‘उपमेयर गोल्कप महिला फुटबल’ः झापाद्वारा धरान पराजित

२0८0 बैशाख १८ सोमबार
‘उपमेयर गोल्कप महिला फुटबल’ः झापाद्वारा धरान पराजित

उदयपुर वैशाख १८

सदरमुकाम गाईघाटमा शनिबारदेखि जारी ‘प्रथम त्रियुगा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता ं८०’को तेस्रो दिन झापाको अल ईन वान क्लब विजयी भएको छ । सोमबार दिउँसो सम्पन्न खेलमा सुनसरीको धरानलाई २–१ गोलको अन्तरले पराजित गर्दै झापा सेमिफाईनलमा पुगेको हो । 


गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा भईरहेको प्रतियोगितामा झापाको तर्फबाट २ गोल हुँदा धरानले १ गोल मात्र फर्काउन सफल भयो । यसअघि माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी र नमोबुद्ध यवा क्लब सप्तरी सेमिफाईनलमा प्रवेश गरिसकेका छन् । शनिबार भएको उद्घाटन खेलमा बागमति क्लब सर्लाहीलाई टाईब्रेकरमा ३–१ गोलले पराजित गर्दै सुनसरी र दोस्रो दिन आईतबार हेटौँडा फुटबल एकेडेमी मकवानपुरलाई पराजित गर्दै सप्तरीले सेमिफाईनलको यात्रा तय गरेका हुन् । 


त्रियुगा नगरपालिका ‘जनतासँग उपमेयर कार्यक्रम’ अन्तर्गत आयोजित प्रतियोगिता नगर युवा तथा खेलकुद विकास समितिको समन्वय र अखिल नेपाल फुपटबल संघ (एन्फा) उदयपुरको आयोजनामा भईरहेको छ । प्रथम पुरस्कार ट्रफिसहित १ लाख नगद रहेको प्रतियोगिताको उपविजेताले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै विधागततर्फ बिभिन्न पुरस्कारहरु पनि बितरण गरिने आयोजक एन्फा उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताएका छन् । 


मंगलबार हुने अन्तिम क्वाटरफाईनल खेलमा मोरङको पिएसडब्लुसी पथरीसँग घरेलु टिम गाईघाटले प्रतिस्पर्धा गर्नेछ । २० र २१ गते सेमिफाईनलमा प्रतिस्पर्धा हुने प्रतियोगिताको फाईनल भिडन्त आउँदो २३ गते हुने नगर खेलकुद विकास समितिका अध्यक्ष विजयकुमार सिंहले बताएका छन् ।