दुर्घटनामा बालिकाको मृत्युले तनावग्रस्त लालबजार सामान्य हुँदै 

२0८0 जेष्ठ ७ आईतवार
दुर्घटनामा बालिकाको मृत्युले तनावग्रस्त लालबजार सामान्य हुँदै 

उदयपुर, जेठ ६

अघिल्लो दिउँसो मालबाहक टिफरको ठक्करले ठक्कर दिँदा ४ वर्षीया बालिकाको ज्यान गएपछि तनावग्रस्त भएको घट्नास्थलको अवस्था सामान्य हुँदै गएको छ । प्रशासन, प्रहरी, जनप्रतिनिधि र पीडितपक्षको सर्वपक्षीय छलफलले लामो समयपछि सहमति  जुटाउदै गएपछि स्थिति सहज हुँदै गएको हो । 


प्रारम्भिक चरणको सहमति अनुसार बालिकाको शव शनिबार विहान उठाएर पोस्टमार्टम गर्न बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । पूर्वतर्फ गईरहेको प्रदेश २–०–३–०० ख ४३०९ नम्बरको टिफरले मदन भण्डारी लोकमार्गको बसाहा–रामपुर खण्ड बेलका नगरपालिका ४ लालबजारमा ठक्कर दिदा स्थानीय एल्जिना राना मगरको घट्नास्थलमै ज्यान गएको थियो । 


बालिकालाई किचेको भन्दै आक्रोसित स्थानीयको भिडले ठक्कर दिने टिफरसहित ४ वटा सवारी साधनमा तोडफोड गर्नुका साथै आगजगी गरेका थिए । आगजनीका कारण सबै सवारी साधन जलेर ध्वस्त भएको इलाका प्रहरी कार्यालय रामपुर बेलकाले जनाएको छ । प्रहरी निरीक्षक सुभाष खनालले आगजनी र तोडफोडले २ वटा टिफर, आगो निभाउन बोलाइएको बेलका नगरपालिकाको ट्याङ्कर बोकेको ट्याक्टर र चौदण्डीगढी नगरको दमकलमा क्षति पुगको छ ।


खनामलका आगोले २ वटा टिफर पूर्णरुपमा ध्वस्त भएका छन् भने खानेपानी ट्याङ्कर बोकेको नगरपालिकाको ट्याक्टर पनि जलेर नष्ट भएको छ । चौदण्डीगढीको दमकल भने आधा जलेर क्षति पुगेको इन्सपेक्टर खनालले बताए । दुर्घटनासँगै असामान्य भएको लालबजारको वातावरण सर्वपक्षीय सहमतिपछि शनिबार विहान ३ः०० बजे शब उठाएर पोष्टर्माटमका लागि अस्पताल पठाइएको हो 


घट्नास्थल पुगेर फर्केका जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले सर्वपक्षीय छलफलमा टिफर मालिकलाई बोलाएर थप छलफल गर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिने र आवश्यक कानुनी कारवाही अगाडि बढाउने सहमति भएको बताए । उनका अनुसार सहमति अनुसार शव पोष्टमार्टम गर्न अस्पताल पठाए पनि उचित क्षतिपूर्ति र कानुनी कारवाहीको ग्यारेण्टी नभएसम्म पोष्टमार्टम नगर्ने अडान पीडितपक्षले लिएको छ । त्यसका लागि थप छलफल गर्नेगरी नगरपालिकालाई जिम्मा दिइएको प्रवक्ता चौधरीले बताएका छन् । 


बेलका नगरप्रमुख अशोक कार्कीले घट्नाबाट उत्पन्न समस्या समाधान गर्ने पहल भईरहेको बताएका छन् । उनका अनुसार घट्नामा संलग्न टिफर मधेस प्रदेश मिर्चया नगरपालिकाका चन्देश्वर साहको भएको पत्ता लागेको छ । साहलाई दोहोरो छलफलका लागि घट्नास्थल बोलाइएको र आउनेबित्तिकै टिपर मालिक, प्रहरी र पीडितपक्षलाई सँगै राखेर निकास निकाल्न तथा क्षतिपूर्ति दिलाउने आप्mले सक्दो पहल गर्ने मेयर कार्कीले बताए । 


प्रहरीले टिफर चालक कटारी नगरपालिका २ का कुतबहादुर तामाङलाई घट्नालगत्तै नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ । घट्ना घटेदेखि नै स्थानीयले बन्द गरेको लालबजार क्षेत्रको सडक चलन नदिएपछि प्रहरीले शनिबार विहानदेखि डाईभर्सन खोलेर सवारी आउजाउ सहज बनाएको इन्सपेक्टर खनालले बताएका छन् ।