यसअघि सुत्केरीलाई भाले र घ्यु वितरण कार्यक्रम कटारी नगरपालिका वडा नं. ८ सिरिसेका वडाध्यक्ष कमल श्रेष्ठले सञ्चालन गरेका थिए । ०७४ को स्थानीयतह निर्वाचनमा नेकपा (माओबादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष श्रेष्ठ ०७९ को चुनावमा भने टिकट पाए पनि ३ मतले पराजित हुन पुगे । अहिले सुत्केरी स्याहार कार्यक्रम सञ्चालन गर्ने त्रियुगा १४ का वडाध्यक्ष मगर पनि माओबादीबाटै विजयी भएका हुन् । १४ मा वडाध्यक्षसहित प्यानलै सदस्य माओबादीबाट निर्वाचित भएका हुन् ।