अन्धकारमा बसेका गरिवलाई उपमेयर राईको 'उज्यालो उपहार'

२0८0 बैशाख २९ शुक्रबार
अन्धकारमा बसेका गरिवलाई उपमेयर राईको 'उज्यालो उपहार'

उदयपुर वैशाख २९

त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले गरिव तथा बिपन्न गाउँ बस्तीबासीलाई उज्यालो दिएकी छिन् । उपमेयर राईले ‘जनतासँगउपमेयर कार्यक्रम’ अन्तर्गत आर्थिक अवस्था कमजोर भएका त्रियुगा नगरपालिका १४ साउने भैसेट्याम्केका २४ घरधुरी स्थानीयलाई निःशूल्क विद्युत जडान गरिदिएकी हुन् ।


नगरपालिकाद्वारा सञ्चालित ‘उज्यालो गाउँ अभियान अन्तर्गत उपमेयर राईले उनीहरुलाई निःशूल्क मिटरबक्सलगायत बिद्युतीय सामग्री सहयोग गरेपछि गाउँ उज्यालो भएको छ । साउनेलगायत निपाने आसपास भैँसेट्याम्केमा पनि केहीवर्षऋघि नै विद्युत बिस्तार भईसके पनि आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरु अध्याँरोमा बस्न बाध्य थिए । 


यस्तो समस्याबारे वडाध्यक्ष हिमराज मगरबाट जानकारी आएपछि उपमेयर राईले तत्काल त्यहाँ विद्युत विस्तारको कार्यक्रम ल्याएको बताईन् । नगरसभाले छुट्याएको वजेट अन्तिम चरणमा पुगिसकेको भए पनि विद्युत बाल्न नपाएको समस्याबारे जानकारी पाएपछि तत्काल संबोधन गर्दै उज्यालो बालिदिएको उनले बताईन् । 


उपमेयर राईले शुक्रबार सो बस्तीमा विद्युत उद्घाटन गरेसँगै गाउँ उज्यालो भएको छ । स्थानीय सरकार छ भन्ने देखाउन पनि जनताको जल्दोबल्दो समस्या तत्काल संबोधन गर्नुपर्ने आफ्नो धारणा अनुसार सो कार्य गरिएको उनले बताईन् । तत्काललाई विद्युत सेवा उपपलब्ध गराइएको र बाँकी समस्याहरु बिस्तारै समाधान गर्दै लाने प्रतिबद्धता उनले जनाएकी छिन् ।