उपमेयर गौल्डकपः अन्तिम सेमिफाईनलमा मोरङदुवारा सप्तरी पराजित

२0८0 बैशाख २१ बिहीबार
उपमेयर गौल्डकपः अन्तिम सेमिफाईनलमा मोरङदुवारा सप्तरी पराजित

उदयपुर, वैशाख २१

सदरमुकाम गाईघाटमा भईरहेको ‘प्रथम त्रियुगा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता ०८०’को फाईनलमा मोरङ र झापाको प्रतिस्पर्धा हुने भएको छ । बिहीबार सम्पन्न अन्तिम सेमिफाईनलमा मोरङको पथरी शनिश्चरे महिला फुटबल क्लब (पिएसडब्लु) विजयी हुँदै फाईनलमा पुगेको छ भने अघिल्लो दिनकैे खेलमा झापाले सुनसरीलाई हराएर फाईनलको यात्रा तय गसिकेको छ । 

 

 


बिहीबारको खेलमा पिएसडब्लु क्लब मोरङले नमोबुद्ध युथ क्लब सप्तरीलाई १–० गोल अन्तरले पराजित गर्दै उापधिको दावेदार बन्न पुगेको हो । खेल सुरु भएको ३२ औँ मिनटमा सुप्रिया मियाले गरेको १ गोल नै मोरङलाई फाईनल पुग्न पर्याप्त आधार बन्यो । 


८० मिनटको खेल अवधिमा सप्तरीले धेरै पटकको प्रयासमा पनि जवाफी गोल गर्न नसकेपछि मियाकै गोल निर्णायक बन्न पुगेको हो । खेलको म्यान अफ द म्याचको उपाधि पनि उनै मिया घोषित भईन् । उनलाई त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले नगद २ हजार र ट्रफि प्रदान गरिन् । 


गाईघाटस्थित थरुहट उदयपुृर रंगशालामा भईरहेको खेलको फाईनल प्रतिस्पर्धा आउँदो शनिबार हुदैछ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुरका अनुसार फाईनलमा झापा र मोरङबीच १ लाख नगद र ट्रफिका लागि शनिबार दिउँसो ३ः०० बजे प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उपविजेताले ५० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछ भने बिधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार नगदसहित सिल्ड र प्रमाणपत्र तथा अन्य पुरस्कृतलाई जनही ३ हजार नगद पुरस्कार प्रदान गरिने एन्फाका अध्यक्ष रञ्जन कार्कीले बताए ।  


त्रियुगा नगरपालिकाको ‘जनतासँग उपमेयर कार्यक्रम’ अन्तर्गत नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष विजयकुमार सिंहले बताए ।