प्रदेश १ पुनः नामाकरण आन्दोलनः उदयपुरमा ११११ सदस्यीय संघर्ष समिति

२0८0 बैशाख १२ मंगलवार
प्रदेश १ पुनः नामाकरण आन्दोलनः उदयपुरमा ११११ सदस्यीय संघर्ष समिति

उदयपुर वैशाख १२

प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले उदयपुरमा पनि संगठन बिस्तार गरेको छ । मंगलबार गाईघाटमा सम्पन्न बृहत जिल्लाव्यापी भेलाले किरात राई यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय ‘प्रदेश १ पुनः नामाकरण संघर्ष समिति उदयपुर’ गठन गरेको हो । 


यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताछो राई, उपाध्यक्ष युवराज राई र महासविच भीम राईलगायत पदाधिकारी सम्मिलित भेलाले संघर्ष समिति गठन गरेको हो । यायोक्खा लगायत किरातसम्बद्ध तथा लिम्बुवाननिकट बिभिन्न राजनीतिक र सामाजिक संघसंस्थाहरुले झण्डै दशकअघिदेखि प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने मागसहित बिभिन्न चरणमा पटकपटक शान्तिपूर्ण आन्दोलन गर्दै आएको भए पनि बर्तमान प्रदेश सभाले त्यो माग लत्याएर पहिचानबिरोधी नाम राखेकाले बाध्य भएर आन्दोलन गर्नु परेको भेला आयोजक यायोक्बखाले जनाएको छ ।


प्रदेस नामाकरण जस्पतो सम्कबेदनसिम विषय ब्यापक बहस र छलफलमार्फत गर्नुपर्नेमा छलफलै नगरी सुटुक्क छापामार शैलीमा पहिचानबिरोधी नाम राखेकाले त्यसबिरुद्ध संघर्ष गर्नुपर्ने बाध्यता आईपरेको बताईन् । भेलाले अगुवा युवा लक्की राईको संयोजकत्वमा १ सय १ सदस्यीय युवा स्वयंसेवक दस्ता पनि  गठन गरेको भेलापछि सोही दिन साँझ किरात राई पत्रकार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

 

नव गठित समिति अध्यक्ष गंगा राईले प्रदेशको नाम राख्दा पहिचान गुमेका कारण पहिचानसहितको पुनः नामाकरणका लागि संघर्ष समिति गठन गरिएको बताईन् । उनले अवको आन्दोलनको सुरु चरणमा सरकारी कार्यालयहरु र नगर तथा गाउँपालिका र वडा कार्यालयहरुमा ‘कोसी प्रदेश’ लेखिएका साईनबोर्ड हटाउने, लेटरप्याड र छापहरु प्रयोग गर्न नदिने, पहिचानविरोधी नेता र प्रदेश सांसदहरुलाई गाउँ पस्न रोक्ने र बिराटनगरस्थित मुख्यमन्त्री कार्यलयमा धर्ना दिने कार्यक्रम रहेको बर्ताइन् । उनका अनुसार अवको आन्दोलन ‘वार या पार’को हुने हुनाले सम्पूर्ण पहिचानपक्षधरहरुलाई सहभागी हुन आग्रह गरिन् ।


पत्रकार सम्मेलनमा यायोक्खा केन्द्रीयढ अध्यक्ष जीवन हाताछो राईले केन्द्र र प्रदेशसँग सहकार्य र समन्वयमा आन्दोलनलाई उत्कर्षमा पुर्याउन १ हजार १ सय ११ सदस्यीय जिल्ला संघर्ष समिति गठन गरेको तथा त्यसलाई सहयोग गर्न १ सय १ सदस्यीय युवा परिचालन दस्ता निर्माण गरिएको जानकारी दिए । पहिचानको आन्दोलन तिव्र बनाउँन प्रदेशका १४ वटै जिल्लामा संघर्ष समितिहरु गठन भईरहेको जानकारी दिए । जिल्लास्तरीय समितिपछि अव स्थानीयतहस्तरीय समिति पनि गठन गर्दै जाने बताउँदै अध्यक्ष राईले केहीदिनपछि परिणाममुखी आन्दोलन सुरु हुने र पहिचान स्थापित गरेरै छाड्ने बताए । 


यायोक्खाका सांस्कृतिक अभियन्ता कवि भद्रगोल किरातीले १ नं. प्रदेशलाई भूगोल, पहिचान, इतिहास र सभ्यताको आधारमा ‘किरात लिम्बुवान प्रदेश’ नामाकरण गर्नुंपर्ने संघर्ष समितिको न्यूनतम माग भएको भन्दै त्यसलाई लत्याइएकाले बाध्य भएर संघर्ष गर्नुपरेको बताए । भूगोल, सभ्यता र इतिहासलाई जातीयताको रुपमा व्याख्या गर्दै प्रदेशसभाले राखेको पहिचानबिरोधी नामका कारण अहिले १ नं. प्रदेश मात्र नभएर सिंगो देश अशान्त भईरहेको भन्दै लाजेहाङजस्ता प्रभावशाली युवाको सरकारले हत्या गरेकोमा घोर निन्दा र भत्र्सना गर्नुपर्ने बताए । प्रदेशमा स्थायी शान्ति र राजनीतिक निकासका लागि पहिचानमा आधारित नाम राख्नु मात्र एक मात्र र अन्तिम बिकल्प रहेको राईको भनाई थियो ।


यायोख्खाको अगुवाईमा भएको भेलामा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ, तामाङ घेदुङ, तमु (गुरुङ), सेर्पा संघ, नेकपा (माओबादी केन्द्र), जनता समाजबादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत राजनीतिक दलनिकट जातीय संघसंस्थाका गरी ५ सय ५० बढीको जमघट रहेको यायोक्खाका केन्द्रीय सदस्य दिपक किरातीले बताए । जिल्लाका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका, रौतामाई, उदयपुरगढी, ताप्ली र लिमचुङबुङ गाउँपालिका गरी ८ वटै स्थानीयतहबाट सहभागिता रहेको भेलामा यायोक्खाका केन्द्रीय उपाध्यक्ष युवराज राई, महासचिव भीम राई, उपमहासचिवद्वय मातृका राई र मञ्जु सोताङ, सचिव रञ्जु राई, कोषाध्यक्ष छिला राई, सहकोषाध्यक्ष गणेश खालिङ लगायत पदाधिकारीको सहभागिता थियो ।