हाडेबासमा आगलागी हुँदा ७ घर नष्ट्

२0८0 बैशाख २८ बिहीबार
हाडेबासमा आगलागी हुँदा ७ घर नष्ट्

उदयपुर वैशाख २८

उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा बिहीबार विहानदेखि आगलागी भईरहेको छ । आगोले स्थानीयको ७ वटा घर गोठ जलेर नष्ट बनाईसकेको र अझै आगो नियन्त्रणमा आईनसकेको बताइएको छ । 


आगलागी के कारण भयो र कति क्षति भयो भन्ने पुरा विवरण भने आईसकेको छैन । टेलिफोन नेटवर्कले काम नगर्दा घट्नाबारे यथार्थ जानकारी लिन नसकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ‘विहानदेखि गाउँमा आगाो सल्केको खवर आएपछि प्रहरी टोली घट्नास्थल पठाईसकिएको छ’ प्रहरी प्रवक्ता इन्सपेक्टर मोहन थापाले भने ‘फोन सम्पर्क नहुँदा वास्तविक घट्नाको यकिन विवरण लिन सकिएको छैन ।’


फोन नलाग्दा वडाध्यक्ष भुवन केप्छाकी मगर, सदस्यहरु र स्थानीय कसैसँग सम्पर्क हुन सकेको छैन । गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले पनि घट्नाबारे जानकारी नभएको बताए । गाउँपालिकाको काम लिएर काठमाडौँमा रहेका अध्यक्ष मगरले गाउँमा फोन नलाग्ने भएकाले घट्नाबारे बुझ्न नसकेको बताएका छन् । 


जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले विहानदेखि आगलागी भएको घट्ना सुनेर स्थानीय प्रहरी चौकीबाट टोली परिचालन गरिएको र जिल्लाबाट पनि थप सुरक्षा फौज घट्नास्थल पठाइएको बताए । उनले प्रहरी टोली पुगिसकेको तर, फोन नलाग्दा दोहोरो कुरा हुन नसकेर घट्ना विवरण लिन नसकेको फुयालले बताए ।


हाडेबास वरिपरि चुरे जंगल रहेको कारण डढेलोबाट गाउँमा आगो सल्केको अनुमान गरिएको प्रहरी भनाई छ । सुख्खा याममा केहीदिनयता चर्को हावाहुरी चलिरहेकाले त्यसैबाट आगो लागेको हुनसक्ने अनुमान छ । 


२ दिनअघि मात्र त्रियुगा नगरपालिका १५ खाँबुको बाउन्नीडाँडामा जंगलको डढेलोबाट आगो सल्कदा स्थानीय गौरबहादुर राईको घर गोठ र घरभित्र रहेका सम्पूर्णं धनमाल जलेर नष्ट भएको थियो । त्यसैगरी सोमबार साँझै बेलका नगरपालिका ४ का पूर्व वडाध्यक्ष दिपक दंगालको कुखुरा फार्ममा आगलागी हुँदा लाखौँको क्षति भएको पीडित परिवारले जनाएको छ ।