कक्षा १२ को परीक्षा पहिलो दिन शान्तिपूर्ण  

२0८0 बैशाख २६ मंगलवार
कक्षा १२ को परीक्षा पहिलो दिन शान्तिपूर्ण  

उदयपुर वैशाख २६


मंगलबारदेखि सुरु भएको माध्यमिक तह कक्षा १२ को अन्तिम परीक्षा शान्तिपूर्ण तवरले सुरु भएको जिल्ला शिक्षा तथा समन्वय इकाई कार्यालय उदयपुरले जनाएको छ । 


जिल्लाका बिभिन्न विद्यालयमा १६ वटा केन्द्र तोकेर परीक्षा सञ्चालन थालिएको इकाई प्रमुख बाबुराम पोखरेलले बताए । उनका अनुसार उदयपुरमा नगरपालिकातर्फ सदरमुकाम त्रियुगा नमूना माविसहित त्रियुगामा ७, चौदण्डीगढीमा ३,, बेलका र कटारीमा २÷२ वटा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिदैछ । त्यसैगरी गाउँपालिकातर्फ उदयपुरगढी र रौतामाईमा १÷१ वटा केन्द्र छन् । 


ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा भने केन्द्र राखिएको छैन । पहाडी भेगका विद्यालयहरुमा आवश्यक पूर्वााधारको अभाव तथा सुरक्षा व्यवस्थामा चुनौति देखिएकाले सहर केन्द्रित केन्द्र राखेर परीक्षा लिने काम भईरहेको इकाई प्रमुख पोखरेलले बताए । त्रियुगामा नमूना माविसँगै त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा, रामजानकी मावि मोतिगडा, अम्बेबर मावि राजाबास, जनज्योति मावि चुहाडे, राष्ट्रिय मावि बगाहा र जनता मावि देउरीमा केन्द्र राखिएको छ । 


त्यस्तै चौदण्डीगढी नगरपालिकाका नारद आर्श मावि बसाहा, ज्योति मावि बेलटार र थानपोखरी मावि हडिया, कटारी नगरपालिकाको त्रिबेणी नमूना मावि कटारी र जनता मावि गुराँसे त्रिबेणीमा केन्द्र राखिएको छ । त्यस्तै बेलका नगरपालिकाको कोसी मावि रामपुर र जनता मावि गुरुङचौरीमा केन्द्र तोकिएको छ । उता रौतामाई गाउँपालिकाको रौता मावि मुर्कुची र उदयपुरगढीको पञ्चावती मावि गढीमा केन्द्र तोकिएको छ । 


यसवर्षको परीक्षामा नियमिततर्फ ४ हजार ३ सय १५ र आंशिकतर्फ १ हजार १ सय ३८ जनाको सहभागिता रहेको इकाईका अधिकृत अर्जुन कार्कीले बताए । कार्कीका अनुसार सबै केन्द्रमा सोही विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेबारी दिइएको छ ।