ज्ञानेन्द्र शाहीसहित पुराना बामपन्थीहरुलाई सम्मान

२0८0 बैशाख ५ मंगलवार
ज्ञानेन्द्र शाहीसहित पुराना बामपन्थीहरुलाई सम्मान

भुट्टार, वैशाख ५

उदयपुरका पुराना बामपन्थी नेता ज्ञानेन्द्रबहादुर शाही सम्मानित भएका छन् । ०२७–२८ सालताका पूर्वमा चलेको नक्शलबाडी आन्दोलनसँगै नेकपा (माले) कोअर्डिनेशन कमिटीदेखि नेपाली बामपन्थी राजनीतिमा आबद्ध शाही सम्मानित भएका हुन् । 


रौतामाई गाउँपालिका २ भुट्टारका शाही ०५४ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन भुट्टार गाउँ विकास समितिका जननिर्वाचित अध्यक्षसमेत हुन् । शाही नेपालमा बामपन्थी जगको सुरुवातीताकादेखि हालसम्म कम्युनिष्ट आन्दोलनमै रहेर सक्रिय जीवन बिताउँदै आएका छन् । 


शाहीलाई नेकपा (एमाले) रौतामाई गाउँ कमिटीले सम्मान गरेको हो । केहीदिनअघि आयोजित एक कार्यक्रममा एमाले उदयपुरका अध्यक्ष प्रमेश घिमिरे, उपसचिव भरत थापा, गाउँ कमिटी अध्यक्ष केशव चामलिङलगायत नेताहरुले खादा, माला र प्रसंशापत्र दिएर सम्मान गरेका हुन् । 


उनीसँगै पुराना बामपन्थी नेताहरु शारद बराल, हरिकुमार ज्युठकुरी, सनकुमारी मल्ल, नेत्र मल्ल, दिलबहादुर आले, भक्त कार्की, शान्तबहादुर राई, कनकबहादुर राई, एकबहादुर राया र प्रेम कार्कीलाई पनि सम्मान गरिएको थियो । अध्यक्ष चामलिङले एमालेले नेपालको बामपन्थी आन्दोलनमा लागेर लामो समयदेखि अमूल्य योगदान गर्दै आएकाहरुलाई सम्मात गरेको बताए ।

 

उनले एमाले वा गैरएमाले जुनसुकै पार्टीमा रहे पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई योगदान दिनेहरुको उच्च मूल्यांकन गर्र्ने परम्पराको सुरुवात गर्न सम्मान गरिएको बताए ।