साकेलाको विकासबारे काठमाडौँमा छलफल

२0८0 जेष्ठ ८ सोमबार
साकेलाको विकासबारे काठमाडौँमा छलफल

उदयपुर, जेठ ८

खोटाङको साकेलालाई समृद्ध र समुन्नत गाउँपालिका बनाउने सिलसिलामा प्रबुद्ध, विषयविज्ञ तथा राज्यका उच्चतहका व्यक्तिहरुसँग रायसुझाव संकलन गरिएको छ । साकेला  गाउँपालिकामा जन्मेर विभिन्न सहर बजारमा क्रियासिल दिग्गजहरुबाट आवश्यक राय लिने क्रममा राजधानीमा रहेका उच्च पदस्थ, प्रबद्ध बर्ग र सरोकारवाला समुदायसँग सुझाव लिइएको हो । 


गाउँपालिकाको सर्वाङ्गिण विकास गर्दै जनतालाई सुखी, सम्पन्नशाली, समृद्ध, विकसित र आत्मनिर्भर बनाउने उदेश्यका साथ फरकफरक क्षेत्रमा आबद्ध विभिन्न तह र तप्कामा रहेका साकेलाबासीबाट सुझाव लिन अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । उनका अनुसार गाउँपालिकाले बनाउँदै गरेको ‘५ वर्षे आवधिक योजना’को सिलसिलामा राजधानीमा कार्यरत सबै क्षेत्र र तहतप्काको सुझाव समेट्न अन्तरक्रिया आयोजना गरिएको हो । 


ललितपुरस्थित होटल कुटुम्बमा आयोजित कार्यक्रममा उपत्यकामा रहेर क्रियासिल वैज्ञानिक, प्राध्यापक, शिक्षक, निजामति कर्मचारी, नेपाली सेना, प्रहरी, इन्जिनियर, होटल तथा पर्यटन व्यवसायीलगायत विभिन्न क्षेत्रमा आबद्ध बर्तमान तथा पूर्व अनुभवप्राप्त व्यक्तिहरु सहभागी थिए । आगामी वर्षदेखि लागू हुनेगरी निर्माणाधीन आवधिक योजना चालुवर्ष ०७९÷८० को नीति तथा कार्यक्रममै समेटेर बनाउने काम भईरहेको छ । सोही अनुरुप गाउँपालिकाले ६ महिनायता विभिन्न चरणमा अध्ययन, सुझाव संकलन र अन्तरक्रियात्मक कार्यहरु गरिरहेको छ ।


सुरु चरणमा गाउँपालिकाले बृहत भेला गरेर विषयगत बुँदाहरु तय गर्दै विषयविज्ञको संयोजकत्वमा विभिन्न समितिहरु निर्माण गरेर परिचालन गर्दै आएको छ । उनीहरुबाट सर्वपक्षीय राय संकलन गर्दै आवधिक योजनामा समेट्न वडावडामा सर्वपक्षीय सहभागितामा सुझाव संकलन यसअघि नै गरिसकेको छ । गाउँपालिकाभित्र सुझाव लिसकेपछि  राजधानीमा रहेका साकेलाबासीसँग सुझाव लिन अन्तरक्रिया आयोजना गरिएको हो । आवधिक योजनामा आर्थिक, सामाजिक, भौतिक, वन तथा वातावरण, विपत् व्यवस्थपन, संस्थागत विकास तथा सुशासनजस्ता विबिध क्षेत्रको चौतर्फी विकास गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाको खाका तय गर्ने गाउँपालिकाकाले जनाएको छ । 


कार्यक्रममा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ), साकेलामै जन्मेर नेपाल सरकारको सचिवजस्तो उच्च होहदाका रहेका बर्तमान महालेखा परीक्षक टंकमणि शर्मा, पूर्व सचिव सागरकुमार राई, प्रदेश मुख्य न्यायधीवक्ता परिवर्तन राई, पूर्व सहसचिव वीजेन्द्र राई, वहालवाला उपसचिव कृष्णबहादुर कटवाल, उपसचिव सशी राई, उपप्राध्यापक यादेवी ढकाल, शाखा अधिकृतहरु जयकला राई, प्रतिज्ञा राई, इन्जिनियर रविन्द्र राई, साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, सामाजिक विकास अधिकृत दुर्गबहादुर राईको अर्थपूर्ण सहभागिता रहेको थियो ।


कार्यक्रममा फरक फरक पेशा, व्यवसायमा संलग्न साकेलाबासीहरुको आवश्यक राय सुझाव लिएर भविष्यमा गाउँलाई समृद्ध बनाउने योजनाका साथ साकेलामा जन्मेर राजधानीमा रहेका सबै बर्गको प्रतिनिधित्व गराएको अध्यक्ष राईले बताए । सहभागीहरुलाई कार्यक्रममा स्वागत गर्दै अध्यक्ष राईले आफुले नेतृत्व लिए पनि साकेला गाउँपालिका सबैको साझा भएको र भविष्यमा सुन्दर, शान्ति, विकसित, सभ्य र समृद्ध बनाउने अभियानमा जोडिन सबैसँग आग्रह गरे । ‘तपाईहामी सबै साकेलामा जन्म्यौँ, हुक्र्यौँ, अव भविष्यमा साकेलालाई कस्तो बनाउने भन्नेबारेमा पनि एकमुष्ट धारणा बनाऔँ भनेर’ अध्यक्ष राईको भनाई थियो ‘विद्वानबर्गदेखि मजदुरसम्म, डा., प्राध्यापकदेखि निरक्षरसम्म, सेना, प्रहरीदेखि सर्वसाधारणसम्मको अनुभव समेटेर आवधिक योजना बनाउन यहाँहरुको सहयोग अपरिहार्य छ ।’ 


 प्राप्त राय सुझावलाई एकीकृत गरेर आवधिक योजना बनाउने भन्दै उनले जसको प्रभाव ५ वर्षभित्रै देखिएर दीर्घकालसम्म नागरिकमैत्री साकेला बनाउदै नमूना स्थानीयतह बनाउने अभियानमा सामेल हुन उनको आग्रह थियो । आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रममै समेट्दै अघि बढ्न आगामी वर्षको बजेट अधिवेशनमा निर्माणाधीन आवधिक योजना पारित गरेर कार्यान्वयनको तहमा लाने योजा अध्यक्ष राईको छ । आवधिक योजना निर्माणको क्रममा गाउँपालिकाले साकेलाको इतिहास र अनुभवको जगमा टेकेर वर्तमान बस्तुस्थितिको सुक्ष्म अध्ययन, विश्लेषण गर्दै बिगतको अभ्यास र त्यसबाट प्राप्त प्रतिफलसमेतलाई सँगाल्दै धरातलीय यथार्थताको आधारमा भविष्यको खाका कोरिरहेको छ । गाउँपालिकालाई दिगो विकास र समृद्धितर्फ लान यो सबै गरेको निश्कर्ष गाउँपालिकाको छ ।