प्रेस सेन्टर नेपालले मिडिया सम्मेलन गर्ने 

२0८0 बैशाख २१ बिहीबार
प्रेस सेन्टर नेपालले मिडिया सम्मेलन गर्ने 

काठमाडौँ, वैशाख २१

नेकपा (माओबादी केन्द्र) निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा जेठ दोस्रो साता हुने भएको छ । बुधबार राजधानीमा सम्पन्न केन्द्रीय समिति बैठकले कृष्ण सेन इच्छुक स्मृति दिवसकै दिन पारेर जेठ १२ देखि १४ सम्म काठमाडौंमा केन्द्रीय साधारणसभासहित राष्ट्रिय मिडिया सम्मेलन गर्ने निर्णय गरेको हो । 

 


सेन्टरका महासचिव सन्तोष पौडेलका अनुसार गत माघ १५ गते संगठनको स्थापना दिवसकै दिन गर्ने तय भएको केन्द्रीय साधारणसभा उपाध्यक्ष त्रिभुवन पौडेलको माघ १ गते पोखरामा यति एयरलाइन्स दुर्घटनामा निधन भएका कारण स्थगित हुन पुगेको थियो ।


केन्द्रीय कार्यालयमा अध्यक्ष विष्णु सापकोटा (जुगल)को अध्यक्षता तथा संगठनका संस्थापक सदस्य एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको उपस्थितिमा सम्पन्न बैठकले साधारणसभाकै अवसरमा राष्ट्रिय मिडिया सम्मेलनसमेत गर्ने निर्णय गरेको छ। 


प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्ने कार्यक्रममा प्रेस सेन्टरका ७ भौगोलिक प्रदेशसहित उपत्यका, प्रतिष्ठान, एशोसियट र प्रवास गरी ११ प्रदेश र जिल्ला तथा स्थानीयतहसम्म संगठित समितिको सहभागिता रहनेछ । जस अनुसार साधारणसभामा देशभरबाट ६ सय वढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने महासचिव पौडेलले बताएका छन् । 


साधारणसभा व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्नका लागि बैठकले अध्यक्ष सापकोटाको संयोजकत्वमा ‘साधारणसभा मूल आयोजक समिति’ पनि गठन गरेको छ ।