कोसी प्रदेश खारेजी आन्दोलन: वैशाख १० गतेसम्म माग पुरा नभए कडा आन्दोलनको चेतावनी

२0८0 बैशाख ४ सोमबार
कोसी प्रदेश खारेजी आन्दोलन: वैशाख १० गतेसम्म माग  पुरा नभए कडा आन्दोलनको  चेतावनी

मोरङ, वैशाख ४

कोशी प्रदेश नाम खारेजीको माग उठाउँदै आन्दोलित ‘प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ले मुख्यमन्त्री र सभामुखलाई १० गतेसम्मको अल्टिमेटम पत्र सोमबार बुझाएको छ । यसअघि नै बुझाइएको ज्ञापनपत्रको स्मरण गराउँन बुझाइएको पत्रमा आउँदो १० गतेसमम माग पुरा गर्न माग गर्दै अन्यथा कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ । 


संघर्ष समितिले गत चैत्र २६ गते सभामुख बाबुराम गौतम र मुख्यमन्त्री हिक्मत कार्कीलाई अल्टिमेटम पत्र बुझाएको थियो । सो अल्टिमेटमपत्रमा उल्लेखित मागहरु बैशाख १० गतेसम्म संबोधन  गर्न स्मरण गराउँदै सो बेलासम्म पुरा नभए कडा आन्दोलन थाल्ने चेतावनी संघर्ष समितिले दिएको हो । 


संघर्ष समितिको तर्फबाट किरात राई यायोक्खा विराटनगर महानगर समिति अध्यक्ष विष्णु राई, किरात याक्थुङ चुम्लुङ महानगर अध्यक्ष कुमार सुब्बालगायतको टोली मुख्यमन्त्री र सभामुखको कार्यालय पुगेर अल्टिमेटमपत्र दर्ता गराउदै पुनः स्मरण गराएका हुन् । संघर्ष समिति शान्तिपूर्ण रुपमा कोशी नाम खारेजीको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेको स्मरण अल्टिमेटमपत्रमा उल्लेख छ । 


तर, सरकार शान्तिपूर्ण आन्दोलनमा सहभागीहरुलाई लाठी मुंग्री र गोली हान्ने गर्दै एकजनालाई सहिदसमेत बनाईसकेको भन्दै आन्दोलनलाई गलाउने, थकाउने र कम आँकेर दबाउने प्रयास गरिरहेको उल्लेख गरिएको छ । यदिै त्यस्तै बेवास्ता गरिरहे जीवन मरणको संघर्ष सुरु हुने चेतावनी पनि अल्टिमेटमपत्रमा दिइएको छ । 


यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, चुम्लुङ अध्यक्ष प्रेम एक्तेन, नेपाल आदिबासी जनजाति महासंघ अध्यक्ष गेल्जे लामा शेर्पा, पहिचानसहितको प्रदेश १ पुनः नामाकरण अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाल शेर्पा संघ महासचिव लाक्पा शेर्पाको हस्ताक्षर रहेको अल्टिमेटमपत्रको यथा समयमा संबोधन हुनुपर्ने मागप्रति समितिले जोड दिएको छ ।